प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड, महिला आयोगको गाडीका लागि ३ करोड

 मंसिर ४, २०७५ मंगलबार १३:९:३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – सरकारले कात्तिक महिनामा झण्डै साढे ६ अर्ब रुपैयाँ सहयोग शीर्षकमा खर्च र रकमान्तर गरेको छ । 

कात्तिक महिनामा विभिन्न व्यक्तिलाई सहयोग, तथा एउटा शीर्षकमा छुट्याइएको रकम अर्कै शीर्षकमा रकमान्तर गरेर ६ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खर्च गरिएको छ । 

सबैभन्दा धेरै नेपाली सेनालाई एम्युनिसन(हातहतियार) उत्पादन गर्ने प्लाण्ट खरिद गर्न २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रकमान्तरमार्फत दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै सेनाले किनेको फिक्स विंग जहाजको भुक्तानीको लागि ५९ करोड रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको छ । 

यसैगरी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई १ अर्ब ४६ करोड २६ लाख र राष्ट्रिय परिचयपत्र वितरणका लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । 

भ्रमणमा ५३ लाख खर्च

कात्तिक महिनामा मात्रै मन्त्री र कर्मचारीहरुको विदेश भ्रमणबापत ५३ लाख रुपैयाँभन्दा धेरै रकम भुक्तानी गरेको छ । अर्थ मन्त्रालयका कर्मचारीको भ्रमणका लागि ३५ लाख ७७ हजार, रक्षामन्त्री ईश्वर पोख्रेलको चीन भ्रमणका लागि १३ लाख, कानुन मन्त्रालयका सचिवको फ्रान्स भ्रमणको लागि ४ लाख ८० हजार र उद्योगमन्त्रीको चीन भ्रमणको लागि ३६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको सुरक्षाको लागि झण्डै साढे २ करोड

प्रधानमन्त्रीको सुरक्षाको लागि सचिवालयलाई सुरक्षा सामग्री खरिद गर्न कात्तिक महिनामा २ करोड ४२ लाख २५ हजार रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको छ । यो रकमले प्रधानमन्त्रीको सुरक्षाको लागि सुरक्षाका उपकरण किन्ने अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ । 

महिला आयोगलाई गाडी किन्न ३ करोड

अर्थ मन्त्रालयले रकमान्तर गरेर राष्ट्रिय महिला आयोगलाई गाडी किन्न ३ करोड रुपैयाँ छुट्याएको छ । आयोगका पदाधिकारी र सचिवका लागि ६ वटा गाडी किन्न ३ करोड रुपैयाँ छुट्याइएको अर्थ मन्त्रालयले जानकारी दिएको हो । 

अर्थ मन्त्रालयबाट विभिन्न शीर्षकमा भएको निकासा तथा रकमान्तरको विवरण

https://drive.google.com/file/d/1GRPZCByXbGXVec2qDoNd1TZlFQCHj-GL/view

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया