१२ वर्षकाे कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना

 मंसिर ५, २०७५ बुधबार २०:५०:१५ | रासस
unn.prixa.net

काठमाडाैं - १२ वर्षकाे कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारका लागि थापाथलीमा रहेकाे प्रसूतिगृहमा भर्ना गरिएको छ । 

मकवानपुरकाे राक्सिराङ गाउँपालिका–३ मा रहेकाे माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बन्नुभएको थियो । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उहाँलाई हेटौँडामा रहेकाे हेटौँडा अस्पतालबाट थप उपचारका लागि मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो । 

प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भन्नुभयो, ‘हामीले उहाँको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।‘

बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भन्नुभयो, ‘गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।’

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया