काभा भलिबल क्लब च्याम्पियनशिप : उपाधिका लागि हेल्प नेपाल र भा...
मंसिर २८, २०८१ शनिबार
बाकु (अजरबैजान) – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फारिद तरुव अहमदोभले स्वागत गर्नुभएको थियो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताउनुभयो । पाैडेलले यस सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभएकाे उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
न्यायमन्त्री अहमदोभले यस सम्मेलनको मुख्य विषय नै जलवायु परिवर्तन भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । उहाँले अजरबैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुक्न थालेको बताउनुभएको थियो ।
आजदेखि शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुग्नुभएको हो । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ तथा सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।
कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलन आउँदाे मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।