बङ्गलादेशलाई हराउँदै अफगानिस्तान पहिलाे पटक टी–२० विश्वकपकाे सेमिफाइलनमा, अस्ट्रेलिया बाहिरियो

 असार ११, २०८१ मंगलबार ११:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऐतिहासिक जीतसहित अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो ।

जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए । यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए ।

आजकाे खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन् । राशिदले न्युजिल्यान्डका टिम साउदीलाई पछि पार्दै ९२ खेलमा १ सय ५२ विकेट लिएका छन् । साउदीले १ सय १७ खेलमा याे उपलब्धि हासिल गरेका थिए । साउदीले अहिलेसम्म १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् ।

यस्तै राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ४ विकेट हल लिने खेलाडी पनि बनेका छन् । उनले आजकाे खेलमा सहित अहिलेसम्म ९ पटक ४ विकेट हल लिएका छन् । यस्तै बङ्गलादेशका शाकिब अल हसनले ८ र युगान्डाका हेनरी सेसेन्याेन्दाेले ७ पटक ४ विकेट हल लिएका छन् ।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएकाे थियाे । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै रशिद खानले १० बलमा नट आउट १९ रन बनाए । बङ्गलादेशका रिशद हाेसेनले ३ विकेट लिए । अफगानिस्तानकाे पारीपछि पानी परेपछि अफगानिस्तानले डीएलएसमा १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पाएकाे थियाे ।

योसँगै टी–२० विश्वकपकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ । यसअघि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन् । अब अफगानिस्तानले सेमिफाइनलमा पर्सि बिहान सवा छ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै त्यही दिन बेलुका सवा ८ बजे अर्काे सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्नेछन् ।

अफगानिस्तानले बङ्गलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया