मित्रहरु, परको आदेश मान्ने अनि घर कसले धान्ने ?

 मंसिर ५, २०७५ बुधबार १४:२६:२६ | राजु लामिछाने
unn.prixa.net

एक पटक दुई जना मित्रहरु जङ्गलको बाटो हुँदै कतै गइरहेका थिए । मित्रताको उदाहरणमा आफूलाई अग्र भागमा उभ्याउने खालका मिठासपूर्ण उदाहरण दिँदै हिँडिरहेका बेला अचानक भालुसँग भेट भएछ ।

तीमध्ये एक जना त झटपट रुख चढिहाल्यो, अर्काेले तलबाट हात दिँदा पनि उसले नदेखेझैँ गरी रुखको टुप्पो पछ्याउन थाल्यो । रुख चढ्न नभ्याएकाले चाँहि हत्तपत्त जमिनमै घोप्टिएर, मरेझैँ गरी सुतिदियो । जमिनमा सुतेकोलाई फेला पारेपछि भालुले सुँघ्यो, मरेकै ठानेर छोड्दियो । 

भालु गैसकेपछि, रुखमा चढेको ओर्लिएर मित्रछेउ आयो । जिस्क्याउने पारामा सोध्यो,‘भालुले त तिमीसँग साउती मार्यो नि ! के भन्यो ?’

पेच पार्ने गरी उसले जवाफ दियो – ‘खतरामा पार्नेको विश्वास कहिल्यै नगर !’ 
  
मौसमी मित्र अर्थात सुखका मित्रहरुका लागि घामकै उज्यालो बराबरको सन्देश, यो घटनाले प्रष्ट रुपमा दिएको छ । परस्पर विश्वास अनि भरोसा नै सबैखाले मित्रता र आफन्तको जग हो । तर चैते मित्रताले आफ्नो सर्वोपरी हितका बखत असल मित्रतालाई बिर्सिन्छ । यसले घाम लाग्दा छाता बोकाउँछ र पानी दर्किन थालेपछि भने छाता फिर्ता माग्छ । अचेल नेपाली समाजमा अझ भनौँ नेपाली राजनीतिमा यस्ता मौसमी र चैते मित्रहरुको व्यवहार एकपछि अर्को छरपस्ट हुँदैछन् । 

पद र पावरका लागि एकतामा कस्सिने मधेसी दलदेखि लिएर दुई तिहाईको उन्मादले सिँह झैँ बनेका वामपन्थी असल मित्रकै विश्वासमा शंकाको लंका देख्दैछन् । प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पाउने वचन पाएका प्रचण्डलाई केपी ओलीले न अध्यक्षको चाबी दिन तयार छन् न प्रधानमन्त्रीको । 

आफ्नै पार्टिको सरकारविरुद्ध कुर्लिने माधव नेपाल, नारायणकाजीहरु बेलाबेला जिम्मेवारविहीन वक्तव्य दिएर पन्छिने गरेका छन्, गुट उपगुटका बेलामा तल्लीन छन् । पटक–पटकको सत्ताको भोगले अहम् बनेको कांग्रेस आफैभित्रको म्याच फिक्सिङको कारण अहिले सत्ताबाहिर कुर्लिरहेको छ, सत्तातिर फर्केर र्‍याल चुहाइरहेको छ ।

पार्टीको महाधिवेशन र सरकार गठनका लागि मित्रताको लगनगाँठो कसे पनि कहीँ कसैले वचन खेर नफालेको उदाहरण कमै देखिन्छ । नीतिहरुकै राजा शीर्ष राजनीतिको गति त यतिविध्न अविश्वासी, बेमेल र असहिष्णु छ भने तीनैबाट पाठ सिक्ने राम्रा सन्तानहरुले कस्तो मित्रताको पाठ सिक्लान ! 

मित्रता पाउन, मित्र बन्न सक्नुपर्छ भनेर असल व्यक्तित्व निर्माणका कदमहरुमा उल्लेख गरिन्छ । मित्रताले त्याग खोज्छ । यसलाई कायम राख्न त्यागसँगै इमान्दारी र परिपक्वता नितान्त जरुरी रहन्छ । फ्रान्सेली दार्शनिक भोल्टायरले मित्रहरुकै सवालमा भनेका छन्, ‘हे भगवान्, मलाई मेरा मित्रहरुबाट बचाउ, मेरा दुश्मनहरुको सामना गर्न म आफै सक्षम छु ।’ फ्रान्सेली दार्शनिकको उक्ति त नेपाली समाजमा पो भिजेको छ ।

स्वार्थ लिएर आएका र भित्रबाहिर फरक मन,व्यवहार भएका मित्रहरुलाई हामीले बेलैमा खुट्याउन सक्न पर्छ । असल मित्र र मित्रताले आफन्तको कष्ट हेरेर मौन रहँदैन । उसले त लिन भन्दा र दिन र प्रतिकूल अवस्थामा दिलोज्यान अर्पण गर्न तयार रहन्छ । मित्रता, धैर्यताको परीक्षाहरु पार गर्दै अघि बढ्छ भने थप बलवान बन्दै जान्छ । विभिन्न आशय र स्वार्थले मान्छेहरु मित्र बनाउन तत्पर रहन्छन् ।

सम्बन्ध मनोरञ्जनात्मक र रमाइलो भएमा मात्रै कायम राख्ने मित्रता सुख गएसँगै जान्छ । कोही केही पाउनका लागि मात्रै फितलो र नटिक्ने मित्रताका लागि मरिहत्ते नि गर्छन् । मित्रता त पारस्पारिक हितको भावना र इज्जतमा आधारित हुनुपर्छ ।

अर्काको अस्तित्व स्वीकार्न नसक्ने, सबै तरंगहरु मलाई मात्रै छोएर जानु पर्छ भन्ने घृणित विचार कैद गरी राख्ने मित्रहरु त चैते भैहाल्छन् । असल मित्र त ती हुन्, जसले एक अर्काको भलो चिताउँछन् र त्यसैअनुरुप व्यवहार देखाउँछन् । जसको परिणाम मित्रतामा उदारता र इमानको चरित्र हुन्छ । दीगो मित्रता त एउटाको संकटमा अर्को झन झन नजिक भएर संयुक्त रुपमा संकट झेल्न तयार हुन्छन् । 

निकटता र सम्बन्धलाई हलुका र उदासीन तरिकाले लिनु आफैमा गलत हुन जान्छ । लामो समयदेखि स्थापित सम्बन्धसँग जोडिएका सबैको चरित्र गाँसिएको हन्छ । यस्तो मित्रतामा मधुरता ल्याउन, आफ्नो तर्फबाट कम नहोस् भन्ने ख्याल गरिनुपर्छ । आफ्ना हितैषीहरुको मित्रतापूर्ण सहयोगबिना सफलता प्राप्त गर्न असम्भव नै हुन्छ । आफूले त्यस्तो सहयोग आर्जन गर्न त्यसैअनुरुपको व्यक्तित्व विकास पनि गर्नुपर्छ ।

त्यस्तोखाले व्यक्तित्व विकासको निर्माणका लागि व्यवहार सन्तुलन र आवश्यकताअनुसार लचकताको जरुरत छ । लचकता भन्नाले, कमजोर व्यवहार बुझिनु कदापि हुदैन । अथवा सही सिद्धान्त, मान्य र अर्थसँग सम्झौता गर्नु हुदैन । आइपरेको परिस्थितिमा सही र जिम्मेवारपूर्वक उचित कदम चाल्नु हो । यही लचकताको अभाव खड्किएको छ यतिबेला नेपाली समाज र नेपाली राजनीतिमा । 

मेरो गोरुको बाह्रै टक्कावाला ठेकेदार प्रवृत्तिका नेताहरुको मपाइँत्वको उत्पादन हामीले उपयोग गर्न बाध्य छौँ । जुन आशा र भरोशाका साथ मत दिएर नेता चुन्याैँ, उनैले जनतालाई बारबार धोका दिइरहेका छन् ।  एकले अर्काको विश्वास नगर्ने, आफू भए ठीक नभए बेठीकवाला बानीले सबैलाई अँठ्याएको छ । नेताहरुको यस्तो पट्यारलाग्दो बानीले जनता हैरान छन् । जनता आजित भएको थाहा, अनुभूति छैन । कोही सुटबुट र कोही टुटफुटकै ध्याउन्नमा छन् ।

हलिउड, बलिउड हुँदै कलिउडमा समेत भित्रिएको पतिपत्नीबीचको छोडपत्रको रोग ठ्याक्कै राजनीतिमा घुसेको छ । पहिलो जीवन साथीमा एउटा कमजोरीको अनुभव गरेकाले, दोस्रोमा देखिने अर्कैखाले कमजोरीले वाक्कदिक्क मान्नुपर्ने परिस्थिति छ । दोस्रो अर्थात अर्को पटकको बिहेपछि ती जोडीहरु फेरि पनि सन्तुष्ट हुन सक्दैनन् । बदल्ने र सन्तुष्टि पाउने अभिलाषामा उनीहरुको जीवन नै दुःखी बनिदिन्छ । राम्रो भित्र्याउने मनसायले एउटाको बैगुन देखेर उसलाई हत्याउँदा आउने अर्को कामदार पनि गुनैगुनले भरिएको हुँदैन ।

यस्तो वास्तविकता जान्दाजान्दै मुलुकको राजनीति नयाँ नेतृत्वकै घनचक्करमा फसेको छ । नयाँ नेतृत्वभित्र असल व्यक्तित्वको खोजी नहँनु बिडम्बनापूर्ण रहेको छ । सामदामले इमानलाई पाखा लगाएपछि त्यस भित्र मौलाएको उदण्डता, दण्डहिनता मडारिने बादल झैँ केहीछिन गर्जेर हराउनु पर्ने हो, तर एकपछि अर्को ओइरिने बेइमानहरुको सञ्जालले कालो बादलको घेरा सितिमिति फाट्न चाहेको छैन ।

एकले अर्कालाई दबाउने, अरुको बुई चढेर बुकुर्सी मार्दा आनन्दको स्वास फेर्ने मित्रहरुकै कारण बादलको कालो घेरामा चाँदीको चमक देखिएको छैन । अर्काको विचार, आस्थाको सम्मान गरी, मित्र–शत्रु हैन, मित्र–मित्रको भावनाको विकास गरेमा समस्याको खुड्किलो कठाउन सम्भव छ । अगाडिबाट फूल दिने र पछाडिबाट तरबार घुसाउने मित्रताले गर्दा पार पाउन नसकिएको छर्लङ्गै छ । 

स्रोत र साधनको सहयोग गर्नु मित्रताको उद्धेश्य भन्ने बुझियो भने उद्धेश्यसँगै मित्रता सकिन्छ । सच्चा मित्र एक अर्कालाई आत्मैबाट सघाउँछन् । यस्तो सहयोगमा कुनै पनि कृपा र निगाह हुँदैन । समझदारी, सुझबुझ, आत्मत्याग जस्ता भावनाका आधारमा बनेका सम्बन्धहरु विकसित हुँदै मित्रतामा पुग्छन् । जहाँ स्वार्थ, इर्ष्या, अहमता, छुच्चो तथा रुखो व्यवहार अहितकारक हुन्छन् ।

हामीले यतिखेर खोजेको मित्रताले सम्बन्धवालालाई मात्र नभई सारा जनजनलाई स्वाद चखाउन सफल रहनुपर्छ । मिलेरै जोगाएको संस्कृति, भेषभुषा, रहनसहन, अस्तित्वले नेपालको आफ्नोपनमार्फत वासना छर्न सक्छ । परको आदेश मान्ने, घरको कर्तव्य बेवास्ता गर्ने नियति रहिरहेमा न आफ्नो घर रहला न अरुको भर रहला ।

आफ्नै घरमा बलिया र सजिव सम्बन्धहरु कसेर बाउँडिएको देशको स्वरुप दुरुस्त पार्न अग्रस्थानमा नाम आउने नेताहरुले तत्काल कदम चाल्न जरुरी छ । मित्रहरुबीचको मनमुटाव, घरकलह देखेर छिमेकीले समेत हेला गर्छन् भन्ने वास्तविकतालाई बेलैमा सोची आफ्नो व्यवहार र सम्बन्ध सच्याउन आवश्यक छ ।

हामीबीचको मित्रता देख्नेहरुले उदाहरण दिन सकून्, हाम्रो घरभित्रको एकता, कर्तव्यपरायणता, जिम्मेवारीबोध, सुन्दरता, सभ्यता, मिलाप हेरेर चियोचर्चो गर्ने छिमेकीहरुले सबक सिकून् । अन्यथा हामी फगत उही मौसमी मित्र र मौसमी देशभक्तिका उदाहरण हुन बेर छैन ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया