चालीस अर्बको बजेट ल्याउँदै प्रदेश–३ सरकार, २४ अर्ब भन्दा बढी राजस्व संकलनकाे लक्ष्य

 जेठ २८, २०७५ सोमबार १८:३७:१९ | हरि हुमागाईं

मकवानपुर – तीन नम्बर प्रदेशको सरकारले आउने असार एक गते ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । 

प्रदेशका नयाँ र गर्नुपर्ने खालका विकासका योजनाहरुलाई समेट्दै ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी थालेको हो । संघीय सरकारले प्रदेश सरकारका लागि १६ अर्ब रुपैयाँ पठाउने र यस प्रदेशको राजस्व २४ अर्ब संकलन गर्ने लक्षका साथ ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

राजस्व २४ अर्बभन्दा माथि नै संकलन गर्ने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो–‘अहिले अनुमान गरेर करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागिएको हो । ’

प्रदेशमा मात्र तीस अर्ब भन्दा बढी राजस्व संकलन गर्न सक्ने त्यसका श्रोतहरु प्नि पहिल्याइसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा बढी यातायात कर, ढुङगा, गिट्टी वालुवाको कर, मनोञ्जन कर, घरबहाल कर संकलन गर्ने लक्ष लिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सबैभन्दा बढी महत्वको हेटौंडा काठमाडांैको छोटो दूरीको मार्गलाई अझै छोटो बनाउनका लागि भिमफेदी, कुलेखानी सुरुङमार्ग बनाउने तयारी गरेको छ ।

त्यसलाई बढी प्राथमिकताका साथ बजेट छुट्याएको आर्थिक मामिला मन्त्री ढुंगेलले बताउनुभयो ।

यसैगरी पाँचखाल काठमाण्डौ सुरुङ मार्गका लागि पनि प्रदेश सरकारले बजेट छुट्याएको छ ।

आउँदो बजेटमा यस प्रदेशका १३ वटै जिल्लामा किशानको उत्पादन किशानको हातमा भन्ने नाराका साथ कोल्डस्टोर निर्माण गर्ने सरकारको लक्षका साथ बजेट छुट्याइएको छ । 

अहिले केन्द्रीय सरकार र स्थानीय सरकारले उठाउन नसकेको घरबहाल कर भने प्रदेश सरकारले कडाईका साथ संकलन गर्ने लक्ष लिएको छ । १३ वटै जिल्लामा प्राविधिक शिक्षाबाट नागरिकलाई स्वरोजगार बनाउने तयारी थालिएको छ । 

यसबाहेक विद्युत उत्पादनका क्षेत्रमा, काठमाडांैमा मोनोरेल सञ्चालनका लागि बजेट छुट्याएको बताइएको छ ।

 साथै प्रदेशका १३ वटै जिल्लालाई सडक सञ्जालले जोड्ने लक्षका साथ बजेट ल्याउने तयारी भएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया