‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

 असार २३, २०८१ आइतबार १८:३०:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालित यस विद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फका ४१ जनालाई मौरीसहितका घार र एक सय जनालाई तरकारीको बीउ वितरण गरिएको हो । विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत प्राविधिक धारतर्फका इच्छुक, जेहेनदार विद्यार्थीहरूलाई मौरीघार तथा तरकारीको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रधानाध्यापक मल्लले मौरीसहितका घारसँगै विद्यार्थीहरूलाई घुम्टी, धुँवादानी, पञ्जा, हुल छोप्ने झोला, ब्रस, फिडर लगायतका सामग्री वितरण गरिएको जनाउनुभयो । यस्तै काउली, बन्दा, रायो र मुलाको बीउ उपलब्ध गराइएको छ ।

घार प्राप्त गरेका विद्यार्थीहरूले मौरीको हेरचाह आफैँ गर्नेछन् भने आम्दानी पनि उनीहरूले नै प्राप्त गर्नेछन् । तरकारीको बीउ प्राप्त गरेका विद्यार्थीहरूले पनि तरकारी रोप्ने, बजार खोज्ने र आम्दानी आफैँले गर्नेछन् ।

शैक्षिक सत्र २०७९/८० देखि यस विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिएको छ । गएको वर्ष पनि २५ जना विद्यार्थीलाई मौरीसहितका घार वितरण गरिएको थियो ।

गएको वर्ष घार प्राप्त गरेका विद्यार्थीहरूले मौरीको महबाट मनग्य आम्दानी गरेको बताएका छन् । कक्षा ११ मा अध्ययनरत प्रीया बुढाथोकीले गएको वर्ष मात्रै पाँच किलो मह बिक्री गरेको र ६ किलो मह घरमै प्रयोग गरिएको बताउनुभयो । यस्तै विद्यालयबाट प्राप्त गरेको एक घारबाट दुई घार बनाउन सफल भएको कक्षा १० मा अध्ययनरत निराजन शाहले बताउनुभयो । विद्यार्थीहरूका अनुसार पढाई खर्च जुटाउन यस कार्यक्रमले निकै सहयोग गरेको छ ।

विद्यार्थीहरूको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्देश्यले विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको हो । विद्यालयका कृषि तथा प्राविधिक कार्यक्रम संयोजक नवीन शर्माका अनुसार पाँच लाख रुपैयाँको मौरीसहितको घार वितरण गरिएको हो । विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक हुने हुँदा यस कार्यक्रमले थप मद्दत पुर्याएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया