‘बाढीले गाउँघर डुबाउँदा परदेशीको मन रुन्छ, हाम्रो आँसु सरकारले खै कहिले देख्छ’

 असार ४, २०७८ शुक्रबार १६:४३:५१ | नारायण कोइराला
unn.prixa.net

कोरोना महामारीमा तड्पिरहेको मेरो देशलाई वर्षाले रुवाएको छ । सग्ला घरहरू बाढीले पुरै निलेको छ । कोरोनाबाट बच्न घरभित्रै बस्नुपर्ने बेलामा खुल्ला आकाशमुनि सहयोगको प्रतीक्षामा बस्न परेको छ ।

हामी परदेशमा हुनेहरूलाई देशको यो अवस्था देख्दा असाध्यै मन रुन्छ । तर सरकारलाई हाम्रो आशुले कहाँ छुन्छ र । कोरोनाको कारण महिनौँदेखि भएको लकडाउन । अनि त्यसमाथि भएको घर पनि बाढी बगाउँदा कस्तो हुँदो हो ? यो पीडा बालुवाटारमा बस्नेहरूले सायदै महसुस गर्न सक्दैनन् ।

महामारीपछि वर्षाले विनाश पारेका मानिसहरूलाई उचित सहयोग र  राहतको आवश्यकता छ ।

यस्तो विपद् बर्सेनि आउँछ । तर पनि सरकारले किन कुनै दीर्घकालिन योजना बनाउँदैन ? खाडीमा बसेर सोच्दा यहाँको गर्मीले भन्दा आफ्नो देशमा आफन्तले पाएको दुःखले मन पोल्छ । बाढीले बगाएको घर, जमिन र मानिसहरुको फोटो भिडियो सामाजिक सञ्जालमा देख्दा मन चिरिन्छ । 

तर उद्धार र राहतको नाममा सरकारले फेरि उही पुरानै प्रचार मात्र गर्छ । यस्तो बेलामा त पीडामा डुबेका नागरिकलाई पहिलो मलम त सरकारले नै लगाउनु पर्ने होइन र ?

स्थानीयले बाढीमा फसेकाहरूको उद्धार गरेको देख्दा केक काट्न हेलिकप्टरमा उड्ने हाम्रो देशका अभिभावकलाई झलझलती सम्झन्छु । तर परदेशमा छु । म यी सबै कुरा हेरिरहन बाध्य छु ।

आफ्नो घर परिवारको यो हाल देख्दा हामी परदेशीलाई मानसिक पीडा हुन्छ । चिन्ताले भोक निद्रा खोस्छ । सरकारका ठुला मानिसहरू कसरी हेरेर निदाऊ नसक्दा हुन ? अचम्म लाग्छ ।

घरपरिवारको लागि केही मिठो मसिनो खाने कुराको व्यवस्था गर्नु परदेशीको पहिलो प्राथमिकता हुन्छ । त्यसपछि आफ्ना बालबच्चालाई राम्रो पढाई लेखाई गराउने चाहनाले पछ्याउँछ । यो सम्भव भएपछि बचेको पैसाबाट आफ्नो निजी घरको परिकल्पना गरिन्छ । जो कोही परदेशीको मनमा यी सपना लुकेको हुन्छ । यही सपना पूरा गर्न परदेशमा आफ्नो ज्यानको बाजी लगाएर काम पनि गरिन्छ । यही मिहिनेत कमाएको पैसाबाट घर बनाइन्छ । तर प्राकृतिक प्रकोपले मिहिनेतको कमाइलाई छुट्टाउन सक्दैन ।

यस्तो विपत्तिमा कति परदेशी साथीभाइको पसिनाको कमाइबाट बनेका घर पनि बाढीको कारण भत्किएका छन् । उनीहरूको सपनाको महल बाढीसँगै बगेर गएका छन् ।

भत्किएको घर फेरि बनाउँला । सबभन्दा ठुलो चिन्ता त परिवारको छ । न त यो बेलामा सजिलै घर जान सकिने अवस्था छ । समय परिस्थितिले बेसरी गाँजेको अवस्था छ परदेशीलाई ।

आफूले केही गर्न नसक्ने अवस्थामा छ । न उडेर आउन सक्छौँ न गुडेर । यस्तो अवस्थामा आशा भनेकै सरकार हो । सरकारले हर सम्भव सबै पीडितहरूको सहयोग गरोस् । केवल रेमिटेन्सको प्रयोग आफ्नो सुविधाको लागि मात्र नभएर विपत्तिमा परेका हाम्रा परिवारदेखि सबै पीडितहरूको लागि पनि प्रयोग होस् ।

देशलाई पर्दा हामीले हाम्रो गाँस कटाएर सहयोग ग¥यौं, अब हामी र हाम्रो परिवारलाई पर्दा तिमी पनि गर न सरकार ।

नारायण कोइराला

पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया