‘पहिले सरकारले काम गरेर देखाओस्, अनि विश्वास गरौँला’

 मंसिर १३, २०७५ बिहिबार १३:४६:४७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सरकारले श्रमिकको हितको लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । रोजगारदाता र श्रमिकले समेत यसलाई सरकारको ऐतिहासिक र लोकप्रिय कार्यक्रम भन्दै प्रशंसा गरेका छन् । तर कतिपयलाई यो योजना कार्यान्वयन हुनेमा आशंका छ ।

३६ वर्षदेखि पाटन औद्योगिक क्षेत्रमा काम गर्दै आउनुभएका इन्द्रबहादुर केसी भन्नुहुन्छ, ‘जीवनमा यस्ता भाषणहरु कति सुनें कति, तर यस अवधिमा तलब अढाई सय रुपैयाँबाट बढेर १४ हजार रुपैयाँ पुग्यो अरु कुनै काम भएन ।’

धापाखेलका केसी ३६ वर्षदेखि एउटै कम्पनीमा काम गरिरहनुभएको छ । उहाँले वि.सं. २०३९ सालदेखि पाटन औद्योगिक क्षेत्रभित्र देव आलमुनियम कम्पनीमा काम गर्न थाल्नुभएको हो । उहाँ फलामको चुल्हो बनाउने तथा वेल्डिङको काम गर्नुहुन्छ । सुरुमा उहाँले महिनाको २ सय ६० रुपैयाँमा काम गर्नुभएको थियो । अहिले तलब बढेर १३ हजार ४ सय ५० रुपैयाँ मात्र पुगेको छ ।

‘सरकारले १५ वर्ष सेवा गरेको आधारमा पेन्सन दिने भनेको छ, यो राम्रो कुरा हो । तर ४० वर्षसम्म एउटै कम्पनीमा काम गरेकाहरुलाई के व्यवस्था छ ?’ उहाँले भन्नुभयो, ‘त्यही छाड्ने बेलामा एक, डेढलाख रुपैयाँ दिने होला, त्यसले के हुन्छ ? एक वर्षको खर्च पनि पुग्दैन, पछि के भोकै मर्ने ? कि त सरकाले पनि यति वर्ष काटेकोलाई यति उपदान भनेर किटान गरी दिनुपर्‍याे ।’

पोखराकी माया तामाङ पनि १५ वर्षदेखि देव आलमुनियम कम्पनीमै काम गर्दै आउनुभएको छ । उहाँ कम्पनीमा चौकीदारीको काम गर्नुहुन्छ । उहाँलाई सरकारले के सुविधा दिन लागेको छ भन्ने त थाहा छैन, तर भन्नुहुन्छ, ‘पहिले काम गरेर देखाओस् अनि मात्र हामीले विश्वास गर्ने हो । तर भनेको अनुसार गरिदियो भने हुन्थ्यो । सरकारले तोकेका सबै नियम कम्पनीले पनि कहाँ मानेको हुन्छ र ?’ 

उहाँले आशावादी हुँदै भन्नुभयो, ‘तर गरिदियो भने त हुन्थ्यो नि, बालबच्चा पढाउनुपर्छ, महंगी यस्तो छ ।’ 

उहाँ कम्पनीको स्थायी कर्मचारीको रुपमा हुनुहुन्छ । उहाँको श्रीमानले पनि पहिले यही कम्पनीमा काम गर्नुुहुन्थ्यो । तर अहिले श्रीमान पोखरामा काम गर्नुहुन्छ । ‘दुवै बुढाबुढी एउटै कम्पनीमा काम गर्न चाहन्छौं तर कुरा नै मिल्दैन’ उहाँले भन्नुभयो, ‘मलाई यहाँको हाकिमले जान दिंदैन, बुढालाई यहाँ काम पनि दिंदैन, अहिले कामदार नै चाहिएको छैन भन्छ ।’ 

धरानका हस्त रसाइलीले पाटन औद्योगिक क्षेत्रमा काम गर्न थालेको झण्डै ६ वर्ष भयो । उहाँ बराह गहना फ्याक्ट्रीमा काम गर्नुहुन्छ । ‘दुःख–सुख गरेर खान पुगेको छ । स्थायी तलब छैन, महिनाको जति काम गर्यो त्यति नै कमाई हुने हो । सुन कम्पनीमा काम गर्ने भनेपनि हालत भने भिखारीको जस्तै छ’ उहाँले भन्नुभयो, ‘महिनाको १०/१२ हजार जति कमाई हुन्छ । ६ हजार कोठा भाडा नै छ, के खाने के बचाउने ?’ 

उहाँ कम्पनीमा नौगेडी तयार गर्ने काम गर्नुहुन्छ । एक तोलाको एउटा नौगेडी बनाएको एक हजार रुपैयाँ जति कमाई हुन्छ । दुई दिन काम पायो भने अर्को दुई दिन घरमा बस्नुपर्ने हुन्छ । दिनहुँ काम नपाउँदा कम्पनीको स्थायी कर्मचारी हुन नपाएको उहाँ दुखेसो पोख्नुहुन्छ । सरकारले श्रमिकलाई पेन्सन दिने काम भन्दा पनि पहिले बेरोजगारलाई क्षमता अनुसारको काम दियो भने राम्रो हुने उहाँको धारणा छ । 

‘परिवारमा चार जना सदस्य छन्, छ हजार रुपैयाँ त कोठा भाडा नै छ । अब यता बसेर केही होला जस्तो छैन । गाउँमै गएर केही गर्नुपर्छ भन्ने लागेको छ ।’ ५५ वर्षीय रसाइलीले भन्नुभयो ।

ललितपुरका ५० वर्षीय शैलेन्द्र रघुवंशी नेस्नल स्ट्रक्चर एण्ड इन्जिनियर प्रालिमा फलाम मिस्त्रीको काम गर्नुहुन्छ । ‘खुला बजारमा सामान्य मिस्त्रीले पनि महिनामा ३० हजार रुपैयाँ जति कमाउँछ । तर यहाँ हेड मिस्त्रीको महिनाभरको कमाई १५ देखि २० हजार रुपैयाँसम्म मात्रै छ’ उहाँले भन्नुभयो । मजदुरलाई गरिखानको लागि न्यूनतम तलब पनि नभएको उहाँको गुनासो छ ।

यति धेरै मेहनत गर्ने मजदुरले राम्रोसँग परिवार पनि पाल्न नसक्ने अवस्था भएको बेला सबैभन्दा पहिले तलब बढाउनुुपर्ने उहाँको माग छ । ‘कम्पनीले श्रमिकको क्षमताअनुसार तलब नदिंदा श्रमिकहरु रुष्ट हुन्छन् । अहिले यस्तै अवस्था छ । त्यही भएर कामदारहरु काम छोडेर विदेशतिर जाँदैछन्’, उहाँले भन्नभयो, ‘सरकारले कारखानाभित्र पसेर हेर्दैन । यहाँ कति श्रम शोषण हुन्छ भन्ने कुरा । यस्तै हुने हो भने नेपालमा उद्योगहरु बन्द हुनेछन् ।’

मकवानपुरकी शान्ति लामाले कपडा उद्योगमा काम गर्न थालेको १८ वर्ष भइसकेको छ । उहाँ पाटन आद्यौगिक क्षेत्रभित्रको श्री टेक्सटाइल प्रालिमा काम गर्नुहुन्छ । तर उहाँ कम्पनीको स्थायी कर्मचारी बन्न सक्नुभएको छैन । यसमा सरकारको ध्यान जाओस् भन्ने उहाँको माग छ । ‘नियम बनाउनेहरुलाई त के थाहा हुन्छ र हामीहरुको मर्का ?’ उहाँले भन्नुभयो, ‘एक वर्ष अगाडि आउनेहरु स्थायी भैसकेका छन् । तर हामीलाई १८ वर्ष हुँदा पनि स्थायी बनाएको छैन ।’

उहाँजस्तै टेक्सटाइल प्रालिमा लामो समयदेखि काम गर्ने जगत राईलाई पनि अस्थायी भएर बस्नुपर्दा चित्त बुझेको छैन । ‘मेसिन चलाउने काम गर्नेहरुलाई स्थायी नबनाउने कम्पनीको नीति हुनसक्छ’ राईले बताउनुभयो, ‘हामीले जति पहल गर्दा पनि भएन । स्थायी नबन्दा कम्पनीका अन्य सेवा सुविधा भोग्न पनि पाईंदैन ।’ 
 

अन्तिम अपडेट: चैत १५, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया