बिस्ना विकलाई आफूमाथि श्रीमानले सौता हाल्छन् भनेर अझै शङ्का लाग्छ

 जेठ १८, २०७७ आइतबार १९:३२:४५ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौएकचुटी त थाहा पाइकन अर्को व्या हर्न रोक्या । बैक्यानको क्या भर,  अज काइ अर्को ब्या गरेल्न्या हुनकी क्या जानी (एकपटक मैले थाहा पाएर दोस्रो बिहे गर्न रोकेँ । पुरुषको के भरोसा, फेरि अर्को बिहे गरिहाल्नुहुन्छ कि ?) काखमा छोरी च्याप्दै बिस्ना विकले भन्नुभयो । 

दैलेखको आठबिस नगरपालिका वडा नम्बर ५ सल्लाकाट्याकी बिस्ना विकले आफ्नो श्रीमानले दोस्रो बिहे गर्न लागेको थाहा पाएपछि त्यसलाई रोक्नुभयो । उहाँका श्रीमान चक्र विकले सुर्खेतबाट दोस्रो बिहे गर्ने तयारी गर्नुभएको थियो । तर त्यो बिहे रोक्नुभएकी बिस्नालाई श्रीमानले बिहे गर्नुहुन्छ कि भन्ने अझै पिर छ । 

जिन्दगी सुख दुःखसँग काट्ने बाचाअनुसार भागेर बिहे गर्नुभएकी बिस्नाले श्रीमानबाट विश्वासघात हुन्छ भन्ने सोच्नुभएको थिएन । उहाँले बिहेपछिको जिन्दगीमा थुप्रै उतार चढाव भोग्नुभएको छ । आफूमाथि सौता हाल्न लागेको थाहा पाउँदा बिस्नाले गाउँकै महिलाहरुको सहयोगमा त्यो विवाह रोक्नुभयो । 

यसरी थाहा भयो 

वि.सं. २०७६ साल भदौ २० गतेको बिहान । सुर्खेतबाट फर्केका गाउँकै एक जना भाइ नाता पर्नेसँग बिस्नाको भेट भयो । सन्चो बिसन्चो कुरा भयो । श्रीमानबारे सोधपुछ भयो । अनि बिस्नाले थाहा पाउनुभयो - श्रीमानले दोस्रो बिहे गर्दैछन् ।

कामको खोजीमा काठमाण्डौमा रहनुभएका श्रीमानले ज्यालादारी काम गर्नुहुन्छ भन्ने सुन्नुभएको थियो बिस्नाले । तर कुन ठाउँ भन्ने थाहा थिएन । अछाम माइतीघर र दैलेख आफ्नो घरभन्दा बाहिर नदेखेकी बिस्नालाई कहाँ हो काठमाण्डौ र कहाँ हो सुर्खेत केही थाहा छैन । काम गर्न हिँड्नुभएका श्रीमान अर्कै केटीको मोहमा पर्नुहुन्छ भन्ने कल्पना समेत गर्नुभएको थिएन उहाँले । 

श्रीमानले अर्कै केटीसँग फोनमा कुरा गर्ने, सुर्खेतमा सँगै बस्ने, कमाएको पैसा पनि त्यही केटीलाई दिने गरेको सुन्दा बिस्नालाई असाध्यै दुःख लाग्यो । अब के गर्ने ? फोन गर्न उहाँको हातमा मोबाइल थिएन । गाउँबाट बाहिर नदेखेकी बिस्नालाई सहेर बस्नुको विकल्प भएन । 

महिलाहरुको साथ 

बिस्ना गाउँमै रहेको सामुदायिक छलफल केन्द्रमा सहभागी हुनुहुन्छ । छलफल केन्द्रमा महिला हिंसा र बालविवाहबारे छलफल गरिन्छ । उसो त छलफल केन्द्रमा जान थालेपछि नेपालको संविधानले दोस्रो बिहे गर्न बन्देज गरेको कुरा बिस्नालाई थाहा थियो । 

बिस्नाले श्रीमानले अर्को बिहे गर्न लागेको कुरा छलफल केन्द्रमा राख्नुभयो । छलफल केन्द्रमा महिलाको बैठक बस्यो । अब के गर्ने, बिहे कसरी रोक्न सकिन्छ भन्ने छलफल भयो । 

छलफल केन्द्रकी सहजकर्ता भगवती जोशीले मोबाइल नम्बर पत्ता लगाएर चक्रलाई फोन गर्नुभयो । चक्रले दोस्रो बिहे गर्न लागेको कुराबारे भगवतीले सोध्नुभयो । चक्रले त्यो कुरा स्वीकार्नुभएन । 

अर्को बिहेबारे सोध्दा फोन नै नउठाउने चक्रलाई एकदिन श्रीमती र छोरा बिरामी परेको र घर पनि भत्केको भन्दै फोन गरियो । फोन गरेको पाँच दिनपछि चक्र घर फर्किनुभयो । घरमा चक्रलाई भदौ २५ गते सबै महिला जम्मा भएर दोस्रो बिहे गर्न नपाइने भन्दै कागज बनाएर औँठा छाप गर्न लगाए । त्यसपछि एक महिना घरमै बसेर चक्र फेरि कामको सिलसिलामा काठमाण्डौ आउनुभयो ।

भागी विवाह

अछामको बारालाकी बिस्ना र दैलेखको सल्लाकाट्याका चक्रले ८ वर्ष पहिले भागेर बिहे गर्नुभएको थियो । आफन्तमार्फत एकअर्कासँग चिनजान भएपछि दुवैले एक अर्कालाई मन पराएर भागी बिहे गर्नुभएको थियो । 

बिहे गरेको डेढ वर्षपछि चक्र मजदुरी गर्न भारत लाग्नुभयो । बिस्नाले घर सम्हाल्नुभयो । एक वर्षपछि चक्र भारतबाट घर फर्किनुभयो । न खान पुग्ने खेतीपाती न केही रोजगार । नेपालमा बस्नुभन्दा भारतमै बस्न उचित भन्दै चक्र र बिस्ना भारत लाग्नुभयो ।

करिब तीन वर्ष भारतमै बस्नुभयो । बिहे गरेको चार वर्ष भइसक्दा पनि छोराछोरी जन्मिएनन् । तर चेकजाँच दुवै जनामध्ये कसैले गर्नुभएन । त्यतिखेर बिस्नाले आफ्नै कमजोरीले गर्दा सन्तान नभएको भन्दै चक्रलाई दोस्रो बिहे गर्न लगाउनुभयो । तर चक्रले अर्को बिहे गर्न मान्नुभएन । 

चक्रबाट छोराछोरी नजन्मिँदा बिस्नालाई भोक र निन्द्रा लाग्न छाड्यो । बिस्ना आफैँले केटीसँग कुरा गर्नुभयो । गाउँकै बहिनी नाता पर्ने केटी भारतमै बस्थिन् ।  उहाँले आफ्नो समस्या सुनाएर आफ्नो श्रीमानसँग बिहे गर्न बिन्ती गर्नुभयो ।

सुरुमा नाईंनास्ती गरेकी केटीले बिस्नाको आफ्नो श्रीमानप्रतिको माया देखेर बिहे गर्न तयार भइन् । तर चक्रले बिहे नगर्ने अडान कायमै राख्नुभयो । भारतको बसाइँपछि श्रीमानश्रीमती नेपाल फर्किनुभयो ।

घर फर्केपछि 

चक्र र बिस्ना नेपाल फर्केर देउता पुज्नुभयो । केही लागभाग वा रोगले गर्दा सन्तान जन्मेन कि भन्दै देउतालाई सोध्नुभयो । नभन्दै बिस्नाको गर्भमा बच्चा रह्यो । 
वि.सं. २०७३ साल फागुनमा बिस्नाले छोरा जन्माउनुभयो । यसले उहाँ धेरै खुसी हुनुभयो । चक्र त्यतिबेलै कामको खोजीमा फेरि भारत पस्नुभयो । डेढ वर्ष भारतमा मजदुरी गरेर उहाँ फेरि गाउँ फर्किनुभयो । 

हुन त चक्रका लागि मात्रै होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकले रोजीरोटीको लागि भारतकै भर पर्नुपर्छ । घर फर्किनुभएका चक्रले काम गर्न फेरि भारत नजाने निर्णय गर्नुभयो । चक्रले ज्यालादारीमा भएपनि नेपालकै सहरमा काम गर्ने भन्दै कामको खोजीमा लाग्नुभयो ।

घरबाट निस्कदा नेपालमै काम गर्छु । ‘सुर्खेत, बाँके र काठमाण्डौ जता पाइन्छ, उतै काम गर्छु र तिमीलाई फोन गर्दै गर्छु भन्दै चक्र घरबाट हिँड्नुभयो । तर त्यसपछि चक्रले फोन गर्न छोड्नुभयो । सञ्चो बिसञ्चोबारे कहिल्यै सोध्नुभएन ।

डर लाग्छ 

चक्रले दोस्रो बिहे गर्दिनँ भन्दै श्रीमती र गाउँका महिलासमक्ष बाचा गर्नुभएको छ । तर बिस्नालाई भरोसा छैन, अहिले पनि डर लाग्छ । बिस्नालाई आफ्नो श्रीमान कहाँ हुनुहुन्छ, के काम गर्दै हुनुहुन्छ भन्ने अहिले पनि थाहा छैन ।

भन्न त चक्रले काठमाण्डौमा बालुवा चाल्ने र गाडीमा लोड गर्ने काम गरेको भन्नुभएको थियो । बिस्नलाई बस्नको लागि घर छ । साँझ बिहान छाक टार्न जसोतसो पुगेकै छ । तर पहिलेको केटीले चक्र मेरो श्रीमान हो भन्दै फोनमा कुरा गरेकीले बिस्नालाई चक्रमाथि अझै पनि शङ्का लाग्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया