ऊर्जा मन्त्रालयले पायाे ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट, यस्ता छन् कार्यक्रम

 जेठ १५, २०८१ मंगलबार १७:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष १५ हजार ५ सय ७१ हेक्टर जमिनमा थप सिँचाइ विस्तार गर्ने बजेटमा उल्लेख छ ।

यस्तै रानीजमरा कुलरिया आयोजनाअन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर जमिनमा शाखा नहर सञ्चालन गर्ने र लम्की मूल नहरअन्तर्गत शाखा नहर निर्माण शुरु गर्न २ अर्ब ८७ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै सरकारले सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । बबई सिँचाइ आयोजनाको पूर्वी तथा पश्चिम नहरबाट शाखा विस्तार गरी एक हजार जमिनमा सिँचाइ गर्न १ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स र विद्युत् गृह निर्माण गर्न २ अर्ब रुपैयाँ विनियोजन भएको छ । सरकारले महाकाली सिँचाइ आयोजनाको तेस्राे चरणको मूल नहर र शाखा नहरको विस्तारकाे काम अगाडि बढाउन २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी डाइभर्सनको हेडवर्क्स लगायत पावर हाउसका संरचना निर्माण गर्न ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन भएको छ । बाग्मती सिँचाइ आयोजनाको सिँचाइ प्रणाली पुनर्स्थापना गरी ४५ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुर्‍याउन ६८ करोड रुपैयाँ विनियोजन भएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा हुने गरी एकीकृत कर्णाली सिँचाइ आयोजनाका लागि ८२ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै तराई मधेश भूमिगत जलसिँचाइमार्फत कृषियोग्य कलस्टरमा आधारित ड्युब टुबेलबाट सिँचाइ सुविधा पुर्‍याउन थप ४ सय ५० ड्युब टुबेल विस्तार गर्न ४१ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले नदी एवम् टार नजिकका जमिनमा सिँचाइ सुविधा विस्तार गर्न २ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ । नौमुरे बहुउद्देश्यीय आयोजना, कालीगण्डकी तिनाउ, सुनकोशी–कमला–तमोर चिस्यान लगायत जलपथान्तरण आयोजनाको पनि अध्ययन गरिने भएको छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया