विद्यालय शिक्षा : कसरी सुधार्ने गणित, विज्ञान र अङ्ग्रेजीको नतिजा ?

 साउन २४, २०८१ बिहीबार १०:४९:१३ | डा. विद्यानाथ कोइराला
unn.prixa.net

यसपालिको एसईई परीक्षामा ४८ प्रतिशत र कक्षा १२ को परीक्षामा ५३ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् । पहिलेका वर्षहरूमा जस्तै यसपालि पनि गणित, विज्ञान, र अङ्ग्रेजी विषयमा धेरै विद्यार्थी फेल भएका छन् । यसले विद्यालय शिक्षा प्रणालीको कमजोरीलाई उजागर गरेको छ ।

गणित, विज्ञान र अङ्ग्रेजीमा धेरै विद्यार्थी फेल हुनुको मुख्य कारण सिकाउने विधिको कमजोरी हो । विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने शैली नमिल्दा यो अवस्था आएको हो । हरेक विद्यार्थीले बुझेर पढ्ने तरिका फरक–फरक हुन्छ । विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने तरिका फरक छ । कसैले देखेर सिक्छन्, कसैले सुनेर सिक्छन्, कसैले गरेर सिक्छन् । शिक्षकहरूले विद्यार्थीको सिक्ने तरिका बुझेर त्यसअनुसार सिकाउन सकेका छैनन्, जसले गर्दा विद्यार्थीहरू समस्यामा परेका छन् ।

अर्को समस्या शिक्षण विधि परम्परागत र कम प्रभावकारी हुनु हो । गणित, विज्ञान, अङ्ग्रेजी र सामाजिकजस्ता विषयहरूमा शिक्षकहरूले नयाँ र प्रभावकारी विधिहरू अपनाउन सकेका छैनन् । विद्यार्थीहरू प्रविधिबाट सिक्न चाहन्छन्, तर शिक्षकहरू बोर्डमा लेखेर पढाउँछन् । विद्यार्थीहरू घुलमिल हुन र अन्तरक्रिया गर्न रुचाउँछन्, तर शिक्षकहरू किताब पढाउनमा मात्र ध्यान दिन्छन् । प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षण विधिको अभावले गर्दा विद्यार्थीहरू विषयवस्तुमा रुचि लिन सक्दैनन् । परिणामस्वरूप गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयहरूमा बढी समस्या देखियो ।

उदाहरणका लागि मकै भुट्दा किन ठूलो भयो भन्ने कुरा विज्ञान हो भने कति ठूलो भयो भन्ने गणित हो । बाबु आमाको सम्बन्ध, दिदी बहिनी, दाजुभाइको सम्बन्ध, छिमेकी, नातागोता, नेताको सम्बन्ध लगायत समाजमा भएका कुराहरू नै सामाजिक ज्ञान हो । त्यसको अर्थतन्त्रसँगको, राजनीति लगायत समाजका अन्य विषयवस्तुसँगको सम्बन्ध नै सामाजिक शिक्षा हो ।

यी सबै कुराहरूलाई किताबमा समेटिएको हो । गणित विषयमा विद्यार्थीलाई घर नाप्न लगाउने हो, अङ्ग्रेजीमा वस्तु देखाएर सिकाउने हो, सामाजिकमा समाजमै घुलमिल भएर सिकाउने हो । यसरी पढाउन सके विद्यार्थीले सजिलै र चाँडै सिक्न सक्छन् । तर किताब मात्रै पढाउँदा विद्यार्थीहरूले विषयको गहिरो बुझाइमा समस्या हुन्छ । त्यसैले, सही तरिकाले पढाउन नजान्दा नै विद्यार्थीलाई यी विषय गाह्रो भएको हो ।

विद्यार्थीले राम्रो गर्दा त्यसको श्रेय शिक्षकले नै पाउँछन् र असफल हुँदा पनि कारण शिक्षक नै हुन्छन् । शिक्षकले सरल तरिकाले विषयवस्तु बुझाउन असफल हुँदा विद्यार्थीहरूको प्रदर्शन कमजोर हुन्छ । विद्यार्थीलाई परीक्षाको लागि तयारी गर्न स्वतःस्फूर्त गराउनु शिक्षकको महत्त्वपूर्ण जिम्मेवारी हो ।

पढाइ बिग्रनुमा अभिभावकको कुनै दोष हुँदैन । धेरैले आफ्ना बालबालिकालाई राम्रो विद्यालयमा पढाउने विकल्प अपनाउँछन् र केहीले त राम्रो शिक्षा दिनकै लागि बसाइँसराई समेत गर्छन् । विद्यार्थीहरूको पनि कुनै दोष छैन । अतिरिक्त कक्षा लिने लोभमा केही विषयहरूलाई गाह्रो बनाइन्छ, तर पुस्ता फरक भइसकेपछि पढ्ने तरिका पनि फरक हुन्छ । अहिलेको पुस्ताले प्रविधिमा आधारित शिक्षा अपनाउँछ, जबकी हिजोका पुस्ताले किताबमा पढ्थे ।

अहिले हेरेर, खेलेर, र चलेर पढ्ने विधि प्रभावकारी छ । तर यो तरिका अपनाउन नसक्दा गडबड भएको हो । शिक्षकहरूले पनि नयाँ शिक्षण विधि अपनाउन नसक्नु अर्को समस्या हो । शिक्षकहरूले कमजोरीहरू पहिचान गरेर सुधार गर्नुपर्छ । शिक्षकले शिक्षामा आएको परिवर्तनलाई बुझेर परिस्थिति अनुसार बदलाब गर्न जान्नुपर्छ । शिक्षकलाई यो कुरा बुझाउन नसक्नु हामी सबैको कमजोरी हो ।

विद्यार्थीहरूको खराब नतिजाले उनीहरूको मनोवैज्ञानिक र शैक्षिक मात्र होइन, अभिभावकहरूमा सामाजिक र आर्थिक असर र शैक्षिक संस्थाहरूको प्रतिष्ठागत असर पनि पार्छ । यसले समाजमा समग्र शिक्षा प्रणालीप्रतिको विश्वासमा कमी ल्याउँछ । अहिले धेरै विद्यार्थी विदेशिनुको मुख्य कारण पनि यही विश्वासको कमी हो । अभिभावक र समाजले शिक्षाको गुणस्तरबारे सरकार र नेतृत्वमाथि प्रश्न उठाउनुको कारण यही हो । विद्यार्थीहरूलाई स्वदेशमै उचित अवसरहरू देखाउन सक्नुपर्छ, जुन सरकारी नीति तथा शिक्षण विधिमा सुधार हुन सके मात्रै सम्भव देखिन्छ ।

यस्तै पढाउने कला अर्थात् शिक्षण विधि सुधार गर्दा विद्यार्थीहरूको बुझाइ र सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउँछ । प्रभावकारी शिक्षण विधि अपनाउँदा पाठ्यक्रमको कडाइले बाधा पुर्‍याउँदैन, बरु त्यस विधि अपनाएर विद्यार्थीहरूलाई गहिरो रूपमा विषयवस्तु बुझाउन सकिन्छ । जब शिक्षण विधि आकर्षक, अन्तरक्रियात्मक, र व्यावहारिक हुन्छ, विद्यार्थीहरूको रुचि र ध्यान बढ्छ, जसले उनीहरूको शैक्षिक प्रगति राम्रो हुन्छ ।

विद्यार्थीहरूको क्षमता र रुचिअनुसार व्यक्तिगत लक्ष्यहरू निर्धारण गर्नु शिक्षकको जिम्मेवारी हो । शिक्षकले विद्यार्थीहरूको रुचिअनुसारका कार्यहरूमा संलग्न गराउनुपर्नेछ, जसले उनीहरूलाई प्रगति र साना सफलताहरूको आनन्द लिन प्रेरित गर्छ । विद्यार्थीहरूको साना उपलब्धीहरूको प्रशंसा र पुरस्कारले उनीहरूको आत्मविश्वास र प्रेरणा बढाउँछ ।

परियोजना–आधारित सिकाइ, खेल खेल्दै सिकाइ, र समूहमा काम गर्ने जस्ता रचनात्मक विधिहरू अपनाएर विद्यार्थीहरूको रुचि र उत्साह बढाउन सकिन्छ । शिक्षक र विद्यार्थीबीचको स्वस्थ सम्बन्धले यस्तो सिकाइ वातावरणलाई सुधार्छ, जसले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

नेपालको शिक्षा प्रणालीमा सरकारको प्रभाव निर्णायक हुन्छ र परीक्षाको नतिजा नराम्रो हुनुमा सरकारको दोष पनि महत्त्वपूर्ण छ । सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिँदा समस्या उत्पन्न हुन्छ । शिक्षकहरूको कामको उचित मूल्याङ्कन र प्रशंसा गर्नु सरकारको जिम्मेवारी हो ।

एक शिक्षकले गरेको राम्रो कामबाट अर्को शिक्षकले प्रेरणा लिन सिक्न सक्छ, तर प्राविधिक सहयोगको अभावमा शिक्षकहरू नयाँ र प्रभावकारी शिक्षण विधिहरू अपनाउन सक्दैनन् । यसले शिक्षकको सिकाइ र क्षमता विकासमा कमी ल्याउँछ र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा बाधा पुर्‍याउँछ, जसले गर्दा नतिजा कमजोर देखिन्छ । यसको दोष शिक्षकमाथि नै जान्छ, र परिवर्तनको लागि शिक्षक, शिक्षक महासङ्घ, विज्ञ र सहयोगीहरूले ठोस पहल गर्न नसक्दा समस्याहरू जस्ताको तस्तै रहन्छन् । प्रविधिलाई व्यवस्थित गर्दै शिक्षकलाई नयाँ शिक्षण विधिहरूको सुझाव र सल्लाह प्रदान गर्नुपर्ने आवश्यकता छ ।

शिक्षकहरूलाई कसरी पढाउनुपर्छ भन्ने थाहा भए पनि वास्तविक कक्षाकोठामा यो विधि प्रभावकारी रूपमा लागू गर्न चुनौतीपूर्ण हुन्छ, जसका कारण विद्यार्थीहरूले प्रभावकारी सिकाइ अनुभव गर्न सक्दैनन् र नतिजा कमजोर रहन्छ । विद्यार्थीहरूले कसरी पढ्नु पर्छ भन्ने थाहा भए पनि उनीहरूको मानसिकता र प्रेरणामा कमी हुँदा अध्ययनमा ध्यान दिन सक्दैनन् ।

सरकारले शिक्षा नीति बनाउन सक्छ, तर यसको प्रभावकारी कार्यान्वयन कमी देखिन्छ, जसका कारण शिक्षा प्रणालीमा सुधार आउन सक्दैन र नतिजा कमजोर नै रहन्छ । सबै कुरा थाहा हुँदा पनि व्यावहारिक रूपमा लागू भएको छैन ।

शिक्षकहरूलाई नयाँ शिक्षण विधि अपनाउने र प्रविधिसँग जोडिने अवसर प्रदान गर्नु आवश्यक छ । यसका लागि शिक्षकहरूले गरेका उत्कृष्ट कामलाई अन्य शिक्षकहरूले पनि हेर्न र सिक्न सक्ने प्रविधि विकास गर्नुपर्छ । एक शिक्षकले राम्रो काम गर्दा, यसलाई अन्य शिक्षकहरूले अध्ययन र अपनाउन सक्ने व्यवस्था मिलाउनु महत्त्वपूर्ण छ । साथै, शिक्षकहरूको कामको मूल्याङ्कन र प्रशंसा गर्ने व्यवस्था स्थापना गर्नुपर्छ, जसले गर्दा उनीहरूको प्रेरणा र प्रयासलाई प्रोत्साहन दिन सकिन्छ ।

सिकाइ विधि, विद्यार्थीहरूको मानसिकता, नीति कार्यान्वयन र पारिवारिक वातावरणजस्ता विभिन्न कारणहरूले गर्दा सबै कुरा थाहा हुँदा पनि परीक्षा नतिजा सधैँ कमजोर आउँछ । यी समस्याहरूलाई समाधान गर्न सबैको प्रयास आवश्यक छ, जसले शिक्षा प्रणालीलाई सुधार्न र विद्यार्थीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ ।

(शिक्षाविद् डा. विद्यानाथ कोइरालासँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विद्यानाथ कोइराला

डा. काेइराला शिक्षाविद हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया