नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण पनि अब अनलाइनबाट मात्र हुने, यस्तो छ प्रक्रिया

 बैशाख २७, २०७९ मंगलबार १५:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जेठ ६ गतेदेखि नयाँ श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृति पनि अनलाइनबाट मात्र हुने भएको छ ।

यसअघि भौतिक रूपमा कार्यालयमै उपस्थित भएर लिनु पर्ने व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणमार्फत लिने श्रम स्वीकृति पनि अनलाइनबाटै लिन मिल्ने भएको हो । 

यसअघि गएको माघदेखि नै पुनः श्रम स्वीकृति अनलाइनबाट मात्र लिन मिल्ने व्यवस्था भएको थियो भने वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै प्रदान भइरहेको छ ।

यसअघि वैधानिकीकरणमार्फत दिइरहेको श्रम स्वीकृतिलाई पनि व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिक सरह श्रम स्वीकृति दिने निर्णय भएको छ ।

वैदेशिक रोजगारको नाममा भिजिट भिसामा गएका तथा व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकोले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को प्रक्रिया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा २०७९ वैशाखदेखि सरकारले क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।

प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले पेस गर्नुपर्ने कागजातहरू राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौता पत्रको प्रतिलिपि लगायतका विवरण रहेका छन् ।  यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्छ । 

श्रम स्वीकृति नलिई विदेश गएकाको हकमा घरेलु कामदारको रूपमा काम गरी नेपाल आएर पुनः त्यही देशमा जान चाहेमा दूतावासको सिफारिस पत्र पनि आवश्यक पर्छ ।

गर्नु पर्ने प्रक्रिया

सबैभन्दा पहिला www.feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भन्ने लग इन गरी फारम भर्नुपर्छ । 

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृति भएमा त्यसको कारण  सहितको म्यासेज आवेदनको मोबाइल नम्बर वा आवेदन गर्दाको इमेलमा प्राप्त हुन्छ । त्यसैले फारम भर्दा इमेल र मोबाइल नम्बर भने सही राख्नुपर्छ ।

अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अघि नै अनलाइन फारम भर्न विभागले अनुरोध गरेको छ । 

विभागको सूचना प्रणालीमा विवरण भर्दा सकलसँग राम्रोसँग रुजु गरेर यकिन भइसकेपछि मात्र आवेदन पेस गर्नुपर्छ । नत्र आवेदन अस्वीकृति हुने सम्भावना हुन्छ भने कानुनी कारबाहीसमेत हुनसक्छ ।

अनलाइन आवेदन भर्न राहदानीको प्रति, म्यादी जीवन बिमा गरेको प्रमाण, कल्याणकारी कोषमा तोकिए अनुसारको रकम जम्मा गरेको प्रमाण, स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएको प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारीमा जाने भएमा सीपको प्रमाणपत्र र स्वघोषणा फारमसमेत भर्न पर्छ । 

म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम अनलाइनमार्फत तिर्न सकिन्छ । जीवन बिमाको लागि १८ वर्षदेखि ३५ वर्षसम्म उमेर समूहकाले ३७ सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मकाले ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्मकाले ९ हजार ४ सय ६३ रुपैयाँको बिमा गर्न पर्छ । कल्याणकारी कोषमा १५ सय रुपैयाँ तिर्नपर्छ ।

श्रम स्वीकृति लिएर मात्र टिकट काट्नुहोस्

श्रम कार्यालयले रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न आग्रह गरेको छ । केही सेवाग्राहीले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइएकोले यस्तो आग्रह गरिएको विभागले जनाएको छ ।

श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैँले वा आफन्तमार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नु परेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सचेत गराएको छ ।

अनावश्यक व्यक्तिले सजिलै हुने र हुँदै नहुने काम मिलाइदिन्छु भन्दै रकम मागेमा इन्कार गर्न र सम्बन्धित निकाय वा श्रम कल सेन्टर वा वैदेशिक रोजगार विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

गएको आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीको लागि १ लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकोमा चालु आर्थिक वर्षको १० महिनामा ५ लाखभन्दा धेरैले श्रम स्वीकृति लिएको श्रम कार्यालय ताहाचलले जनाएको छ ।

1 Comments

तपाईको प्रतिक्रिया