रोजगारीको लागि मलेसिया आउन खर्च लाग्दैन, कसैले पैसा माग्छ भने त्यो गलत हो : राजदूत पौडेल

 माघ १, २०७९ आइतबार १७:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समय मलेसिया जाने नेपालीहरुको सङ्ख्या दोब्बरले बढेको छ । अघिल्ला वर्षहरुमा दैनिक सरदर एक हजारदेखि १५ सय जनासम्म रोजगारीका लागि विदेश उड्थें । तर चालु आर्थिक वर्षमा दैनिक सरदर एक हजार जना त मलेसिया उड्नेको सङ्ख्या रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसिया जान श्रमिकले एक रुपैयाँ पनि शुल्क तिर्न पर्दैन । चार वर्ष अघि नेपाल सरकार र मलेसिया सरकारबीच शुन्य लागतमा श्रमिक जान पाउने गरी श्रम समझारी भएको छ । तर व्यवहारमा भने मलेसिया उड्नका लागि तीनदेखि पाँच लाख रुपैयाँसम्म तिर्र्न बाध्य छन् श्रमिकहरु । लाखौं रुपैयाँ खर्च गरेर जाँदा पनि नेपालमा म्यानपावरले भनेजस्तो काम र सेवा सुविधा उता पुगेपछि नपाएको भन्ने गुनासो पनि बढ्दो छ । हामीले मलेसियाका लागि नेपाली राजदूत डिल्लिराज पौडेलसँग मलेसियाबाट नेपाली श्रमिकका लागि आइरहेका कामको माग, मलेसिया पुगेपछि नेपाली श्रमिकले भोगिरहेका चुनौती र ध्यान दिनु पर्ने विविध पक्षबारे कुराकानी गरेका छौं ।

पछिल्लो समय मलेसिया जाने नेपालीहरुको सङ्ख्या बढ्दो छ । नेपालीका लागि रोजगारीको अवसर चाहिँ मलेसियाको कुन कुन क्षेत्रबाट बढी आइरहेको छ ?

वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको लागि मुख्य रोजाइको गन्तव्य हो मलेसिया । कोरोना महामारीपछि यहाँको रोजगारी केही समय रोकिए पनि अहिले क्रमिक रुपमा बढ्दो छ । मलेसियामा नेपाली श्रमिकहरु विशेषगरि पाँचओटा क्षेत्र (निर्माण, उत्पादन, प्लान्टेशन, सर्भिसेज र सेक्युरिटिज)मा आउँछन् । तुलनात्मक रुपमा उत्पादन क्षेत्रमा आउने क्रम बढी छ । 

महामारीपछि काम पनि निरन्तर रुपमा अगाडि बढीरहेको छ । सबै क्षेत्रमा नेपालीको पहुँच भए पनि मेनुफेक्चर अर्थात् उत्पादनको क्षेत्रको आकर्षण अरुभन्दा तुलनात्मक रुपमा बढी छ । श्रमिकको माग त सामान्यतया अरु क्षेत्रमा पनि छ । अझै सेक्युरिटी नेपालीहरुको लागि विशिष्टिकृत सेवा क्षेत्र हो । नेपाल र मलेसियाको बीचमा सेक्युरिटी सेवा उपलब्ध गराउनको लागि मलेसियाबाहेक नेपाल मात्रै एउटा यस्तो देश हो जसले सेक्युरिटीका क्षेत्रमा आफ्ना मान्छेलाई पठाउने गर्छ । यसले गर्दा मेन्युफ्याक्चरपछिको दोस्रो क्षेत्र भनेको सेक्युरिटी हो, सँगसँगै प्लान्टेशन र कन्सट्रक्सन पनि छ । 

पछिल्लो समय किन मलेसियामा नेपालीहरुको किन आकर्षण बढ्दो छ ? मलेसियाबाट कामको माग चाहिँ कसरी आइरहेको छ ? यहाँबाट मलेसिया जान त लाखौं रुपैयाँ तिर्न परेको गुनासो र खबरहरु आइरहन्छन् नि ? 

मलेसियामा नेपाली श्रमिकको आकर्षण बढ्नुको पछाडि पहिलो कुरा त यहाँको सुहाउँदो हावापानी, रहनसहन र नेपालसँग मिल्दोजुल्दो संस्कृति पनि हो । खाडी देशहरुभन्दा यहाँ हावापानी निकै राम्रो छ । समाज पनि खुल्ला छ । 
यस्तै, यहाँको सरकारले तलबको सुनिश्चितता गरेको छ । ८ घण्टा काम गरेको हप्तामा एक दिन बिदा भनेर १५ सय रिंगिट दिने व्यवस्था गरेको छ । यो विदेशी कामदारलाई मात्र नभएर स्वदेशी कामदारलाई पनि हो । त्यसैले पनि आकर्षण छ । त्यसैमाथि शून्य लागतको सम्झौता छ । सन् २०१८ मा शून्य लागतमा नेपाली श्रमिकले मलेसियामा काम गर्न आउने सम्झौता भएको हो । यति हुँदाहुँदै पनि ठूलो रकम लिएको भन्ने गुनासा यदाकदा बाहिर सुन्नमा आउने गरेका छन् । यो निकै गलत कार्य हो । अपराध हो । यसरी कसैले पैसा मागेमा माग्ने पनि गलत हो र दिनेहरु पनि गलत हुन् । मलेसियाबाट आउने सबै मागहरु पैसा नतिरिकनै आउन पाइन्छ । कुनै पनि सेक्टरमा पनि पैसा तिर्नुपर्दैन ।

मलेसियामा नेपाली श्रमिकले भोग्ने मुख्य चुनौतीहरु के के हुन् ? दूतावासले के अनुभव गरेको छ ?

मलेसिया रोजगारीको लागि आउने श्रमिकको लागि केही चुनौतीहरु छन् । जस्तै, नयाँ ठाउँ, कामको प्रकृति पनि नयाँ र भाषा र संस्कृति पनि नयाँ हुनु पहिलो चुनौती हो । मलेसिया आउनुभन्दा पहिले आफू जाने देशको भाषा र कामको बारेमा तालिम लिनुपर्छ । यसरी सामान्य जानकारी भयो भने काम गर्न अप्ठ्यारो हुँदैन । अहिले यस्तै कारणले एक प्रकारको समस्या आउने गरेको छ । कामको बारेमा तालिम नहुँदा रोजगारदातासँग भनाभन हुने, झैझगडा हुने जस्ता कुरा पनि हुन सक्छन् । त्यसैले कामको बारेमा थाहा हुनुपर्छ । 

धेरै पैसा कमाइयोस्, कामको वातावरण सजिलो होस् भन्ने चाहना हुनु आफैमा नराम्रो होइन । तर त्यसको लागि श्रमिकले आफूलाई योग्य बनाउनुपर्छ । कामको बारेमा थाहा हुनुपर्छ । हातमा सीप हुनुपर्छ । त्यस्तो तयारी हुनुपर्छ । 
काम गर्न भनेर आउने भएपछि आफू के काम गर्न जाने हो, त्यही अनुसार सीप सिकेर आउनुपर्छ । सीटीईभीटीबाट यस्ता सीप सिकाइन्छ । यस्तै विदेशमा आइसकेपछि यहाँको फरक भाषा संस्कृति, शैलिको बारेमा बुझ्नुपर्छ । यहाँको स्थानीय भाषादेखि अंग्रेजी भाषाको बारेमा जानकारी हुँदा काम गर्न सहज हुन्छ । यी सबै बुझेर त्यहीअनुसार तयारी गरेर आउनुपर्छ ।

यस्तै तेस्रो पार्टी संलग्न हुने, रोजगारीको बारेमा बढाइचढाइ व्याख्या गर्ने चलन पनि छ । श्रमिकहरु त्यसैमा फस्छन् । त्यस्तोमा विश्वास नगरी सरकारले तोकेका म्यानपावर संस्थाबाट रोजगारीको प्रक्रिया थाल्नुपर्छ । आफू विदेश जानुभन्दा पहिले आफूले त्यसबारे जानकारी लिनुपर्छ । यस्ता जानकारी दिनका लागि श्रम मन्त्रालय छ, वैदेशिक रोजगार बोर्ड र वैदेशिक रोजगार विभाग छ । 

मलेसियामा रहेको नेपाली दूतावासले पनि हप्तामा एक दिन कार्यक्रम सञ्चालन गरेको छ । नेपाल इम्बेसी मलेसिया फेसबुक पेजबाटै लाइभ हुन्छ । यस्तै दूतावासको वेबसाइटमा पनि विभिन्न जानकारी राखेका हुन्छौँ । यस्तै अनधिकृत व्यक्तिको पछि लाग्नुहुँदैन । यसरी गलत सूचना दिने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।

त्यहाँ आइसकेपछि समस्यामा पर्दा दूतावासले राम्रो सहयोग गरेन भनेर दूतावासलाई आरोप पनि लाग्ने गर्छ । त्यहाँ श्रमिकका समस्या सम्बोधना लागि दूतावासले के कस्तो प्रयासहरु गर्छ/गरिरहेको छ ?

मलेसियामा रहेका नेपाली श्रमिकलाई अप्ठ्यारो नहोस् भनेर दूतावास सक्रिय भएर लागिरहेको छ । निश्चित स्रोत र साधनका बाबजुद पनि दूतावासले अधिकतम श्रमिकका माझमा पुग्ने, जनचेतना फैलाउने, सक्दो सेवा प्रवाह गर्ने काम गर्दै आएको छ । त्योबाहेक महिनामा एकचोटी, भ्याएसम्म हप्तामा एकचोटी विभिन्न ठाउँमा गएर जनचेतना फैलाउँछौँ । यस्तै मोबाइल एम्बेसीको रुपमा पनि नेपाली श्रमिकहरु रहेका विभिन्न ठाउँमा पुगेर सेवा दिने, उनीहरुका समस्या सुन्ने र समाधान गर्ने काम गर्दै आएका छौँ । यसरी दूतावासले पहिलो ध्यान भनेको श्रमिकको सेवामा कुनै पनि कमिकमजोरी राख्नुहुन्न भन्ने कुरामा सचेत छ । 

आम रुपमा हाम्रो मूल काम भनेको श्रमिकको सम्वर्द्धन र प्रवर्द्धन गर्ने नै हो । यी सबै काम मध्ये खासगरि सेक्युरिटी र क्लिनिङका सेक्टरमा अलिकति जनगुनासो बढेको छ । त्यसैले यी क्षेत्रका निर्देशकहरुसँग सामूहिक रुपमा बस्छौँ । सामूहिक रुपमा उहाँहरुले प्रतिबद्धता जाहेर गर्नुहुन्छ । श्रमिकका गुनासाहरुलाई सम्बोधन गर्नेछौँ भनेर उहाँहरुले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर पनि जानुहुन्छ । र हामी त्यसलाई प्रत्येक तीन महिना वा ६ महिना ट्र्याकमा राख्छौँ । 

दूतावास, रोजगारदाता कम्पनी र श्रमिकको बीचमा त्रीकोणात्मक सम्बन्धको विकास हुन आवश्यक छ । यसले गर्दा त्यहाँ हुने समस्यालाई समाधान गर्न सकिन्छ । त्यही अनुसार काम गरिएको पनि छ । यसले गर्दा मूलभूत रुपमा श्रमिकलाई हुने समस्याहरुको समाधान गर्न सकिन्छ । आम रुपमा यसले दुई देशबीचको दुईपक्षीय सम्बन्धलाई थप बलियो गर्न सकिन्छ । राष्ट्रिय स्वार्थलाई पनि यसले थप सहयोग पुर्याउन सक्छ भन्ने विश्वासका साथ अहिले दूतावासले प्रारम्भमा दुईवटा क्षेत्रमा विशिष्टिकृत र आम रुपमा सबै क्षेत्रमा समान ढंगले आफ्नो ध्यान आकृष्ट गरेको छ । यसरी दूतावास अगाडि बढिरहेको छ ।

4 Comments

  • Narayan oli

    Jan. 17, 2023, 6:47 p.m.

    ३ लाख भन्छन हरेक मेनपावर ले नत्र पैशा दिनेलाइ पठाउँछन नदिनेलाई पठाउदैनन के गर्ने नेपाल सरकारले एउटा भन्छ मेनपावरले एउटा कसको कुरा सुन्ने ' I के गर्ने परिवारको घर खर्च चलाउन को लागी भएपनी जानुपर्ने बाध्यता छ हजुर

  • Khadka bahadur Damai

    Jan. 17, 2023, 6:14 p.m.

    Sarmik harule jahile pani badhi paisa dalaaliko hatma paisa nabujhai jan pakai xaina hjr ..ma pani malaysia security maa aauna khojeko 2.70 lakh mageko xa ...khai kasle sunne hamro kura ? Bina paisa kasaile pathaudaina launa kun men pawor le free visa free ticket dinxa jankari dinuna malaysia ko security maa ma aauna chalahanxu ma malaysia ex security ho

  • Uday Lama

    Jan. 16, 2023, 12:09 p.m.

    भन्नलाई मात्रै हो १० हजार र सहिपनि गर्न लाउछ त्यत्मै लिन चाहिँ रुपैया २.५०००० हो नि ।

  • नविन

    Jan. 15, 2023, 6:16 p.m.

    दुइ लाख पचास हजार तिरेर गई रहेको पाइन्छ नी

तपाईको प्रतिक्रिया