नवलपरासी – आज बडादशैँको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दशैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानका बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गएको २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किनुभएको छैन । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ ।
विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहनुभएकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिनुभएको छ । ‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन’, गहभरि आँसु पार्दै राजकुमारीले भन्नुभयो, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।’
जेठा छोरा बेपत्ता भएपछि दशैँ खल्लो भएको छ । दशैँ मनाउने उत्साह नभएको उहाँले बताउनुभयो । ‘हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ’, उहाँले भन्नुभयो, ‘गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ । एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन ।’ छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उहाँले बिन्ती गर्नुभयो ।
उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन । ‘हामी बाउछोरा भएर तरकारीखेतीे, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ’, उहाँले भन्नुभयो, ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।’ छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, सङ्घसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।
नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आउनुभएको थियो । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए । ‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दशैँ मनाउनु खै’, मलीन मुद्रामा नन्देले भन्नुभयो, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।’ छोरा घर फर्किएमा सबै खुशी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।