‘कम्पनीलाई १० हजार रियाल तिरेर साउदीबाट घर फर्केँ’

 माघ १९, २०७९ बिहिबार १७:४५:३० | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – साउदीमा कामको पहिलो दिन । खुसी र डर मिश्रित मनलाई दरो बनाउँदै गाडीको स्टेरिङ समात्नुभयो । साउदीको जेद्दामा रहेको उहाँको कम्पनीभन्दा दुई सय किलोमिटर पर सामान पुर्‍याउनु पर्ने जिम्मेवारी दिइयो ।

नेपालको सडकमा गाडी कुदाइरहनुभएका श्याम कम्पनीबाट गाडी लिएर साउदीको सडकमा हुइँकिनुभयो । 

कम्पनीकै साथीको गाडी अघिअघि थियो । साथीलाई नै पछ्याउँदै पछिपछि जानुभयो । पहिलो दिन भएकाले गन्तव्यसम्म पुर्‍याइदिएर साथी आफ्नो बाटो लागे । सामान झारेर श्यामलाई फेरि कम्पनीमा फर्कनु थियो । 

जाँदा साथीको गाडीलाई पछ्याउँदै जानुभएका श्यामले फर्कँदा बाटो भुल्नुभयो । समस्या त बाटो भुल्नुभन्दा पनि भाषा नजान्नुले पर्‍यो । आफू अरेबिक नबुझ्ने, जसोतसो अङ्ग्रेजीमा सोध्दा पनि त्यहाँ भेटिएका गाडी चलाकहरूले आफ्नो भाषा नबुझ्ने । 

अब सोध्ने कसरी, कम्पनीमा पुग्ने कसरी । पहिलो दिन नै आपतमा पर्नुभयो ।

कम्पनीमा फोन त गर्नुभयो । तर त्यहाँ पनि भाषाकै समस्या भयो । अरेबिक नबुझेकै कारण आफ्नो समस्याबारे कम्पनीलाई बुझाउन नसक्दा पहिलो दिन साउदीको सडकमा रातभर हराउन पर्‍यो ।

‘पहिलो दिन, के बोल्ने, के सोध्ने केही थाहै भएन, मत रातभर सडकमै कता कता हराएँ’ श्याम हाँस्दै भन्नुहुन्छ ‘कम्पनीका मानिस खोज्दै आएर पो म भेटिएँ नत्र त के पो हुन्थ्यो होला ।’

ललितपुरको बाग्मती गाउँपालिकाका श्याम तामाङले साउदी पुग्नासाथ भाषा र त्यहाँको संस्कृति नजाने कै कारण यस्ता थुप्रै कुरामा नमिठो अनुभव भोग्न पर्‍यो ।

यहाँबाट म्यानपावरले अभिमुखीकरण तालिम भनेर विमानस्थलदेखि कम्पनीसम्म कसरी पुग्ने भनेर त सिकाएको थियो । तर साउदीको बारेमा केही पनि बताएन ।

साउदीमा काम थालेको तेस्रो दिन दिउँसो काम गर्दा गर्दै साथीहरू काम छाडेर चुपचाप भित्र पसे । श्याम भने आफ्नो काम खुरुखुरु गरिरहनुभयो । त्यहाँका मानिसले गाली गरेपछि मात्रै प्रार्थनाको समयमा काम गर्न नहुने रहेछ भन्ने कुरा थाहा पाउनुभयो । 

तर प्रार्थना कुन कुन समयमा हुन्छ र त्यो समयमा के गर्नु हुन्छ के गर्नुहुन्न भन्ने कुरा नजान्दा श्याम अर्को समस्यामा पर्नुभयो । 

‘म त दिनको एक पटक मात्र होला उनीहरूको प्रार्थनाको समय भन्ठान्थेँ तर ठाउँ अनुसार दुई तीन पटक पनि हुँदो रहेछ’ सामान्य जानकारीसमेत नहुँदा भोगेको अप्ठ्यारोबारे श्याम भन्नुहुन्छ ‘दोस्रो तेस्रो पटकसम्म पनि थाहा नपाएर काम गरिरहेपछि त मलाई मरुभूमिमा लगेर छाडिदिए, त्यति कुरा त थाहा पाउन पाएको भए सायद त्यो दुःख गर्नु पर्थेँ न नि हैन ।’

काम गरिरहेकै स्थानबाट अपरिचित मानिसहरूले मरुभूमिमा लगेर छाडिदिएपछि प्राण धानेर कम्पनीसम्म फर्कन हम्मे हम्मे पर्‍यो । 

थाहै नपाई कम्पनीले बनाएको बन्धन

भाषा, धर्म, संस्कार र संस्कृति नजान्दा भोगेका दुःखको चाङ् बिस्तारै कम्पनी पनि थपियो । यहाँबाट जाने बेलामा म्यानपावरले गाडी चलाउने काममा १८ सय साउदी रियाल कमाइ हुन्छ भनेको थियो ।

‘म्यानपावरले त झुटो बोलेर पठाएको रहेछ नि’ श्याम त्यो तीतो अनुभव सम्झँदै भन्नुहुन्छ ‘पाउने तलब त्यही ८ सय रियाल नै रहेछ, त्यसबाटै खानाको पनि व्यवस्था गर्नु पर्ने, अब के गर्ने म त फसिसकेको थिएँ ।’

नेपालमा महिनाभर दिनरात नभनी गाडी चलाउँदा पनि दुई चार हजार बचत गर्न गाह्रो भइरहेका बेला महिनाकै झण्डै ६० हजार रुपैयाँ कमाइ हुन्छ भनेपछि श्यामको मनले साउदी रोजेको थियो । हातमा गाडी चलाउने सीप भएकाले पनि साउदीमा काम गरिखान सक्छु भन्ने आत्मविश्वासका साथ उहाँ सन् २०१२ मा २२ वर्षकै उमेरमा साउदी उड्नुभएको थियो । 

साउदी पुगेर काम गरेको महिना मर्दा ८ सय रियाल पो हात पर्‍यो । म्यानपावरले १८ सय रियाल हुने भनेर गरेको बाचाका कुरा कम्पनीलाई भन्नुभयो । तर कम्पनीले जे भन्यो त्यो सुन्दा श्यामको मुटु गाँठो पर्‍यो ।

‘म्यानपावरले त झुटो बोलेर पठाएको रहेछ नि’ श्याम त्यो तीतो अनुभव सम्झँदै भन्नुहुन्छ ‘पाउने तलब त्यही ८ सय रियाल नै रहेछ, त्यसबाटै खानाको पनि व्यवस्था गर्नु पर्ने, अब के गर्ने म त फसिसकेको थिएँ ।’

तर पनि मनमा झिनो आस म्यानपावरसँग कुरा गर्दा कामजस्तो भए पनि तलब चाहिँ बढ्छ कि भन्ने सोच्नुभयो श्यामले । परिवारलाई म्यानपावरसँग कुरा गर्न लगाउनुभयो । तर म्यानपावरले न उहाँको पुकार सुन्यो न त परिवारको अनुरोध । 

त्यसपछि श्यामले दूतावासलाई आफ्नो समस्या राख्नुभयो । तर दूतावासले दिएको जवाफले अझ मन दुख्यो । 

‘तिमीहरू यहाँ घुम्न आएको कि काम गर्न, काम गर्न आएको मानिस खुरुखुरु काम गर भन्नुभयो’ दूतावाससँग भएको त्यो कुराकानी सम्झँदै श्याम भन्नुहुन्छ ‘त्यसपछि त हामी गरिबको कुरा सकैले पनि नसुन्ने रहेछन् भन्ने लाग्यो, त्यहाँ त मरियो भने पनि हेर्ने कोही नहुने रहेछन् ।’

कम्पनीले दिएका दुःखहरू

१८ सय समाउने सपना बोकेर गएको मानिस ८ सयमा चित्त बुझाउन बाध्य हुन पर्‍यो । त्यसमा पनि दुःखको कुरा के भने झण्डै सात महिनासम्म त काम गरेको तलबबाट खान बस्न पुर्‍याउनै कठिन भयो । 

चलाउने गाडी पुरानो थियो । कहिले गाडीको पार्टपुर्जा बिग्रिन्थेँ त कहिले टायर पड्किन्थ्यो । कहिले कागजात भएन भन्दै प्रहरी समातेर लग्थ्यो । बिग्रिएको गाडी बनाएको, टायर फेरेकोदेखि प्रहरीलाई तिर्नु पर्ने जरिबानासमेत तलबबाटै काटिदिन्थ्यो । कुनै बेला त महिना भरी काम गरेको तलबले त्यही महिनाभर खानसमेत पुग्दैन थियो । 

काम गर्ने समय अनिश्चित थियो । बिदा त कहिले पनि पाउनुभएन । दिनभरिको काम सकेर अब त सुत्न पाइएला भनेर कोठामा पुग्न नपाउँदै बोलाउन आइहाल्थेँ ।

‘१२ घण्टा १४ घण्टा लगाएर टिप सक्यो, अब त सुत्न पाइएला भनेर कोठामा गयो, फेरि अर्को टिप आउने रहेछ ढोका ढकढक गर्न आइहाल्ने’ श्याम भन्नुहुन्छ ‘रातभर सुत्नै नपाइने, आराम भन्ने त के हो त्यो कम्पनीमा कहिले पाइएन ।’

अरू गाडीहरूले सामान लोड गर्दै गर्दा आफ्नो पालो आउन्जेलको समयमा खाना बनाएर खाइसक्नु पथ्र्यों । कहिले पाक्दा पाक्दैको भात छाडेर त कहिले खादा खादैको गाँस छाडेर कुद्नु पर्ने कुरा त सामान्यजस्तै भइसकेको थियो ।

निद्रा नलाग्ने औषधी खुवाएर काममा लगायो

कतिपय कुराहरू समयसँगै बिर्सँदै गइन्छ । तर कम्पनीले कफीमा निद्रा नलाग्ने औषधी खुवाउँदै लगातार चार दिन काममा लगाएको क्षण सम्झँदा अत्यास लाग्छ श्यामलाई आज पनि । 

कम्पनीले बिरामी पर्दा पनि सुख दिएन । खानपान, निद्रा र आराम नमिल्दा ज्यानमा कहिले सन्चो भएन । श्यामलाई साउदी पुगेपछि नै पायल्स लगायत विभिन्न स्वास्थ्य समस्या भयो । 

कम्पनीमा एक हजार रेडिमिक्स कङ्क्रिटको अर्डर आएको थियो । त्यो अर्डर जतिसक्दो छिटो सक्नु पर्छ भनियो । श्यामसहित उहाँका साथीलाई एक हजार टिप अर्डर सक्न ३ रात ४ दिन लाग्यो । दिनरात लगातार काम गरेर त्यो अर्डर सक्नुभयो । अर्डर सकेको भोलिपल्टदेखि सबै जना बिरामी परे । 

श्याम भन्नुहुन्छ ‘त्यो काम गर्दा हामीलाई झिमिक्क निद्रा लागेको थिएन, किन रहेछ भनेको त हामीलाई बेलाबेलामा कफी दिएको थियो कम्पनीले, धेरै काम गरेको भएर कफी दिएको होला भनेको त त्यसमा निद्रा नलाग्ने औषधी पो हालेर दिइएको रहेछ ।’

भोलिपल्ट उठ्नै नसकेपछि श्यामको आँखाबाट बरबरी आशु खसे । मनले भनेको थियो – अब यो दलदलबाट बाँचेर फर्किन गाह्रो छ । तर पनि घरमा भएका परिवारका लागि प्राण बचाउने प्रण मनमनै गर्नुभयो ।

कम्पनीले बिरामी पर्दा पनि सुख दिएन । खानपान, निद्रा र आराम नमिल्दा ज्यानमा कहिले सन्चो भएन । श्यामलाई साउदी पुगेपछि नै पायल्स लगायत विभिन्न स्वास्थ्य समस्या भयो । 

बिरामी भएर कोठामा सुत्दा कहिले पनि कम्पनीले अस्पताल लगेन । काम ठगेर सुत्ने भन्दै कुटपिट गर्ने, गाली गर्ने र त्यतिले पनि नभए साहुका छोराले बन्दुक पड्काएर तर्साए । 

‘कोठामा सुतिरहेकै ठाउँमा आएर गन देखाउने, काम गरिनस् भने मारिदिन्छु भन्दै बन्दुक पड्काउने गरे’ त्यो सास्तीपूर्ण दिन सम्झँदै श्याम भन्नुहुन्छ‘ज्यान त बचाउन पर्छ भनेर जस्तै बिरामी हुँदा पनि उठेर काम गरियो ।’

कम्पनीले इकामा र पासपोर्ट बोक्न दिएन

कमाएर संसार सजाउने सपना बोकेर परदेश पुगेको मानिस यी सबै कुरा किन सहनु । तर बाध्यता थियो । कम्पनीले साउदीको आइडी कार्ड (इकामा) र पासपोर्ट आफ्नै साथमा राख्यो । कहिले कतै जानु पर्दा पनि दिएन । यही कारण धेरै पटक प्रहरीले पक्राउ पनि गर्‍यो । बरु पक्राउ परेपछि लिन आउथ्यों कम्पनी तर कागजात भने हातमा दिएन ।

‘बुवाका साहुलाई मैले अरेबिक भाषामा नै कुरा गरेर म उपचार गर्न नेपाल जान चाहन्छु, कम्पनीले कुरा सुनेन तपाईँले सहयोग गर्नु पर्‍यो भनेँ त्यसपछि बुवा उहाँको साहुलाई लिएर मेरो कम्पनीमा आउनुभयो’ श्याम भन्नुहुन्छ ।

‘कम्पनीमा कोही पनि काम गर्नै चाहँदैन थिए, साथमा कागजात हुने हो भने त कसले काम गर्ने, तर भाग्छन् भनेर कम्पनीले कागजात नै नदिने रहेछ’ श्याम त्यो बेलाको बाध्यता सम्झनुहुन्छ । 

मानिसको शरीर न हो । नमलेजस्तो अत्याचार शरीरले सधैँ के सहन सक्थ्यो । बिस्तारै श्याम लगातार बिरामी पर्नु थाल्नुभयो । अस्पतालले पायल्सको अपरेसन नगरे ज्यानकै जोखिम हुने भन्न थालिसकेको थियो । कम्पनीले प्राण नै लिए पनि श्यामको ज्यान उठेर काम गर्न नसक्ने भयो । ज्यान दुब्लाएर ४० किलोको भइसकेको थियो । 

उपाय केही नचलेपछि साउदीमै काम गरिरहेका बुवालाई फोन गर्नुभयो । श्यामका बुवा उहाँको कम्पनीभन्दा ३ घण्टा जतिको दूरीमा कार्यरत हुनुहुन्थ्यो । 

बुवालाई आफ्नो समस्या राख्दै श्यामले साहुसँग आफ्नो कुरा गराउन अनुरोध गर्नुभयो । 

‘बुवाका साहुलाई मैले अरेबिक भाषामा नै कुरा गरेर म उपचार गर्न नेपाल जान चाहन्छु, कम्पनीले कुरा सुनेन तपाईँले सहयोग गर्नु पर्‍यो भनेँ त्यसपछि बुवा उहाँको साहुलाई लिएर मेरो कम्पनीमा आउनुभयो’ श्याम भन्नुहुन्छ ।

बुवाका साहुले श्यामको कम्पनीमा कुरा गरिदिए । बिदामा उपचार गर्न नेपाल जाने सर्तमा श्यामलाई अनुमति त कम्पनीले दिने भयो । तर त्यसका लागि झण्डै १० हजार साउदी रियाल अर्थात् झण्डै ३ लाख ४५ हजार रुपैयाँ कम्पनीलाई जरिबाना तिर्न पर्ने भयो । 

बिरामी भएर कोठामा सुतेको, गाडी बिग्राएकोदेखि टायर फेरेकोसम्म गरेर कम्पनीले भनेअनुसार नै बुवाले १० हजार साउदी रियाल कम्पनीलाई तिरिदिए । 

त्यसमाथि उहाँलाई घर पठाउन साक्षी बसेर साथीलाई पनि दुई महिनाको तलब दिन पर्‍यो । 

‘म बिदामा भनेर आए पनि फर्केर जाने थिइनँ अनि म फर्केर नगएपछि त यो नेपालबाट आउँछ भनेर साक्षी बसेको मेरो साथीको दुई महिनाको तलब कम्पनीले काट्थ्यो, त्यही भएर उसको काट्ने तलबसमेत हिसाब गरेर उसलाई दिइयो’ श्याम सुनाउनुहुन्छ । 

२ वर्ष २ महिना भोगेका यी सबै सङ्घर्षलाई बिसाएर सन् २०१४ मा श्याम नेपाल फर्कनुभयो । 

नेपाल फर्किएपछि...

नेपाल फर्किएपछि पनि त्यहाँ भोगेका शारीरिक र मानसिक तनावले निकै समय सताइरह्यो । सपनामा तर्सिने, तलब काटिन्छ भन्दै निद्रामै उठेर हिँड्ने समस्या लामो समयसम्म रह्यो । 

‘त्यहाँ निद्रामै पनि टिप आएपछि गाडी लिएर हिँड्नु पर्ने नि त त्यही भएर मलाई यहाँ आउँदा पनि लामो समयसम्म गाह्रो भयो’ श्याम भन्नुहुन्छ ‘मलाई अहिलेसम्म पनि त्यो तनाव कम भएको छैन, सम्झँदा गाह्रो हुन्छ, मन गाँठो पर्छ ।’

काठमाण्डौको वल्डवाइड म्यानपावरलाई ९० हजार तिरेर मासिन १८ सय कमाउने सपनाले दिएको दुःख र हैरानी जीवनभर भुल्छु जस्तो लाग्दैन श्यामलाई । 

‘त्यो कम्पनीमा हरेक दिन बिहान उठेपछि कहिले दिन जान्छ भनेर गनिन्थ्यो, यति गाह्रो भयो नि दुई वर्ष कटाउन’ परदेशको त्यो पाना आज सम्झँदा श्यामलाई पछुतो लाग्छ ।

देश फर्किएर श्यामले गाडी चलाउने काम नै गरिरहनुभएको । सुरुमा केही समय अरूको गाडी चलाउने काम नै गर्नुभयो । त्यसपछि सोच्नुभयो, अर्काको देशमा त्यत्रो दुःख गरेर आइयो अब आफ्नै देशमा केही गर्छु । अनि बैङ्कबाट लोन निकाल्नुभयो र आफ्नै नाममा गाडी किनेर चलाइरहनुभएको छ ।

विदेशमा भोगेका दुःखले थुप्रै पाठ सिकाएको छ श्यामलाई । देश छाडेर परदेश जाँदा हातमा सीप मात्र भएर मात्र पनि नहुने रहेछ । कामको अनुभवसँग आफू जाने देश, कम्पनीको नियम, देशको नियम, धर्म संस्कृति बारेमा बुझेर जानु पर्ने रहेछ भन्ने भान भएको छ ।

‘त्यो कम्पनीमा हरेक दिन बिहान उठेपछि कहिले दिन जान्छ भनेर गनिन्थ्यो, यति गाह्रो भयो नि दुई वर्ष कटाउन’ परदेशको त्यो पाना आज सम्झँदा श्यामलाई पछुतो लाग्छ ।

सरकारलाई सुझाव दिँदै श्याम भन्नुहुन्छ ‘अभिमुखीकरण तालिममा यस्ता सामान्य कुराहरू चाहिँ सिकाएर पठाउने व्यवस्था सरकारले कडाइका साथ लागू गर्नुपर्छ ।’

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया