चक्रपथ विस्तार समयमै शुरू नहुँदा सास्ती खेप्दै स्थानीय (फोटो फ...
भदौ २९, २०८१ शनिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगको सबै तथ्याङ्क र विवरण संसद्को लेखा समितिलाई बुझाएको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सिंहदरबारमा रहेको लेखा समितिको सचिवालयमा तथ्याङ्क र विवरण बुझाउनुभएको छ । प्राधिकरणले झन्डै एक लाख पृष्ठकाे विवरण समितिलाई बुझाएको हो । ‘हामीले एक लाख पृष्ठ हाराहारीको तथ्याङ्क र विवरण लेखा समितिलाई बुझाएका छौँ, अब उहाँहरूले अध्ययन गर्नुहुन्छ होला’, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उज्यालोसँग भन्नुभयो ।
एक लाख पृष्ठको प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयबाट सिंहदरबार लैजान एउटा पिकअप भ्यान बुक गरिएको र त्यो भ्यान प्रतिवेदनले नै भरिएको प्राधिकरणका कर्मचारीले बताएका छन् । प्राधिकरणले बुझाएको तथ्याङ्कमा ६१ वटा उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको सबै विवरण छ ।
उद्योगीहरूले विद्युत् प्राधिकरणले प्रमाणविना नै बक्यौता तोकेको आरोप लगाएपछि लेखा समितिले टीओडी मिटरसहितका विवरण र तथ्याङ्क बुझाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार प्राधिकरणले लेखा समितिलाई आज विवरण पठाएको हो ।
प्राधिकरणले लेखा समितिलाई टीओडी मिटरको प्रोफाइलसहितको सबै तथ्याङ्क, लक सिट, जिल्ला, उच्च र सर्वोच्च अदालतले गरेका ९० वटा मुद्दाको फैसला, प्राधिकरणले जारी गरेका बिल, एम पावर लगायतका विवरण बुझाएको छ ।
एम पावरले विद्युत् खपतको सबै विवरण बताउने प्राधिकरणका एक इन्जिनियरले जानकारी दिएका छन् । यसअघि उद्योगीहरूले ९० वटा मुद्दा अदालतमा दायर गरेकोमा शिवम् सिमेन्ट्स बाहेक लगभग सबै मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएको थियो । यो विवरण पनि प्राधिकरणले लेखा समितिलाई पठाएको छ ।
विद्युत् प्राधिकरणले उद्योगहरूलाई पटक पटक बक्यौता तिर्न आग्रह गरेपनि उनीहरूले अटेरी गर्दै आएका थिए । गएको असार २५ गते प्राधिकरणले झन्डै आठ अर्ब रुपैयाँ बक्यौता बाँकी रहेका आठ वटा उद्योगको बिजुली काटेपछि पछिल्लो विवाद शुरू भएको थियो । प्राधिकरणले लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत् नियमन आयोगले लाइन जोड्न निर्देशन दियो । त्यसपछि प्राधिकरणले लाइन जोडेको छ । यो विषयमा प्रतिनिधिसभाको लेखा समितिले पनि पटक पटक छलफल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।