एकादशी जात्रामा झडप, प्रहरीसहित चारजना घाइते

 मंसिर ३, २०७५ सोमबार १८:३२:१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – एकादशी जात्रामा धादिङ र गोरखाको युवाहरुबीच धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ बुङकोटघाटमा झडप हुँदा एकजना प्रहरीसहित चारजना घाइते भएका छन् भने १३ ओटा सवारी साधनमा क्षति पुगेको छ ।

गएराति भएको झडपमा धादिङ नेपाल प्रहरीका असई बिनयकुमार पाण्डे गम्भीर घाइते भएकोले धादिङ अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

घाइते पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ । दुवै पक्षबीच झडप भएपछि झडप छुट्याउन गएको प्रहरी टोलीलाई ढुंगाले लागेर घाइते भएका हुन् । गोरखातर्फबाट आएको एक समूहले आक्रमण सुरु गरेपछि घटना भएको र धादिङतर्फबाट समेत सिमाना क्षेत्र भएकोले आक्रमण गरिएको थियो ।

झडपमा धादिङतर्फका दुईजना र गोरखातर्फका अन्य दुईजना घाइते भएका छन् । घाइतेहरु प्रहरीले पक्राउ गर्ने डरले फरार रहेका छन् । घटनामा धादिङ र गोरखातर्फको ७ ओटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ भने ३ ओटा सामान्य क्षति पुगेको छ । त्यसैगरी ३ ओटा बुलेरो गाडीमा क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया