निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

 साउन १४, २०८१ सोमबार १४:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको छ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेपछि संसदीय समितिले उहाँको नाम अनुमोदन नगर्ने तयारी गरेको थियो । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै कृष्णमान प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको र यसबारेमा आजै बेलुका ५ बजे बस्ने समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

आजै नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक बैठक डाकेर प्रधानको नाम अनुमोदन गर्न नहुने निष्कर्ष निकालेका थिए । प्रधानमाथि यौन शोषणको आरोप लागेको र यसबारेको मुद्दामा मिलापत्र गरेको प्रमाणसमेत भएकाले निर्वाचन आयोगको आयुक्त बनाउन योग्य नभएको सांसदहरूको राय छ ।

सुनुवाइ समितिका धेरै सदस्य यौन शोषण मुद्दा पैसा दिएर मिलापत्र गरेका प्रधानको उच्च नैतिक चरित्र नभएको र प्रधानले दिएको जवाफसमेत चित्तबुझ्दो नभएकाले निर्वाचन आयुक्तमा सिफारिश गर्न नहुने पक्षमा छन् ।

संसदीय समितिबाट अस्वीकृत भएपछि आफ्नो नैतिक चरित्रमा थप प्रश्न उठ्ने र कानूनी रूप लिने भएपछि प्रधानले आफैँ नाम फिर्ता लिने बाटो रोज्नुभएको हो । गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया