बालुवाटारको गीति साँझमा नारायणगोपाल र फत्तेमान

 असार २३, २०८१ आइतबार १२:३१:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

उथलपुथल ल्याउन खोज्दाखोज्दै प्रचण्ड बसेको कोठाको बत्ती एकरात अचानक गुल भयो । उथलपुथल आफैँतिर उल्टिएको भोलिपल्ट बालुवाटारमा गीति साँझको आयोजना भयो । साँझ नपर्दै प्रचण्डको हृदयविदारक स्वरमा बालुवाटारमा नारायणगोपाल र फत्तेमानको स्वर लहरिन थाले ।

....झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीपझैँ  भयो उदास मेरो जिन्दगी
चुरा फुटे सरि भयो, चाराहरु उडी गए........

‘चराहरू उडी गए होला नि हजुर, कहाँ चारा भन्नुभएको ?’ गीत गुनगुनाउँदै गरेका उथलपुथल कामरेडलाई सहयोगीले सम्झाए ।

‘चारा नै हो भनेको । चरा उडेर त हामीलाई के हुन्थ्यो र ? चारा उड्ने भो....मेरो पनि उड्ने भो, तिमीहरूको पनि उड्ने भो’ बसिरहेको कुर्सीतिर फर्केर फेरि अर्को गीत गुनगुनाए :

....मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्नँ
वसन्तको हरियाली फूलसँगै ओइली जान्छ
रुख नभए घाम, घाम नभए रुख फेरिँदै जान्छ
तर घाम र रुख मिली गए, तिमीबाट टाढा हुने भएँ
तिम्रो माया मार्नै सकिनँ 
मर्न बरु गाह्रो हुन्न....।

‘कहाँ मर्ने र मार्ने कुरा गर्नुभएको हजुर, हामीले यस्तो कुरा बिर्सिएको त धेरै वर्ष भइसक्यो । आफ्नो मनलाई बुझाउनुस् । उ हेर्नुस् त तपाईँलाई यस्तो अवस्थामा पनि साथ दिँदै आउनुभएका अर्काे पार्टीका नेता भेट्न आउनुभएको छ ।’

‘नमस्कार हजुर के भयो ? किन उदास हुनुभएको ?’

.....मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु, ठिकै छु बिथोल्न नआउ.....

‘बिथोल्न हैन हजुर व्यथा साट्न आएको । बाल्कोटे र बूढानीलकण्ठेले तपाईँलाई काँध नहालेपछि हामी पनि अलपत्र पर्ने भयौँ नि ।’

....यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
मेरो जस्तो माया दिने उसलाई हजार होलान्
उसका लागि मेरो जस्तो हजार हजार मुटु रोलान्
जसलाई आफ्नो सम्झेको थेँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले.....

‘छोडेर जानेको सम्झनामा आफूलाई कमजोर नबनाउनुस् हजुर । हाँस्नुहोस्, अहिले नभए पनि फेरि कुनै बेला उथलपुथल असम्भव छैन । आफ्नो जादुयी नम्बरको ख्याल गर्नुस् र अहिलेलाई बिर्सनुस्, भोलिलाई सम्झनुस् र हाँस्नुस् ।’

....आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ
भोलि उठी कहाँ जाने केही थाहा छैन
कुर्सीमा फर्किन पाउने हो कि होइन केही थाहा छैन.......

‘आउँछ हजुर आउँछ । हजुरसँग जादू छ । चमत्कार गर्ने क्षमता छ । गतिशील हुनुहुन्छ । अस्थिर हुनुहुन्छ । हजुरको चातुर्यले फेरि पनि काम गर्छ ।’

...जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य बनी त्यो सधैँ मेरो आँखामा लुकेछ
दिन रात अब मदेखि टाढा भएर गैदियो
बिरानो बनी प्रत्येक पल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुराना कुरा सम्झाई तड्पिन्छ.....

कुर्सीतिर फर्केर गीत गुनगुनाइरहँदा सहयोगीले भने, ‘बालकोटेको फोन छ ।’

खै लेउ त भनेर फोन कानमा राखेपछि उताबाट आवाज आयो, ‘के छ कामरेड, अझै चिन्ता लिइरहनुभएको छ कि क्या हो । चिन्ता नगर्नुस् अब, जे हुनु भैसक्यो । अहिले मैले फोन गरेको चाहिँ खाट, तन्ना, सिरक, डसना, भाँडाकुँडा छोड्दिनु हुन्छ नि हैन भनेर सोध्नलाई । अर्को हप्तातिर आइन्छ होला त्यता । यहाँबाट कति ओसारिरहने सामान, कुन दिन फेरि फर्कनुपर्ने हो । बूढानीलकण्ठतिरको पनि उति भर छैन क्यारे । त्यहाँमाथि तपाईँका जादूले सधैँ काम नगर्ने पनि हैन होला !’

....एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा कुर्सीको मायाले कति फरक पर्दछ जिन्दगीमा
शिशिरयामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको
बिछोड हुँदाको दुःखमा पनि भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि परालको हुन्छ साहारा यो
एउटा कुर्सीको मायाले कति..........

‘हैन कामरेड कति कुर्सी कुर्सी भनिरहनुभएको क्या । कुर्सी त आउँछ जान्छ, बिर्सनुस् क्या ।’

...यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेऊ, ए घाती निष्ठुरी
यी हात तिनै हुन्, तिमीले छामेका
यो पद यिनै हुन्, तिमीले थामेका......

‘हो कामरेड हो मैले नै थामेको हो । के गर्नु थाम्दाथाम्दै काँधमा फोहोर गर्नुभो । उता बूढानीलकण्ठतिरका काँध पनि फोहोर भयो रे । तपाईँलाई थामेर बस्दा आफ्नो पालो नआउला भन्ने डर भो । केही छैन, त्यहीँ आएर तपाईँसँगै बसेर अर्को गीत गाउँला...’

....मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
कुर्सीको माया यहाँ हामी सबैको बानी यस्तो
कहिले यसको, कहिले उसको खहरेको पानी जस्तो......

.....अल्झेछ क्यारे दौरा तिम्रो कुर्सीको खुट्टीमा...

.....मलाई माफ गरिदेउ मेरा लोभी नजर
मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् उनलाई चुपचाप मन पराएँ
तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ.....।

अन्तिम अपडेट: असार ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया