इजरायल रोजगारीको परीक्षामा कुनै प्रकारको चलखेल हुँदैन, ढुक्क हुनुहोस् : विभाग

 भदौ २८, २०७८ सोमबार १२:५८:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – इजरायल रोजगारीको लागि पैसाको चलखेल भयो भन्ने कुरा अप्रमाणिक र अफवाह भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीको सम्बन्धमा अत्यन्तै ठगी भएको कारणले गर्दा नै इजरायल सरकार र नेपाल सरकारबीच प्रोटोकलमा साइन गरेर यसलाई निष्पक्ष गराउन दुवै पक्ष लागिपरेकाले चलखेलको सम्भावना नै नरहेको विभागले प्रष्ट पारेको छ ।​

अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाटै प्रश्न सोधिने र कम्प्युटरबाटै जाँच हुने भएकाले त्यसमा चलखेल हुने बाटो नरहने विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले बताउनुभयो । 

इजरायल सरकारसँग गरेको सम्झौताअनुसार जाँच भएको ढिलोमा दुईदिनभित्र रिजल्ट निकाल्नुपर्ने उहाँको भनाइ छ । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरि १६ सय ८० जनालाई छनौट गरिन्छ । १६ सय ८० बाट छनौट भएका १४ सय जनालाई इजरायल दूतावासमा पठाइन्छ । दूतावासले अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिजिटल लट्रीबाट एक हजार जना छनौट गर्दछ । एक हजार जनामा पनि महिला र पुरुषबीच ७० र ३० प्रतिशतको नै अनुपात रहन्छ । यस्तो अवस्थामा कुनै पनि चलखेल नहुने विभागको दावी छ । परीक्षा योग्यता तथा भाग्य ‘मेरिट एण्ड लकबेस’ दुवै तरिकाले हुने भएकाले ठगी हुने कुनै आधार नभएको निर्देशक ज्ञवाली बताउनुहुन्छ ।

‘लिखित परीक्षाको छनौट मेरिट बेसको आधारमा गरिने हो त्यसरी छनौट भएकालाई इजरायको दूतावासले अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिजिटल लट्रीबाट एक हजार जना छनौट गर्दछ, त्यसैले यसमा ठगी हुने, चिटिङ हुने कुनै ठाउँ रहँदैन’, उहाँले भन्नुभयो ।

यदि चलखेल भएको देखेमा वा त्यस्तो कुनै प्रमाण भएमा विभागमा आएर उजुरी गर्न विभागले आग्रह गरेको छ । त्यस्तो गरेको पाइएमा तत्कालै कारबाही गरिने विभागले जनाएको छ ।

सुरक्षाको घेरामा परीक्षा

विभागले पारदर्शीतालाई मध्यनजर गरेर नै परीक्षा केन्द्रमा पनि विभागको कुनै पनि कर्मचारीलाई नखटाइएको जनाएको छ । कुनै पनि व्यक्ति कुनै पनि प्रकारले चलखेल गरेको पाइएमा सख्त कारबाही हुने सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । यस्तै परीक्षा केन्द्रमा अनियमितता तथा चिटिङ नहोस् भन्नको लागि तीन तहको सुरक्षाको घेरा अपनाइएको छ । 

 

‘यसमा इजरायल दूतावास, मुख्य सचिव, परराष्ट्र मन्त्रालयका सचिव, श्रम मन्त्रालयका सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत सम्बन्धित क्षेत्रका उच्च पदस्थहरुले पनि निरीक्षण गर्ने कार्यक्रम पनि भएकाले चलखेलको कुनै आशंका रहँदैन’, सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । 

कति लाग्छ लागत ?

वैदेशिक रोजगार विभागले अहिलेसम्म अनुमान गरेअनुसार एक लाख ६३ हजार रुपैयाँ लाग्ने जनाएको छ । यसमा अझै घट्न पनि सक्ने विभागका निर्देशक कमल ज्ञवालीको भनाइ छ ।

यस्तै विभागले इजरायल जान पाउने आशामा कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । यो सरकारी प्रक्रियाअन्तर्गत हुने भएकाले सरकारले तोकेको अवस्थाबाहेक दोस्रो व्यक्ति कसैलाई पैसा नदिन आग्रह गरेको हो । यदि कसैले त्यसरी मागेको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सहयोगमा उपयुक्त कारबाही प्रक्रिया पनि अगाडि बढाइने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया