सिरहाको लहान नजिकैका वनमा पोखरी निर्माण भएपछि वरपर पानीको पुनर्भरण हुन थाल्यो

 भदौ २४, २०८१ सोमबार १५:२९:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

सिरहा – जलवायु परिवर्तनको असरले पानीको सतह गहिरिन थालेपछि पर्यावरणीय सन्तुलन कायम गर्न सिरहाको लहानका स्थानीय बासिन्दा सक्रिय हुन थालेका छन् । पोखरी निर्माण तथा संरक्षणले एकातिर हिउँदमा भूमिगत पानीको पुनर्भरण हुने तथा अर्कोतर्फ पर्यटकीय आगमन हुन गई आयआर्जनमा सघाउ पुग्ने स्थानीयवासी बताउँछन् ।

चुरेको फेदमा पर्ने लहान नगरपालिका–१५ शोभापुरमा दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘हात्तीदह’ लाई पोखरीको रूप दिइएपछि अहिले रमणीयस्थल बन्न पुगेको छ । तीन हेक्टर क्षेत्रफलमा फैलिएको पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पोखरी बनेपछि वरिपरिका बस्तीमा सुक्खायाममा पनि पानीको स्रोत बढेको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो ।

सिमसार क्षेत्रलाई संरक्षण गरी ठूलो क्षेत्रफलमा पोखरी निर्माण गरिएपछि हिउँदमा पनि नजिकैका बस्तीमा भूमिगत पानीको सतह घटेको छैन । पहिला पहिला ५०/६० फिट गहिरो इनार खन्दा पनि पानीको सतह भेटिन छोडेको थियो । तर पोखरी निर्माणपछि ३०/३५ फिटमुनि पानीको स्राेत देखा पर्न थालेको अध्यक्ष चौधरीले बताउनुभयो ।

हिँउदमा पानीको सतह घट्न नदिन आफ्नो सामुदायिक वनभित्र अन्य चार वटा पोखरी निर्माण गरिएका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ हेक्टर क्षेत्रफल ओगटेका पोखरीमा सिञ्चित पानीले नजिकैका भेडियाटोल, मोहनपुर, शोभापुर, बसाजोरी, डाँडाँटोललगायतका बस्तीमा भूमिगत पानीको सतह घट्न पाएको छैन ।

जलवायु परिवर्तनको असर चुरे आसपासका बस्तीमा बढी परेको देखिन्छ । हरेक ठाउँमा पानीका मुहान वर्षेनि सुक्दै गएका छन् । पोखरीले जमिनमा पानीको 'रिचार्ज' को काम गर्दछन् ।

तस्बिर : सुजित कुमारकाे युट्युब च्यानलबाट

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया