निर्मला हत्या प्रकरणकाे आन्दोलन एनजीओकर्मीले मोडे : कांग्रेस नेतृ संग्रौला

 मंसिर ६, २०७५ बिहिबार १२:३८:३० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको घटनामा एनजीओकर्मीले आन्दोलनलाई मोडेको नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभएको छ । ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेतृ संग्रौलाले बिहिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका नाममा एनजीओ र आईएनजीओले सुरुदेखि घटनालाई अर्कै दिशातर्फ मोड्न खोजेको आरोप लगाउनुभएको हो । 

सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले निर्मला पन्तको घटनामा सरकार संलग्न भएकाले निर्मलाले न्याय नपाएको आरोपसमेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री, गृहमन्त्री र अनुसन्धानमा संलग्न सरकारका निकायले नै घटनालाई ढाकछोप गर्न खोजेको बताउनुभयो । 

‘यो घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ’, कांग्रेस नेतृ संग्रौलाले भन्नुभयो ‘सरकार सिहंदरबार र बालुवाटारमा बसेर अपराधीलाई लुकाउन लागि परेको छ ।’ उहाँले निर्मलाको न्यायका लागि आफूहरुले सदनमा आवाज उठाइरहेको बताउँदै सदन र सडक दुवै तताउन आफू ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानमा निस्किएको बताउनुभयो ।

‘हामी अहिले निर्मलाको न्यायका लागि आम नागरिकलाई आन्दोलनका लागि आह्वान गर्दै एउटा अभियानमा हिँडेका छौ’, उहाँले भन्नुभयो ‘त्यसका लागि सुदूरपश्चिमका सबै जिल्लामा आम नागरिकसँग भेटघाट, छलफल गर्दैछौँ । उहाँहरुलाई फेरि पनि आन्दोलनका लागि आह्वान गर्छौँ ।’ १२ औं दिनदेखि निर्मलाको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका पीडित परिवारसँग एेक्यबद्धता जनाउँदै नेतृ संग्रौलाले निर्मलाको न्यायका लागि सबैले एकपटक फेरि लाग्नुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया