किमाथाङ्का क्षेत्रको अध्ययन र अनुगमन गर्न जिल्लाका उच्च अधिकारीको टोली प्रस्थान

 मंसिर ४, २०७५ मंगलबार १७:५१:१९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको विकट क्षेत्र किमाथाङ्का क्षेत्रको अध्ययन र स्थलगत अनुगमन गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको नेतृत्वमा जिल्लास्तरका उच्च अधिकारीहरुको एक टोली प्रस्थान गरेको छ ।

सांसद गौतमको नेतृत्वमा प्रदेश सांसदहरु पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खडका र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्याम सारुमगर, सशस्त्र बलका उपरीक्षक कविन्द्र राई, उत्तरदक्षिण कोशी आयोजना प्रमुख पशुपति ज्ञवाली र सीमा प्रशासन प्रमुख लगायतको उच्च अधिकारीको टोली त्यस क्षेत्रमा पुगेको गौतमका निजी सचिवालयले जारी गरेको  विज्ञप्तिमा जनाइएको छ । 

टोलीले जिल्लाको विकट क्षेत्र भोटखोला अन्तर्गतका किमाथाङ्का नाका पुर्‍याउने जोगबनी–किमाथाङ्का सडक बिस्तारको अवस्था, सीमा भन्सार र अध्यागमन, सीमा प्रशासन र सशस्त्र प्रहरी बलको कार्यालय स्थापना लगायतको बारेमा स्थलगत अनुगमन गर्नेछ । 

त्यसका साथै सुख्खा बन्दरगाहको निर्माण र अरुण नदिको तटबन्ध लगाउने बारेमा छिमेकी मित्रराष्ट्र चीनको स्वाशासित क्षेत्रका स्थानीय प्रशासनसंग दुई पक्षीय हितका लागि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको गौतमले जानकारी दिनुभयो । 

उत्तरी भेगको भ्रमणको क्रममा मकालु गाउँपालिकाको नुमको फयाक्सिन्दामा निर्माणाधीन बहुचर्चित ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्त आयोजनाको प्रगतिको बारेमा स्थलगत अनुगमन गरिनेछ । 

त्यसका साथै भोटखोला क्षेत्रमा सुरुवात हुन लागेको ७ सय मेगावाटको अपर अरुण जलविद्युत्त आयोजना र किमाथाङका अरुण जलविद्युत्त आयोजनाको स्थलगत निरिक्षण गरिने सांसद गौतमले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा र भोटखोला गाउँपालिकाको व्यवस्थापनमा हटिया र स्याक्सिलामा २-२ दिने घुम्ती शिविरको समेत आयोजना गरिएको छ । घुम्ती शिविरमा नागरिकता वितरण लगायत अन्य विभिन्न सेवा र जानकारी दिने कार्यक्रम तय भएको छ । 

भोटखोलाको हटिया, चेपुवा र किमाथाङ्कामा स्थानीय सर्वसाधारणहरुसँग त्यहाँको समस्याको बारेमा व्यापक अन्तरक्रिया गरिने गौतमले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया