सात वर्ष खाडीमा बित्याे, अहिले आफ्नै साबुन उद्याेगमा व्यस्त तुल्सीराम

 माघ २१, २०७९ शनिबार १८:३३:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – राेजगारीकाे लागि परदेशिनेहरु सबै सधैँभरि उतै बस्दैनन् । केही कमाएर, केही सिकेर आफ्नै गाउँठाउँमा फर्किहाल्छन् । यतै केही गर्ने सपना बाेकेर ।

सल्यानको कपुरकोट गाँउपालिका–३ का तुल्सीराम शर्मा पनि सात वर्ष परदेशमा बिताएर आफ्नै देशमा केही गर्ने साेचका साथ नेपाल फर्किनुभयाे । अहिले दाङको घोराहीमा झण्डै तीन करोड रुपैयाँको लगानीमा साबुन उद्योग सञ्चालन गरिरहनुभएकाे छ उहाँले । शर्माले व्यक्तिगत लगानीमा घोराही उपमहानगरपालिका–१६ रावतगाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हाे । 

तुल्सीरामले वैदेशिक रोजगारीका क्रममा साउदी र दुबईमा सात वर्ष बिताउनुभयाे । सधैँ परदेशमै बसिरहन मनले मानेन । आफ्नै परिवारसँगै बसेर आफ्नै गाउँठाउँमा केही गर्ने साेचका साथ नेपाल फर्किनुभयाे । सुरुमा यहाँ आएको केही समय मोबाइल पसल चलाउनुभयाे । तर माेबाइल व्यवसायले उहाँकाे मनकाे भाेक मेटिएन । कुनै उद्याेग खाेल्नुपर्छ भन्ने साेच्नुभयाे । त्यसपछि उहाँले माेबाइल पसल छाडेर साबुन बनाउने काममा लाग्नुभयाे । मेलिना मल्टिपल प्राली स्थापना गरेर कपडा धुने ‘स्मृति साबुन’ बजारमा ल्याउनुभयाे । अहिले साबुन व्यवसाय राम्रै चलिरहेकाे उहाँ बताउनुहुन्छ ।

'बजारबाट राम्रो प्रतिक्रिया आइरहेको छ’, शर्माले भन्नुभयो, ‘व्यवसाय राम्रोसँग चल्यो र आम्दानी बढ्दै गयो भने उद्योगलाई विस्तार गर्दै लैजाने सोच रहेको छ ।’


उद्योगले दैनिक करिब एक सय कार्टुन बराबरको साबुन उत्पादन गर्दै आएको छ । अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन हुन्छ । बिस्तारै नुहाउने साबुन, कपडा धुने साेडा, भाँडा धुने साबुन र सौचालयमा प्रयोग गरिने हार्फिक उत्पादन गर्ने उहाँकाे याेजना छ ।

तुल्सीरामले उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउनुहुन्छ । नेपालमै उत्पाद गर्न सकिने कच्चा पदार्थकाे लागि भारतकाे भर पर्नुपर्ने बाध्यता हुँदा समस्या भएकाे उहाँ बताउनुहुन्छ ।

‘तत्कालका लागि अहिले भारतबाट कच्चा पदार्थ आयात गरी साबुन उत्पादन गर्ने गरेका छौँ’, शर्माले भन्नुभयो,‘आगामी दिनमा आफ्नै उद्योगमा कच्चा पदार्थको उत्पादनसँगै सेवालाई थप गर्ने लक्ष्य रहेको छ ।’ 

कुनै समय राेजगारी खाेज्दै परदेशिनुभएका शर्मा अहिले आफैले स्थानीय युवाहरुलाई राेजगारी दिनुभएकाे छ । उहाँकाे उद्योगमा अहिले ९ जनाले रोजगारी पाएका छन् । उद्योग चल्दै गएपछि थप जनशक्ति बढाउँदै जाने उहाँ बताउँनुहुन्छ ।

उद्योगका सञ्चालक शर्मा आफै मेसिन चलाउनुका साथै उत्पादित साबुन बजार व्यवस्थापनको कामसमेत गर्नुहुन्छ । बुटवलदेखि पश्चिम क्षेत्रको बजारलाई लक्षित गरी बजार व्यवस्थापन थालिएको छ । अहिले उत्पादित साबुन बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीलगायतका सहरहरुमा पठाउने गरेको शर्माले बताउनुभयो ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Keshab

    Feb. 5, 2023, 8:09 a.m.

    बिदेस गएर कमाएको पुजि यहाँ उत्पादनमा सिल मा लगाउने मन लाई यो मुटु ले सार्है माया गर्छ। सदै अघि बड्नु दाजु सुभकामना

तपाईको प्रतिक्रिया