भारतमा मजदुर गरी फर्केका कुँवर लुटिए

 मंसिर ४, २०७५ मंगलबार १४:४३:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भारतमा मजदुरी गरी स्वदेश फर्कने नेपाली लालसिंह कुँवर सीमानाकामा लुटिएका छन् ।

केही समय पहिले नेपाल प्रहरीले लामो समयसम्मको अनुसन्धानपछि बेहोस बनाई लुटपाटमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले गिरोहलाई नियन्त्रणमा लिएपछि केही समय रोकिएको लुटपाट कार्य फेरि सुरु भएको छ ।

इलाका प्रहरी कार्यालय जमूनाहका प्रहरी निरीक्षक शिवकुमार वलीका अनुसार मङ्गलबार बिहान दिल्लीमा मजदुरी गरेर स्वदेश फर्कँदै गरेका बाँकेको राप्ती सोनारी गाउँपालिका ४ का लालसिंह कुँवरलाई बेहोस बनाएर लुटपाट गरिएको छ ।

दिल्लीबाट बसमा सीमावर्ती रुपैडिया आउँदै गर्दा कुँवरलाई भारतको नानपारा नजिकै फ्रुटी खान दिइएको थियो । फ्रुटीमा नसालु पदार्थ राखिएको रहेछ । तर कुँवरले त्यसको जानकारी नपाएका कारण उहाँ बेहोस हुनुभयो ।

पछि होसमा आएपछि मात्रै आफूसँग भएको सम्पूर्ण सम्पत्ती फ्रुटी खान दिएर लुटेको कुँवरले थाहा पाउनुभयो । बेहोस अवस्थामा रहेका कुँवरलाई बसमै रहेका सञ्चारकर्मी देबीराम कुसारीले उद्धार गरी नेपालगञ्ज ल्याउनुभएको थियो । भेरी अञ्चल अस्पतालमा उपचाररत कुँवरको साथमा रहेको भारतीय १३ हजार रुपैयाँ लुटिएको छ ।

बीचबाटोमा यात्रुलाई नसालु पदार्थ सेवन गराई लुटपाट गर्ने गिरोह यसअघि नेपाली नागरिक नै भएको पाइएको थियो । नेपाली भएकाले सजिलै घुलमिल हुने भएकाले पनि लुटेराहरुले खानेकुरामा नसालु पदार्थ मिसाएर खान दिने गरेको पाइएको छ । कतिपय बसमै बेहोस सुतिरहेका व्यक्तिलाई भारतीयले उद्धार गरी सीमासम्म ल्याई पु¥याउने गरेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया