‘असारसम्म त्रिभुवन विमानस्थल फेरिन्छ, भैरहवामा ठूला विमान उड्छन्’

 मंसिर १२, २०७५ बुधबार १३:२६:३१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम चलिरहेको छ । 

झण्डै ११ अर्ब रुपैयाँको लागतमा निर्माण भैरहेको विमानस्थल निर्माणको ५८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । रन वे, पार्किङ, ट्याक्सी वे, एप्रोनलगायतका सबैजसो काम अन्तिम चरणमा पुगेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पनि ठूलो मानिएको विमानस्थल आउँदो जुनदेखि सञ्चालनमा ल्याउने गरी काम भैरहेको आयोजनाले जनाएको छ । यस्तै काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तारको काम पनि भैरहेको छ । यिनै विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

त्रिभुवन विमानस्थल विस्तारको योजना लामो समयदेखि पूरा भएको छैन, अहिले चाहिँ विस्तारको काम के भैरहेको छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा  समस्या देखिएका छन् । यस्तै समस्या कम गर्न विमानस्थल विभिन्न उपाय अनुसार काम भैरहेको छ । त्यसको लागि पहिलो उपाय भनेको विमानस्थलको क्षमता वृद्धि हो । विमानस्थलको ट्याक्सी वे बनाउने, पार्किङ बनाउने, टर्मिनल भवन बनाउनेलगायतका कुरामा हामी लागेका थियौँ ।

तर अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो मानिएको सान्जोेसे कम्पनीले काम नगर्दा हामीले ठेक्का तोड्यौँ । त्यसपछि अहिले टर्मिनल भवन, रनवे र अरु कामको लागि फरक–फरक  तरिकाले ठेक्का आह्वान गरेर काम सुरु गरेका छौँ । यो असार मसान्तसम्म टर्मिनल भवनको विस्तार सम्पन्न भैसक्छ । त्यसपछि अहिले टर्मिनल भवनमा भएको भिडभाड कम हुन्छ ।

त्यस्तै आकाशमा जहाजको चाप कम गर्न एअर स्पेस म्यानेजमेन्टलाई पनि हामीले अघि बढाएका छौं । सँगसँगै स्लट व्यवस्थापनलाई पनि हामी व्यवस्थित गर्दैछौँ । हामीले केही उपाय अपनाइसकेकाले पोहोरको तुलनामा जहाजको संख्या बढे पनि चाप भने कम रहेको छ । 

विमानस्थलको क्षमता विस्तारमा पहिले सान्जोसे कम्पनीले धोका दियो, अहिले धोका हुन्न भन्ने के ग्यारेन्टी छ त  ?

टर्मिनल भवनको धेरै काम सकिइसकेको छ, प्रस्थानको संरचना पूरा भएर आगमनतर्फको काम सुरु भैसकेको छ । रन वे  विस्तारको लागि पनि अहिले काम भैरहेको छ । यो अर्थिक वर्षमा ४० प्रतिशत काम सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने जहाजको लागि छुट्टाछुट्टै पार्किङ वे निर्माण गरिरहेका छौँ ।

असार मसान्तसम्म हामीसँग थप ४ वटा पार्किङ वे आइसक्छन् । त्यसपछि पार्किङको कारण आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । 

भनेपछि आउँदो असारपछि त त्रिभुवन विमानस्थलमा पनि धेरै संरचना पो बन्ने रहेछन् त ?

हो, अहिलेको विमानस्थल र आउँदो असारपछिको विमानस्थल भिन्न हुनेछ । धेरै कुरामा तपाईँले विमानस्थलमा परिवर्तन देख्न पाउनुहुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउनकै लागि भैरहवामा अन्र्राष्ट्रिय विमानस्थल बन्दैछ । आउँदो जुनमा त काम सकिने भन्नुभएको छ, प्रगति के छ ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आउँदो जुन महिनासम्म हामीसँग समय छ । जुनसम्म हामीले विमानस्थलको सबै काम पूरा गर्छौँ ।

विमानस्थलको भौतिक संरचना पूरा हुँदाका बखत हामीले सञ्चालनका लागि पनि अन्य तयारी गर्नुपर्छ । हामीसँग टर्मिनल भवन हुन्छ, रन वे हुन्छ, एप्रोन हुन्छ, ट्याक्सी वे हुन्छ । तर त्यतिले मात्रै विमानस्थल चलाउन सकिन्न, त्यसको लागि आवश्यक अरु उपकरणहरुको लागि पनि हामीले ठेक्का आह्वान गरिसकेका छौँ । र आजभोलि मै ठेक्का खोल्छौँ । यसको मतलब विमानस्थलको भौतिक संरचना तयार हुँदाबित्तिकै अन्य उपकरण जडान गर्नका लागि पनि हामी तयार छौँ । 

यो अहिले पनि सञ्चालनमा आइरहेको विमानस्थल हो । अहिले आन्तरिक उडान भैरहेका छन् । अहिले आन्तरिक जहाजले प्रयोग गर्ने रन वे भविष्यमा हामीले ट्याक्सी वे को रुपमा प्रयोग गर्दैछौं ।

तर यो रन वेले ट्याक्सी वे को लागि नधान्न सक्छ । त्यसैले आउँदो फागुनसम्म अन्तर्राष्ट्रिय विमानस्थलकै रन वे पूरा हुन्छ, फागुनदेखि अन्तर्राष्ट्रिय धावनमार्गमा आन्तरिक जहाजलाई उडान अवतरण गराइने छ र अहिले भैरहेको आन्तरिक धावनमार्गलाई स्तरोन्नति गरेर ट्याक्सी वेको रुपमा विस्तार गरिनेछ । त्यसैले कुनै पनि दिन आन्तरिक उडान बन्द नहुनेगरी हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गरिरहेका छौँ । 

तपाईँहरुले निर्माण कम्पनीलाई जुन महिनासम्म काम सक्न दबाब मात्रै दिएको हो या आउँदो जुनमा विमानस्थलको काम ठ्याक्कै सकिन्छ भन्ने ग्यारेन्टी नै छ ?

मैले फेरि पनि भन्छु, हामीसँग भएको म्याद भनेको जुन महिनासम्मको मात्रै हो । जुन महिनामा जुनसुकै हालतमा पनि भौतिक संरचना निर्माणको काम सक्नेगरी हामी अघि बढिसकेका छौँ । संरचना निर्माण अन्तरगत  रन वे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन, टावर, अग्नी नियन्त्रण भवनलगायतका सबै संरचना विमानस्थल परियोजनाको ७० प्रतिशत काम मात्रै हो ।

यो अन्तर्गतका संरचनाको काम ५८ प्रतिशत पूरा भैसकेका छन् । संरचनाको काम पूरा नहोला भन्ने शंका नै छैन, उपकरण जडानका लागि पनि ठेक्का एक दुई दिनमै खोलिन्छ, जुनमा सबै काम पूरा हुन्छ । 

सँगसँगै अन्य सरकारी कार्यालयहरु पनि स्थापना गर्नुपर्छ, त्यसका लागि तयारी के छ ?

भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुरक्षा पोष्ट, हुलाकलगायतका निकाय स्थापनाका लागि पनि हामीले सम्बन्धित ठाउँमा पत्राचार गरिसकेका छौँ । त्यस्तै यात्रुको सहजताका लागि पैसा साटने ठाउँदेखि, क्याटेरिङसम्मको लागि पनि हामीले योजना बनाइसकेका छौँ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जे जति सुविधा छन्, भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान भएको दिन ती सबै सुविधा आवश्यक पर्छन् । त्यसैलाई ध्यानमा राखेर हामीले योजना र निर्देशनको काम गरिरहेका छौँ । 

तपाईँले निकै उत्साहित कुरा गर्नुभयो, आउँदो जुन महिनादेखि भैरहवा विमानस्थलबाट कस्ता खालका विमान उड्न सक्छन् ?

भैरहवाको रन वेको सुविधा काठमाडौंका भन्दा बढी सुविधासम्पन्न हो । भैरहवामा २ सय मिटरको मात्रै भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सक्नेगरी उपकरण जडानको तयारी भैरहेको छ । त्यहाँ काठमाडौंमा भन्दा पनि ठूलो क्षमताका जहाज अवतरण गर्न सकिन्छ ।  

काठमाडौंमा हामीले भौगोलिक कारणले गर्दाखेरी एयरबस ३३०/२०० सिरिजका जहाज मात्रै जहाज अवतरण गर्न सकेका छौँ । तर भैरहवामा भने बोइङ ७४७ सिरिजका जहाज पनि अवतरण गर्न सकिन्छ ।  यस्तै एयरबस ३३० सिरिजका जहाज पनि त्यहाँ अवतरण गर्न सकिनेछ । नागरिकले बुझ्नेगरी भन्नुपर्दा काठमाडौंको जुन क्षमता छ, भैरहवाको क्षमता त्योभन्दा पनि धेरै हो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जुनमै सकिने र अन्तर्राष्ट्रिय उडान र अवतरण गर्न सकिने भन्नुभयो । तर अहिलेसम्म विमानस्थल कस्ले चलाउने भन्ने टुंगो त लागेको छैन नि ?

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर (गभर्मेन्ट टु गभर्मेन्ट)जी टु जी सम्झौताका लागि गृहकार्य गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ ।  यस्तै अन्तर्राष्ट्रिय वित्त कम्पनीको परामर्श सेवामा अन्तर्राष्ट्रिय निजी क्षेत्रबाट प्रस्ताव आह्वान गर्न बाटो खुला गरिदिएको छ । 

आउँदो जुनमै गौतम बुद्ध विमानस्थल सञ्चालन नै गर्ने तयारी गरेर  प्राधिकरणले सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर जी टु जी सम्झौताको लागि गृहकार्य गरिसकेको छ । तर आउँदो जुन महिनासम्म पनि अर्थ मन्त्रालयले दिएका दुईवटै विकल्प अनुसारका कम्पनी नेपाल आउन नसकेमा विमानस्थल आफैले चलाउने योजना बनाएको छ  ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि हामीले नै चलाइरहेका छौँ र त्यो क्षमता हामीमा छ,  त्यसैले विदेशी कम्पनी नआएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हामीले नै चलाउने गरी तयारी पनि गरिहेका छौँ । विदेशी कम्पनी नआएमा, कतै अवरोध भएमा तयार भएको विमानस्थल खाली राखेर बस्न हामी सक्दैनौँ, क्यानले नै विमानस्थल चलाउँछ ।

अहिले त्रिभुवन विमानस्थल चलाउन त तपाईँहरुलाई गाह्रो भएको छ, भैरहवा पनि सञ्चालन गर्दा झनै समस्या होला, अनि त्रिभुवन विमानस्थलको जस्तै भद्रगोल हुने डर पनि त हुन्छ नि ?

तपाईँले ठिकै भन्नुभयो, त्रिभुवन विमानस्थल हामीले चस्त ढंगले चलाउन सकेका छैनौँ । यात्रु सुरक्षा र राम्रो व्यवस्थापन गर्न नसकेमा विमानस्थल दीगो हिसाबले चल्न सक्दैन । त्यसैले सरकारी निजी साझेदारीमा काम गरेर पनि राम्रो व्यवस्थापनसहित विमानस्थल चलाउन दिन सकिन्छ । त्यसैले हामीले बनाएको विमानस्थल सरकारी निजी साझेदारी या सरकारी–सरकारी कम्पनीविचको सम्झौताका आधारमा राम्रो व्यवस्थापन गर्न सकिन्छ । तर तत्कालै अरु कम्पनी आएनन् भने हामी पनि तयार र सक्षम छौँ भनेको हो मैले । 

भैरहवापछि पोखरातर्फ लागौँ, पोखरा विमानस्थल निर्माणको अवस्था के छ ?

पहिला त म पोखरा विमानस्थलमा भैरहेका हल्लाबारे खण्डन गर्न चाहन्छु । त्यहाँ ठूला विमान बस्न सक्दैनन् भनेर हल्ला भएको पनि पाइयो । तर विमानस्थल बनाउनुअघि नै कत्रा विमान उडान अवतरण गर्न सकिन्छ भन्ने टुंगो लाग्छ । पोखरामा पनि २ सय यात्रु बोकेर ८ घण्टासम्म उड्ने विमानले सजिलै उडान र अवतरण गर्न सक्छन् । 

विमानस्थलको काम अहिले तीव्र रुपले अघि बढिरहेको छ । सन् २०२१ भित्र काम सक्ने तालिकासहित काम अघि बढिरहेको छ । यो विमानस्थल निर्माणका लागि समय र रकम तलमाथि हुँदैन । तोकिएकै समयमा काम पूरा हुन्छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया