नेपाल साहित्य सम्मेलन पुस ७ गतेदेखि पोखरामा, कुन–कुन विदेशी लेखक आउँदैछन् ?

 मंसिर ३, २०७५ सोमबार १७:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य सम्मेलन पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने भएको छ । 

आइएमई ग्रुपले मुख्य प्रायोजन गर्ने सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार आउँदै छन् । सम्मेलनबारे जानकारी दिन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन आयोजना गरियो । 

कार्यक्रममा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मेलनमा आइएमई गु्रुप सहभागी हुन पाउँदा अत्यन्त खुसी भएको धारणा राख्नुभयो । आफ्नो समूहले नयाँनयाँ सिर्जना गर्ने प्रयत्नमा सहयोग गर्दै आएको र सोही उद्देश्यबाट अभिप्रेरित साहित्य सम्मेलन भएकाले यसमा आफूहरूले सहकार्य गरेको उहाँको भनाई छ । सम्मेलनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सघाउने आइएमईको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलन लेखकको उत्सवका रूपमा रहेको बताउनुभयो । यो भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको उहाँको भनाई छ । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उहाँले बताउनुभयो । यस किसिमको सम्मेलनले सबैलाई विवेकवान बनाउन सघाउने उहाँको भनाइ छ । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उहाँको धारणा छ । यो सम्मेलन सभ्य एवम् भव्य हुने आफ्नो अपेक्षा रहेको उहाँले बताउनुभयो । 

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताउनुभयो । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उहाँको भनाई छ । शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्रर कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले जीवन पनि नपाउने हुँदा पनि यसखाले सबैको मञ्चको महत्व अझ बढेको आफूहरूले महसुस गरेको उहाँले बताउनुभयो । 

फेस्टिभलमा अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश गरिनेछन् । महोेत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गतको प्रदर्शनी हुनेछ । 

फेस्टिभलमा सहभागी अतिथि विदेशी लेखक

मोहम्मद हनिफ (पाकिस्तान)

कमनवेल्थ प्राइज फर बेस्ट बुकजस्तो प्रतिष्ठित पुरस्कार पाइसकेका, बुकर प्राइजको लङलिस्टमा छानिएका मोहम्मद हनिफको चौथो पुस्तक रेड बर्ड्स हालै मात्र प्रकाशित भएको छ । कराँचीमा बसेर द न्यूयोर्क टाइम्स, न्युयोर्कर र विभिन्न पत्रिकाहरूका नियमित स्तम्भकार उनी राजनीतिकेन्द्रित गम्भीर प्रकृतिका आख्यानका लागि पाठकमाझ चिनिन्छन् ।  

नमिता गोखले (भारत)
 
आख्यान र गैरआख्यान गरी १६ ओटा पुस्तककी लेखिका नमिता गोखलेको सम्पादनमा यसैवर्ष ‘द हिमालयन आर्क : जर्निज इस्ट अफ साउथ इस्ट’ पुस्तक निस्किएको छ । साहित्य रचनाका लागि भारत र विदेशबाट समेत विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेकी गोखले भारतको जयपुरमा हुने जयपुर लिटरेचर फेस्टिभलकी संस्थापक सहनिर्देशकसमेत हुन् ।  

डा. निकोला स्ट्रिटेन (बेलायत)

मानवशास्त्री हुँदै इलुस्ट्रेटर र ग्राफिक उपन्यासकार बनेकी निकोलाले नारीवादी कार्टुन र कमिक्सबारे विद्यावारिधि गरेकी हुन् । बिल्ली, यू एन्ड मी (सन् २०११) ग्राफिक संस्मरणमार्फत पुरस्कारसमेत जितेकी निकोला आर्ट्स काउन्सिल इ‌ंग्ल्याण्ड एन्ड ब्रिटिस काउन्सिल इन्टरनेसनल डेभलपमेन्ट फन्डसमेत प्राप्त गरेकी छन् । संस्कृति, सञ्चार र कलाको इतिहासबारे प्राध्यापनसमेत गरिरहेकी निकोलाले नेपाल लिटरेचर फेस्टिभलमा ग्राफिक उपन्यासबारे ‘मास्टर क्लास’ पनि दिनेछिन् । 

मञ्जुश्री थापा (क्यानडा)

गैरआख्यानबाट साहित्यमा प्रवेश गरेकी मञ्जुश्री थापा अङ्ग्रेजी संसारमा नेपाली मूलको प्रतिनिधित्व गर्ने सफल लेखकको सूचीमा पर्छिन् । दुई वर्षअघि अल अफ अस इन आवर वन लिभ्स उपन्यास प्रकाशन गरेकी उनी त्यसअघि तीन उपन्यास, चार गैरआख्यान र एक अनुवाद कृतिकी स्रष्टा हुन् । केही वर्षअघि मात्र क्यानडामा बसाइँ सरेकी थापा नेपालको राजनीतिक र सामाजिक मुद्दाको खरो टिप्पणीकारका रूपमा समेत परिचित छिन् ।  

प्रज्ज्वल पराजुली (भारत)

‘द गुर्खाज डटर’ कथासङ्ग्रहमार्फत विश्व साहित्यमा आफ्नो प्रभाव छाडेका नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुलीको दोस्रो आख्यान ‘ल्यान्ड ह्वेयर आई फ्ली’ले पनि नेपाली भाषीकै जीवन उधिनेको छ । अङ्ग्रेजी भाषाको पकड र बेजोड कल्पनाशीलता भएका पछिल्लो पुस्ताका प्रतिभावान् लेखकका रूपमा उनी चिनिन्छन् ।

हरिश नाम्बियर 

इन्डियन एक्सप्रेस, रोयटर्सलगायत विभिन्न टेलिभिजन र इन्टरनेट पोर्टलमा पत्रकारिताको अनुभव सँगालेका हरिश नाम्बियरले सन् २००२ को गुजरात दङ्गाका बेला मोटरसाइकलमा तीन साता लामोसात राज्यको भ्रमण गरे । ‘डिफ्य्राग्रमेन्टी इन्डिया–राइडिङ अ बुलेट थ्रु द ग्यादरिङ स्ट्रोम’ उनको यही यात्राबाट सिर्जित चर्चित गैरआख्यान हो । हाल द इकोनोमिक टाइम्समा आबद्ध उनी पत्रकारिताका शिक्षक पनि हुन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया