राउटेकाे जनसङ्ख्या १ सय ३५ जनामा झर्‍याे, साढे दुई वर्षमा २ जना बालबालिका जन्मिए

 कात्तिक २६, २०८१ सोमबार १८:११:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको जनसङ्ख्या घटेर अहिले एक सय ३५ जनामा झरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आफ्नो बाजेको पालामा झन्डै सात सय रहेको राउटेको सङ्ख्या अहिले एक सय ३५ जनामा झरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । पछिल्ला वर्षहरूमा सरकारले राउटेका लागि भत्तासँगै विभिन्न सुविधाहरू दिए पनि सङ्ख्या बढ्नुको साटो झनै घटिरहेको छ ।

अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको शाहीले बताउनुभयो । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा दुई जना बालबालिका जन्मिएका छन् । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।

राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको सङ्ख्या घटिरहेको बताउनुहुन्छ । उहाँका अनुसार राउटेभित्र तीन वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।

यस्तै श्रीमानकाे मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले २३ जना एकल महिला छन् । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका थापाले बताउनुभयो ।

पछिल्लो समय जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ । सरकारले दिएको भत्ता धेरैजसो जाँड–रक्सीमा खर्च भएको पाइएको थापाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया