लुम्बिनीमा ‘किसानको हात प्रदेशको साथ’ देखि ‘थोरै विद्यालय धेरै विद्यार्थी’ सम्मका कार्यक्रम

 जेठ २१, २०८१ सोमबार १८:७:३१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार वटा ठाउँमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताउनुभयो । घोराही, लुम्बिनी, बुटवल र नेपालगञ्जमा सामुदायिक शिशु स्याहार केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले यसले गर्दा बच्चा भएकै कारण रोजगार छोड्नुपर्ने आमाको बाध्यता हट्ने विश्वास लिइएको बताउनुभयो । उहाँका अनुसार प्रदेश राजधानी देउखुरीमा पनि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने गरी १० वर्षे रणनीति बनाउने, सबै सामुदायिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम प्रदान गरिने, प्रदेशस्तरीय बाल संरक्षण गृह निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश छ । ‘किसानको हात, प्रदेशको साथ’ कार्यक्रममार्फत उत्पादनमा आधारित अनुदान दिने, प्रविधिमार्फत कृषिको बजारीकरण गर्ने, ‘बुद्ध पर्यटकीय मार्ग : लुम्बिनी–ढोरपाटन–दुनै–जुम्ला–खलङ्गा–रारा–काँक्रेविहार–कोलपुर–लुम्बिनी’ को सम्भाव्यता अध्ययन, अन्तर प्रदेश समन्वय, नयाँ निर्माण हुने सडकलाई अपाङ्गमैत्री बनाउने, रामपुर–कपुरकोटलाई स्तरोन्नति, दाङको कोइलाबास नाकामा खानेपानी विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ ।

पहाडबाट तराई बस्न आउने कार्य निरुत्साहित, गाउँमै नमुना बस्ती निर्माण, प्रदेशका वनमा उत्पादन भएको काठलाई उचित प्रयोगका लागि सरकारी भवन निर्माण तथा फर्निचरमा लैजान कानुनी प्रबन्ध मिलाउने, प्रदेशभित्र जडीबुटी प्रशोधन उद्योग स्थापना, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतना कार्यक्रम, अटिजम भएका बालबालिकालाई स्रोत कक्षा सञ्चालन, ‘थोरै विद्यालय, धेरै विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्ने, कक्षा १२ देखिमाथिका विद्यार्थीलाई प्रदेश तथा पालिका इन्टरनेटको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश छन् ।

प्रदेशभित्र मातृभाषाका रूपमा बोलिने भाषालाई कामकाजको भाषा बनाउने, हिमाली तथा पहाडी जिल्लामा सुत्केरी उद्धारका लागि एअर एम्बुलेन्सको व्यवस्था गर्ने, एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेलगायत कार्यक्रम प्रदेश प्रमुख शेरचनले आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया