चिनी उद्योगले भारतीय किसानको उखु किने, नेपाली किसानको पैसा दिएनन्

 मंसिर १०, २०७५ सोमबार १८:१२:३० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – चिनी उद्योगले बिचौलियाबाट भारतीय किसानको उखु  खरिद गरेकाले  किसानले  बाँकी उखुको भुक्तानी पाउन सकेका छैनन् ।

नेपाल सरकारले किसानलाई अनुदानबापत  दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा  किसानबाट आएको उखु  र बिचौलियाबाट आएको उखु छुट्याउन नसक्दा भुक्तानीमा समस्या परेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले जानकारी दिनुभयो ।

सरकारले किसानलाई अनुदान दिन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा  रकम पठाइसकेको  छ ।  किसानले उत्पादन गरेकोभन्दा बढी उखु मिलले क्रसिङ गरेकाले वास्तविक किसानलाई रकम भुक्तानी गर्न  समस्या परेको  छ ।

नेपालका चिनी कारखानाले गएको वर्ष भारतीय किसानको उखु बिचौलिया मार्फत खरिद बिक्री  गरेका थिए । उद्योगले खरिद गरेको उखुको आधारमा किसानलाई भुक्तानी गर्दै जाँदा बिचौलियालाई फाइदा हुने भएकाले भुक्तानीमा अन्यौल  परेको  नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

एकैजना बिचौलियाले गएको वर्ष  हजारौं क्विन्टल उखु भारतीय किसानसँग खरिद गरेर नेपालका चिनी कारखानालाई बिक्री गरेका थिए । उनहरुले मिल सञ्चालकहरुसँगको मिलेमतोमा भारतीय किसानको उखु खरिद बिक्री गरेका हुन् ।

मिल सञ्चालकहरुले नेपाल–भारत सीमा नाकामा  उखु खरिद गर्न तौल  केन्द्र राखेर उखु किनेका थिए । भारतीय उखु चिनी कारखानाले व्यापक उखु खरिद गरेर  क्रसिङ गरेपछि  त्यसबाट उत्पादन भएको चिनी अझै बिक्री हुन सकेको छैन ।

अहिले सर्लाहीको इन्दुशंकर चिनी कारखानाको गोदाममा  एक लाख ७० हजार क्विन्टल चिनी बिक्री हुन बाँकी रहेकोले गोदाममा ठाउँको अभाव भएको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो।

त्यस्तै महोत्तरीको एभरेष्ट सुगर मिलसँग पनि दुईलाख क्विन्टल चिनी बिक्री हुन बाँकी रहेको कारखानाका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताउनुभयो । त्यस्तै सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले चिनी बिक्री नभएको भन्दै किसानलाई ३५ करोडको हाराहारीमा भुक्तानी दिएको छैन् ।

चिनी उद्योगले भारतीय किसानको उखु खरिद गरेकाले आफूहरुले  बाँकी रकम भुक्तानी नपाएको किसानको भनाई छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया