साउदीमा श्रीमान् बितेपछि साथी बनेको चुरोट र मनोपरामर्शपछि फेरिएकी रजनी

 बैशाख २७, २०७९ मंगलबार १७:३:३ | नीरु सुचिकार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नुवाकोट – ‘न बाच्न मन थियो, न त मर्न नै सक्थ्यें’ रजनी तामाङ लामो सास तान्दै भन्नुहुन्छ ‘म त हाम फल्न पनि गएको हुँ, तर छोराछोरी सम्झिएँ, त्यसपछि मेरो साथी चुरोट भयो, दिनमा मैले २५/२६ वटासम्म चुरोटका खिल्ली तान्थेँ ।’ 

धन कमाउन गएका श्रीमानको परदेशी भूमिमा प्राण गएको सुनेका दिनदेखि करिब तीन वर्षसम्म रजनीको जीवनको हाल यस्तै रह्यो । 

हरदम श्रीमान् कै यादमा छटपटाउनुहुन्थ्यो । घरी घरी सास रोकिएला झैँ लाग्थ्यो रजनीलाई । 

निद्रा त श्रीमान् सधैँका लागि निदाएकै दिनदेखि आँखाबाट हराए ।

‘मनमा अनेक कुराहरू खेल्ने, झपक्क आँखा झकाए भने पनि तर्सिएर बिउँझिने, म त रातभरीजसो बाहिर भित्र गर्ने, चुरोट खाने मात्र गर्थेँ’ रजनी आफ्नो हाल सुनाउनुहुन्छ । 

डाक्टरलाई भेटेर औषधी पनि नियमित खानुभयो । तर औषधीले आत्तिएको मनलाई राहत त दियो तर हराएको आत्मबल फर्किएन । सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत मनोपरामर्श पाएपछि भने अहिले रजनीले शोकलाई शक्तिमा बदल्नुभएको छ । 

भन्नुहुन्छ ‘मेरो जीवन साथी नै नहुँदा पीडा त हुन्छ तर पीडामा पनि अहिले शक्ति छ ।’

रजनीसँगको पहिलो भेट

सामी परियोजनाले वैदेशिक रोजगारीको क्षेत्रमा गर्ने विभिन्न काम मध्ये एक काम परदेशी र उनीहरूका परिवारलाई मनोपरामर्श प्रदान गर्नु पनि हो । यो कुराबारे जानकार रजनीको गाउँका वडा प्रतिनिधिले श्रीमान् गुमाएपछि विक्षिप्त रजनीको बारेमा परियोजनामा जानकारी गराउनुभयो ।

वडा प्रतिनिधिले नै खबर गरेपछि परियोजनाको टिम २०७७ माघ महिनाको २१ गते शिवपुरी गाउँपालिकामा पर्ने रजनी तामाङको घर पुग्यो । 

‘मलाई त आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, यतै दुःख गरौँला दुई जना सँगै बसौँला पनि भनेको हो तर केही सपना बाँकी थिए’ रजनी चुरोटको सर्को तान्दै भन्नुहुन्छ ‘हाम्रो भाग्यमा साथमा बस्न लेखेकै रहेनछ ।’

बिहान ११ बजेको थियो । उहाँको आँगनमा अरू मानिसहरू पनि थिए । तर रजनी भने एकतमासले चुरोट तान्दै हुनुहुन्थ्यो । ओठ चरचरी फुटेका । फुङ्ग उडेको अनुहार । कहिलेदेखि नकोरेको झैँ देखिने कपाल । रजनीको अनुहारमा पीडाका भाव प्रस्ट देखिन्थ्यो ।

रजनीको मनको कुरा सुन्न गएका हामीसँग केही बेरको कुराकानीपछि खुल्न थाल्नुभयो रजनी ।

उमेर ३३ वर्ष । धन कमाउन गएका श्रीमान् बाकसमा फर्किए । रजनीको सौभाग्यका रङ्ग ३३ वर्षकै उमेरमा खोसियो । २ छोराछोरी वर्ष ११ र ७ वर्षका छन् । छोरा र छोरी नजिकैको विद्यालयमा पढ्छन् । 

रजनीका श्रीमान् ३३ वर्षीय राजु तामाङ २०७३ साल जेठमा साउदी जानुभएको थियो । श्रीमानले परदेशमा कमाउने र रजनीले घर बालबच्चाको रेखदेख गर्ने गर्नुहुन्थ्यो । करिब दुई वर्ष उनीहरुको जीवन सामान्य रूपमा नै बित्यो ।

‘मलाई त आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, यतै दुःख गरौँला दुई जना सँगै बसौँला पनि भनेको हो तर केही सपना बाँकी थिए’ रजनी चुरोटको सर्को तान्दै भन्नुहुन्छ ‘हाम्रो भाग्यमा साथमा बस्न लेखेकै रहेनछ ।’

जब बिहान फोन आएन

हरेक दिन बिहान उठ्नासाथ श्रीमानको फोन आउँथ्यो रजनीलाई । तर २०७५ वैशाख २५ गते भने अचम्मै भयो । दिउँसोको ३ बजिसक्दा पनि राजुले फोन गर्नुभएन । 

‘विदेश गएका दिनदेखि त्यति लामो समयसम्म फोन नगरेको कुनै दिन नै थिएन, आज के भयो किन फोन आएन भनेर खुलदुली भयो’ त्यो कालो दिनको सम्झना गर्दै रजनी भन्नुहुन्छ ‘यतैबाट फोन लगाए तर फोन नै लागेन ।’

यताबाट गर्दा पनि फोन नलागेपछि भने रजनीको मन आत्तियो । अनेक ख्याल आउन थाल्यो । 

सोच्नुहुन्थ्यो – कतै काममा व्यस्त भएर पो कि । आफ्नो मन केही समयलाई त बुझाउनुभयो । तर हुने हार दैव नटार भने झैँ दुई दिनपछि रजनीले कल्पनै नगरेको खबर सुन्न पर्‍यो । खबर फोन नआएकै दिन श्रीमान् राजुको साउदीमा दुर्घटनामा परी ज्यान गएको थियो ।

‘दुई दिनपछि त श्रीमान् यो संसारमै नभएको खबर सुन्न पर्‍यो, मलाई त सपना हो कि बिपनाझैँ लाग्यो, दिमागले खबर सुने पनि मनले त शव आँगनमा नआउँदासम्म पत्याउन मानेकै थिएन ’ रजनी भक्कानिनुहुन्छ ।

१६ दिनपछि अर्थात् २०७५ जेठको दोस्रो साता राजुको शव घरमा आइपुग्यो । अब भने सत्य आफ्नै आँखा अगाडि थियो । बन्द बाकसमा निदाएर आएका श्रीमानलाई आफ्नै आँखाले देखेपछि भने रजनीलाई टेकेको जमिन एकाएक भासिए झैँ भयो ।

‘चुरोट तान्दा मन भुलेझैँ लाग्थ्यो, त्यसैले पनि चुरोट त म यति तान्थेँ कि त्यसको हिसाब नै छैन’ रजनी ती दिन सम्झँदै भन्नुहुन्छ ।

‘त्यो दिन त मलाई पनि यो संसारमा बाँच्न मन थिएन, खबर सुनेकै दिन पनि  म हाम फालेर मर्छु भनेर गएको थिएँ तर बालबच्चा सम्झिएँ’ रजनी मलिन स्वरमा भन्नुहुन्छ ‘मेरो श्रीमान् पनि त चाहेर मरेका त हैनन्, मैले पनि ज्यान फालेँ भने त छोराछोरीको पाप लाग्छ, उनीहरूले दुःख पाउँछन् भन्ने सोच आयो, नत्र आज म यो संसारमा हुने नै थिइनँ ।’

जसोतसो रजनीले आत्महत्याको सोचबाट त आफूलाई जोगाउनुभयो । तर मन सम्हाल्न गाह्रो भयो । सास फेर्न गाह्रो हुने, छटपटी हुने, मन आत्तिने, कसैको बोली सुन्न मन नलाग्ने, भिडभाड र सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, मनमा कुराहरू खेलिरहने, छोराछोरी बोलेको सुन्दा पनि रिस उठ्ने समस्या देखिन थाल्यो । 

रात भरी निदाउन नसकेपछि रजनी चुरोट तान्न थाल्नुभयो । चुरोटको धुवासँगै टोलाएर कहिलेकाहीँ त घण्टौँ पनि बिताउने गरेको रजनी बताउनुहुन्छ । 

‘चुरोट तान्दा मन भुलेझैँ लाग्थ्यो, त्यसैले पनि चुरोट त म यति तान्थेँ कि त्यसको हिसाब नै छैन’ रजनी ती दिन सम्झँदै भन्नुहुन्छ ।

यो समस्या कम हुनुको साटो झन् बढ्दै गयो । करिब आठ महिना यसरी नै बितेपछि भने दिदीले रजनीलाई डाक्टरकोमा जान सुझाउनुभयो । 

‘काठमाण्डौको त्रिपुरेश्वरमा गएर एक जना डाक्टरलाई भेटेँ उहाँले डिप्रेसन भएको भन्नुभयो, उहाँले नै भिटामिनसहित ९ थरीका औषधी लेखिदिनुभयो ’ रजनी भन्नुहुन्छ ‘मेरो दैनिकीमा चुरोटसँगै औषधी पनि थपियो ।’

तर चुरोटजस्तो तान्दा मात्र होइन रजनीलाई औषधी खान थालेपछि भने केही राहत मिल्यो ।

पैसा नहुँदाको समस्या 

श्रीमानको मृत्युको पीडाले मात्र होइन बिस्तारै रजनीलाई आर्थिक समस्याले पनि सताउन थाल्यो । वैदेशिक रोजगार बोर्डबाट पाएको ७ लाख र बिमाबापतको ५ लाख गरी १३ लाख रुपैयाँ आर्थिक सहायता त श्रीमानको मृत्यु पछि पाउनुभएको थियो । तर लगभग पाँच लाख श्रीमानको अन्तिम संस्कार लगायतको कर्म गर्दा सकियो । बाँकी रहेको कतिपय पैसा आफन्तले चलाए । तर फिर्ता दिएनन् ।

‘मुटु नै भुकभुक गरिरहेको छ हेर्नु न मलाई त मुटु नै बाहिर निस्केला जस्तो भइरहेको छ ’ रजनीले हामीसँगको पहिलो भेटमा सुनाउनुभयो । 

‘मेरो श्रीमानको मृत्युको बदला आएको त्यो पैसा आफ्नैले खाइदेलान् भन्ने मैले सोचेकै थिइनँ, त्यस्तो सोचेको भए त किन दिन्थेँ होला र’ रजनी भन्नुहुन्छ ‘मान्छे चिन्न गाह्रो रहेछ ।’

रजनीलाई दैनिक घर खर्च चलाउनसमेत मुस्किल हुन थाल्यो । यता खाइरहेको औषधी सकियो । डाक्टरलाई पुनः भेट्ने समय आयो । तर साथमा रकम नभएपछि फलोअपमा जान सक्नुभएन । 

 खाइरहेको औषधी एक्कासि छाडेपछि रजनीलाई पुरानै समस्या बल्झन थाल्यो । 

‘मुटु नै भुकभुक गरिरहेको छ हेर्नु न मलाई त मुटु नै बाहिर निस्केला जस्तो भइरहेको छ ’ रजनीले हामीसँगको पहिलो भेटमा सुनाउनुभयो । 

सामीको समन्वय

रजनीको दुःखमा मलम लगाउने अरू उपाय केही नभए पनि मनोपरामर्श थियो । रजनीको समस्याबारे यति जानकारी पाएपछि मनोपरामर्शकताले रजनीलाई नियमित भेट्न थाल्नुभयो । 

यसका साथै रजनीको नाममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विदेशबाट १ लाख ४७ हजार रुपैयाँ आएको जानकारी आप्रवासी स्रोत केन्द्रमा प्राप्त भयो । 

आप्रवासी स्रोत केन्द्रले रजनीलाई त्यो रकम लिन चाहिने आवश्यक कागजात जुटाउन सहयोग र समन्वय गरिदियो । त्यसपछि रजनीले २०७७ फागुन २ गते जिल्ला प्रशासन कार्यालयबाट रकम प्राप्त गर्नुभयो । 

रकम पाउनासाथ रजनी उपचारका लागि काठमाण्डौ जानुभयो ।

काठमाण्डौमा डाक्टरलाई भेटेर फर्किएपछि पनि सामी परियोजनामार्फत मनोपरामर्शकर्ताले उहाँसँग नियमित भेटघाट गरी मनोपरामर्श प्रदान गर्नुभयो । 

‘नियमित मनोपरामर्श पाएपछि त मलाई निकै हल्का महसुस हुन थाल्यो, मानिस जन्मनु र मर्नु सामान्य प्रक्रिया रहेछ भन्ने सोचहरू आउन थाल्यो’ रजनी सुनाउनुहुन्छ ।

११ पटकको प्रत्यक्ष भेटघाट र मनोपरामर्शपछि भने रजनीको सोच मात्र हैन दैनिकी नै फेरिन थाल्यो ।

श्रीमानले संसार छाडेपछि साथीको रूपमा आएको चुरोट खाने बानी रजनीले मनोपरामर्शपछि छोड्नुभयो । डाक्टरले लेखेको ९ वटा नियमित खानु पर्ने औषधीबाट अहिले ३ वटामा झरेको छ ।

‘तपाईँहरूसँग भेट्दा म त्यति धेरै औषधी खान्थेँ र पनि मेरो हालत खराब थियो तर अहिले औषधी कम गर्दा पनि म ठिक छु’ रजनी खुसी हुँदै भन्नुहुन्छ ‘औषधीले मात्र होइन, कमजोर भएको मनलाई बोलियो बनाउन त परामर्शले ठुलो काम गर्‍यो ।’

सँगै जिउने सँगै मर्ने कसम खाएको मेरो जिन्दगीको साथीको सम्झना त कति आउँछ कति तर अहिले फरक यही छ कि पहिलेजस्तो सम्झनाले पागल बनाउँदैन, यो मनलाई गलाउँदैन ।’

रजनीमा आएको परिवर्तन र सकारात्मक सोचको डाक्टरले पनि प्रशंसा गरेको बताउनुहुन्छ उहाँ । 

‘हेर्दा हेर्दै भित्ताको ढुङ्गामा मान्छे देख्थेँ, त्यही ढुङ्गा श्रीमानको आकृति बन्थ्यो, आँखाबाट आशु झथ्र्याे, बेहोस जस्तै हुन्थेँ, तर अहिले त त्यो भित्ताको ढुङ्गालाई ढुङ्गा मात्रै देख्छु’ रजनी आफूमा आएको सुधार बताउनुहुन्छ ।

आजकाल रजनीलाई लाग्छ ‘संसार छाडेर जानेको सम्झनामा जीवित रहेका छोराछोरीको बिजोग पार्न नहुने रहेछ ।’

अब छोराछोरीका लागि बुवा र आमा दुवै बनेर जिउने आँट पलाएको छ उहाँमा । 

पीडाको दलदलमा डुबेको रजनीको जीवनले नयाँ लय लिएको छ ।  भन्नुहुन्छ ‘सँगै जिउने सँगै मर्ने कसम खाएको मेरो जिन्दगीको साथीको सम्झना त कति आउँछ कति तर अहिले फरक यही छ कि पहिलेजस्तो सम्झनाले पागल बनाउँदैन, यो मनलाई गलाउँदैन ।’

दुई छोराछोरीका लागि बुवा आमा दुवै भएर अघि बढ्दा जीवनमा खराब दिनहरू फेरि पनि आउन सक्छन् । तर जीवनका हरेक दुःख र पीडासँग लड्ने आँट मनोपरामर्शबाट बटुलेको छु भन्नुहुन्छ रजनी ।

नोट : मनोसामाजिक समस्या भोग्नेहरूलाई समाजमा थप असहज नहोस् भन्ने उद्देश्यले व्यक्तिगत परिचय गोप्य राखिएको छ ।) 

नीरु सुचिकार

नीरु सुचिकार सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नुवाकोट जिल्ला परियोजना संयोजक हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।

1 Comments

  • Subash gurung

    May 14, 2022, 6:36 p.m.

    एकदम राम्रो लाग्यो / मेरो पनि बानी छ चुरोट रक्सि पिउने, कसरी छुटाउन सकिन्छ होला ...धेरै कोशिस गरें , तर सकिन / धेरैको सलाह सुनें, अब तपाइले नै बुझैदिनुपर्यो /

तपाईको प्रतिक्रिया