सरकारले एकै वर्ष बाँड्यो १६ करोड ४४ लाख, पैसा पाउनेमा पार्टी कार्यकर्तादेखि पूर्व राष्ट्रपतिसम्म

 साउन ५, २०७६ आइतबार १९:२५:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – सरकारले गएको आर्थिक वर्ष २०७५-७६ मा विभिन्न व्यक्तिको उपचार खर्च, आर्थिक सहायता र क्षतिपूर्तिको लागि १६ करोड रुपैयाँभन्दा धेरै रकम वितरण गरेको छ ।

आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर सरकारले यो रकम वितरण गरेको छ । वितरण भएको १६ करोड ४४ लाख ६९ हजार रुपैयाँ रकममध्ये केही रकम पाउनैपर्ने व्यक्ति र संस्थाले पाए पनि धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ । सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता, संस्थादेखि पूर्वमन्त्री र  पूर्व सांसद रहेका छन् ।

सरकारले विभिन्न महिनामा बाँडेको रकम:

साउन:  गएको आर्थिक वर्षको पहिलो महिनामा सरकारले ९९ लाख ४५ हजार ६ सय ६९ रुपैयाँ बाँड्यो । सरकारले गोरखा फुजेलकी गंगामाया अधिकारीलाई २० लाख, राष्ट्रकवि माधव घिमिरेलाई उपचार गराउन १४ लाख ९८ हजार रुपैयाँ दिएको थियो । त्यस्तै काठमाण्डौका पिताम्बर आङबुहाङलाई १० लाख र पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ सहयोग दिएको छ ।

भदौ: कांग्रेस नेता नरहरि आचार्यलाई ३३ लाख ६१ हजार, निर्मला पन्तका हत्यारलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा मारिएका सन्नी खुन्ना निर्मला पन्तका परिवारलाई १०/१० लाख र घाइतेका परिवारलाई गरी २८ लाख, रामेछापका भिमबहादुर श्रेष्ठलाई १० लाख, स्थानीय तहको चुनावमा घाइते भएका २४ जनाको उपचार खर्च २७ लाख २४ हजार रुपैयाँ सहायता दिइएको छ ।

काठमाण्डौ स्कुल अफ ल को आयोजनामा भएको नेपालको संविधान नामक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको लागि ३० लाख र हेटौंडाका चन्द्र शर्मालाई १० लाख रुपैयाँ दिएको छ । असोजमा भने रकम वितरण नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

असोज: ५ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले सिँचाइ विभागका इन्जिनियर पुरुषोत्तम खरेलको मृगौलाको उपचारको लागि ५ लाख रुपैयाँ दिएको छ । यस्तै वीरगंज भन्सार कार्यालयका नायव सुब्बा संजिव कुमार सिंहलाई पनि ५ लाख रुपैयाँ उपचार खर्च दिइएको छ ।

कात्तिक: अरु महिनाको तुलनामा सरकारले कात्तिकमा थोरै रकम बाँडेको छ । कात्तिकमा १० लाख रुपैयाँ वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मंसिर: कात्तिक महिनामा आर्थिक सहायता वितरण नगरेको सरकारले मंसिरमा भने १ करोड ७ लाख १९ हजार रुपैयाँ  वितरण गरेको छ । मंसिरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्चको लागि मन्त्रिपरिषद बैठकले ७ लाख १९ हजार रुपैयाँ सहायता दिएको छ ।

यस्तै बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया बिकका परिवारलाई ५ लाख, रौतहतमा एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दास र घाइते सुश्मिता दासका परिवारलाई ५ लाख, बर्दियामा प्रहरी नियन्त्रणपछि ज्यान गुमाएका मनोहर यादवलाई मन्त्रिपरिषद निर्णयले १० लाख रुपैयाँ वितरण गरेको छ ।

यस्तै तनहुँका टुकराज सिग्देललाई १० लाख, झापाका  राजेन्द्र बिमलीलाई १६ लाख, प्रधानमन्त्री कार्यालयका लक्ष्मी रोकालाई ३ लाख, म्याग्दीका अर्जुन सुवेदीलाई २ लाख र कपिलवस्तुमा ज्यान गुमाएका दीपेन्द्र चौधरीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता मंसिरमा दिइएको छ ।

यस्तै कपिलवस्तुका मुमाराम आचार्यका परिवारलाई १० लाख, झापाका मध्मा वलीलाई ३ लाख, चानक उप्रेतीलाई ५ लाख र सुनसरीको दुहवीमा भएको घटनामा ज्यान गुमाएका फिदा हुसेनको परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।

पुस: पुस महिनामा सरकारले २ करोड ३३ लाख ६४ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । २३ जनालाई विभिन्न घटनाको क्षतिपूर्ति स्वरुप ४४ लाख ६४ हजार रुपैयाँ दिइएको छ । यस्तै कानुन व्यवसायीको रजत जयन्ती मनाउन २० लाख र पुस ९ गतेको मन्त्रिपरिषद विभिन्न व्यक्तिको उपचार खर्चको लागि ८० लाख रुपैँया दिएको छ ।

यस्तै मंसिर २८ गतेको मन्त्रीपरषद्को निर्णय अनुसार उपचार खर्च पाउने १२ जनालाई ७२ लाख रुपैयाँ  दिइएको छ । यस्तै मंसिर १७ गतेको निर्णय अनुसार १५ लाख, २४ गतेको निर्णय अनुसार गीतादेवी साहलाई २ लाख  रुपैयाँ आर्थिक सहायता दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

माघ: माघ महिनामा सरकारले ७९ लाख ९५ हजार रुपैयाँ आर्थिक सहायता र क्षतिपूर्ति रकम वितरण गरेको छ । सर्लाहीमा भएको घटनामा ज्यान गुमाएका रामविलास महतोको परिवारलाई १० लाख, पूर्व राष्ट्रपति डा। रामवरण यादवलाई भारतमा उपचार गराउँदा २ लाख रुपैयाँ सरकारले दिएको छ ।

यस्तै माघ ३ गतेको मन्त्रिपरिषद बैठकले ८ जनालाई ३५ लाख रुपैयाँ आर्थिक सहायता  गरेको थियो भने  १९ गतको बैठकले ४ जनालाई २२ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।  यस्तै म्यादी प्रहरी हुँदा घाइते भएकी उपचार  खर्च  ९५ हजार  र काठमाण्डौकी विष्णा जोशीलाई उपचार खर्च १० लाख रुपैयाँ सरकारले माघ महिनामा दिएको छ ।

फागुन: सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १ करोड २१ रुपैयाँ भन्दा धेरै बाँडेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १ करोड २१ लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले  पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई  १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो ।

गंगालाल श्रेष्ठको जन्म शताब्दी मनाउन पुष्पला स्मृती प्रतिष्ठानलाई ५ लाख रुपैयाँ दिइएको छ । माघको २१ र २५ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न व्यक्तिलाई आर्थिक सहायता र उपचारका नाममा ४२ लाख ८० हजार रुपैयाँ दिने निर्णय अनुसार फागुनमा रकम भुक्तानी गरिएको छ ।

यस्तै बाराको प्रसौनीका पानालाय यादवलाई उपचार खर्च ६ लाख २० हजार रुपैयाँ दिइएको छ । यस्तै पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचारको लागि १० लाख रुपैयाँ दिइएको छ । माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार दैलेखका नरविर दमाइसहित ४४ जनालाई १० लाख रुपैयाँ सरकारले दिएको छ ।

चैत: चैत महिनामा सरकारले आर्थिक सहायता र उपचार खर्चको नाममा १ करोड ५१ लाख रुपैयाँ बाँड्यो ।

कञ्चनपुर घटनाका घाइतेको उपचारको लागि २० लाख, आवश्यकता अनुसारको सहयोग शीर्षकमा विभिन्न व्यक्तिलाई ४१ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै चैत ११ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार ६ वटा संस्था तथा व्यक्तिलाई ८० लाख रुपैयाँ दिइएको छ । यस्तै गोरखाका प्रहरी जवान स्वर्गीय अर्जुन जमरका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।
 
२०७६ वैशाख: वैशाख महिनामा सरकारले ३ करोड ४७ लाख रुपैयाँ वितरण गरेको छ । पूर्वमन्त्री केशव बुढाथोकीलाई उपचार खर्च १० लाख, चक्रपाणि नेपाल, कविता श्रेष्ठ, नरहरी गैरे र  गिरिराज शर्मालाई गरी २४ लाख रुपैयाँ, चितवनका सन्तोष रानाभाटलाई ६० हजार रुपैयाँ वितरण भएको छ ।
आमाको घर नेपाल संस्था कालिमाटीलाई ५० लाख, सफलता एचआइभी  शिक्षा सदन कीर्तिपुरलाई १ करोड र मानव सेवा आश्रम काठमाण्डौलाई १ करोड रुपैयाँ सहायता सरकारले दिएको छ ।

यस्तै राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोष महास्थविरलाई उपचार खर्च १० लाख ८० हजार, सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई भारतमा उपचार गराउँदा ३६ लाख ३६ हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई उपचारको लागि १ लाख १३ हजार रुपैयाँ पनि वैशाखमै निकासा भएको छ । यस्तै विभिन्न व्यक्तिको उपचार खर्च र आर्थिक सहायताको नाममा १५ लाख रुपैयाँ सरकारले दिएको छ ।

२०७६ जेठ: सरकारले जेठ महिनामा विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ । जेठमा १ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई ५ लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, बिर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई ५ लाख, अछामका हिमाल विकलाई ८ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई १ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।
यस्तै काभ्रेका निलबहादुर बस्नेतलाई ५ लाख र युगकवि सिद्धिचरण श्रेष्ठ  अक्षयकोष काठमाण्डौ र अन्य १० जनालाई गरेर ५६ लाख रुपैयाँ वितरण गरिएको छ ।
२०७६ असार: असारमा सरकारले विभिन्न व्यक्तिलाई आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्तिस्वरुप १ करोड ५ लाख रुपैयाँ वितरण गरेको छ ।

मन्त्रीपरिषद्को जेठ २३ गतेको निर्णय अनुसार सर्लाहीका ध्रुव प्रसाद गौतमलाई ७ लाख,मोरङका उमेश गिरीलाई ७ लाख, अर्घाखाँचीका डिल्लीराज घिमिरेलाई ७ लाख, इलामका देउप्रसाद राईलाई ३ लाख, संखुवासभाका कमलसिंह मादेनलाई ३ लाख, र उदयपुरकी शान्ता खत्रीलाई ५ लाख गरी ३२ लाख रुपैयाँ दिइएको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालय महोत्तरीका पिंकी रायका परिवारलाई ५ लाख रुपैयाँ दिइएको छ । यस्तै प्यूठानका शिषिर खड्कालाई ५ लाख उपचार खर्च दिइएको छ । 

असार १२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ललितपुरका मिठाराम शर्मासहित १६ जनालाई ५० लाख रुपैयाँ दिइएको छ ।  भक्तपुरका उमा पाण्डेलाई २ लाख र झापाका मनोहर मिश्रलाई २ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । 

आन्दोलनका क्रममा मारिएका सरोजनारायण सिंह र समिर घिसिङको परिवारलाई १५ लाख  रुपैयाँ प्रदान गरिएको छ । जनआन्दोलनका ज्यूँदा सहिद मुकेश कायस्थको उपचारको लागि ४ लाख ६९ हजार रुपैयाँ दिइएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया