जापानका साइबर सुरक्षा मन्त्रीले भने : मैले कहिल्यै कम्प्युटर चलाएको छैन

 मंसिर १, २०७५ शनिबार ७:३५:४३ | एजेन्सी
unn.prixa.net

जब कुनै मन्त्रीलाई कुनै मन्त्रालयको जिम्मा दिइन्छ, आशा गरिन्छ कि ती मन्त्रीले त्यो विषयमा विशेषज्ञ नै नभए पनि आधारभूत ज्ञान जानेका हुन् । 

तर जापानका साइबर सुरक्षा मन्त्रीले आफूले कहिल्यै कम्प्युटर नचलाएकोे भनेर सबैलाई आश्चर्यमा पारेका छन् ।

जापानका साइबर सुरक्षा मन्त्री योशिटाका सेकुराडाले कानुन निर्माण समितिसामू आफूले कहिल्यै कम्प्युटर नचलाएको बयान दिएका हुन् । क्योडो न्यूज एजेन्सीका अनुसार उनले भनेका छन्, ‘किनकि म २५ वर्षको थिएँ र स्वतन्त्र थिएँ । मैले आफ्नो स्टाफ र सचिवलाई निर्देशन दिएको छु । मैले आफ्नो जीवनमा अहिलेसम्म कम्प्युटर चलाएको छैन ।’

६८ वर्षीय योशिटाकालाई गएको महिनामात्रै साइबर सुरक्षा हेर्ने मन्त्रीका रुपमा नियुक्त गरिएको थियो । सन् २०२० मा टोक्योमा हुने ओलम्पिक खेलकुदसँग जोडिने साइबर सुरक्षाको तयारीका लागि उनलाई नियुक्त गरिएको थियो । 

विपक्षी डेमोक्रेटिक पार्टीका नेता मसाटो इमाएले योशिटाकाको बयानप्रति आपत्ति जनाएका छन् । उनकै एक प्रश्नको उत्तरमा योशिटाकाले आफू कम्प्युटरबाट टाढा रहेको बताएका थिए । मसाटो भन्छन्, ‘मलाई विश्वास नै लाग्दैन कि जसले साइबर सुरक्षा हेर्नुपर्छ उसले कम्प्युटर नै चलाएको छैन ।’

योशिटाकाले भने आफूले कम्प्युटर चलाउन नजाने पनि आफ्ना अधिकारीले जानेको हुँदा कुनै समस्या नआउने बताएका छन् । 

त्यसपछि पनि सोधिएको एउटा प्रश्नका कारण योशिटाका समस्यामा परे  । उनलाई देशको परमाणु उर्जा केन्द्रमा यूएसबी ड्राइभ(पेन ड्राइभ) प्रयोग हुन्छ कि हुँदैन भनेर सोधिएको थियो । त्यसको उत्तर दिन पनि उनलाई निकै हम्मेहम्मे परेको थियो । 

कम्प्युटर चलाउन आफूलाई नआउने बताएपछि जापानका साइबर सुरक्षा मन्त्री योशिटाकालाई सामाजिक सञ्जालमा उडाइएको छ ।

यूमी असादा लेख्छन्, ‘जापानका साइबर सुरक्षा मन्त्री कम्प्युटर प्रयोग गर्दैनन्(वा गर्न सक्दैनन्)... के उनी फ्याक्स मेसिन प्रयोग गर्न सक्छन् ?’

 

त्यस्तै धेरैले मन्त्रीले कम्प्युटर चलाउन नजानेका कारण कम से कम ह्याक त नहुने भए भन्दै योशिटाकालाई उडाएका छन् ।
 

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया