दक्षिण अमेरिकी मैत्रीपूर्ण खेलमा चिलि र कोस्टारिका विजयी

 मंसिर ५, २०७५ बुधबार ९:२१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरिकी मैत्रीपूर्ण खेलमा चिलि र कोस्टारिका विजयी भएका छन् ।

बुधबार बिहान भएको खेलमा चिलिले होन्डुरसलाई ४–१ ले हरायो भने कोस्टारिकाले पेरुमाथि ३–२ को जित दर्ता गर्‍याे । चिलिको टेमुकोमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि अर्टुरो भिडल नायक बने । भिडलले पहिलो हाफमा नै दुई गोल गरेका थिए ।

आठौं मिनेटमा जिन बेसेनोरले गरेको प्रहार होन्डुरसका गोलकिपरले रोकेका थिए । तर पूरा क्लीयर नभएको बललाई भिडलले गोलमा परिणत गरे । ३५औं मिनेटा चिलिले पेनाल्टी पायो । पेनाल्टीलाई पनि भिडलले नै गोलमा परिणत गर्दै चिलिलाई २–० को अग्रता दिलाए । ४०औं मिनेटमा होन्डुरसले गोल फर्कायो । 

अलेक्सान्दर लोपेजले गोल गर्दै चिलिको अग्रता २–१ मा छोट्याए पछि पहिलो हाफ सकियो । ६१औं मिनेटमा होन्डुरसका खेलाडीले डि–बक्सभित्र ह्याण्ड गरेपछि चिलिले पेनाल्टी पायो । सो पेनाल्टीलाई एलेक्सिस सान्चेजले प्रहार गरेका थिए । तर गोलकिपरले रोकेका थिए । 

त्यही रिबाउण्ड बललाई सान्चेजले नै  गोल गर्दै चिलिलाई ३–१ को अग्रता दिलाए । ८४औं मिनेटमा होन्डुरसले अर्को ह्याण्ड गर्दा चिलिले फेरि पेनाल्टी पायो । पेनाल्टीलाई निकोलस कास्टिलोले गोल गर्दै चिलिलाई ४–१ को जित दिलाए । 

अर्को खेलमा पेरु आफ्नै मैदानमा कोस्टारिकासँग पराजित भयो । पेरुले सुरुआतमा नै लिएको अग्रता जोगाउन सकेन । २०औं मिनेटमा इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा जोनाथन म्याकडोनाल्डले कोस्टारिकाका लागि गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको नवौं मिनेटमा एलन क्रुजले गोल गर्दै कोस्टारिकालाइ अग्रता दिलाए । ७३औं मिनेटमा जेफर्सन फार्फानको गोलबाट पेरु फेरी खेलमा फर्कियो ।

७७औं मिनेटमा जोइल क्याम्पबेलले पेनाल्टीमार्फत गोल गर्दै कोस्टारिकालाई ३–२ को अग्रता दिलाए । उनको त्यही गोल कोस्टारिकाको जितमा निर्णायक बन्यो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया