सरकारी कामकाजमा ‘लिम्बू भाषा’

 मंसिर १४, २०७५ शुक्रबार ९:२८:३० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा आएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ ले सरकारी कामकाजी भाषाको रुपमा देशमै पहिलो पटक ‘लिम्बू भाषा’ लाई कार्यान्वयनमा ल्याएको हो । 

लिम्बु बाहुल्यताका आधारमा वडामा कामकाजी भाषाको रुपमा ‘लिम्बू भाषा’ को शुभारम्भ गरेको वडाध्यक्ष नरेन्द्र राईले बताउनु भयो । 

लिम्बू समुदायको बाहुल्यता रहेकाले स्थानीय भाषाको सम्मान गर्दै लिम्बु भाषालाईसमेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । गएको १५ कात्तिकमा बसेको बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको वडाकार्यलयले जनाएको छ । 

वडाकार्यलयले तत्काल लिम्बू भाषा जानकार स्थानीय पाँच जना स्वयमसेवकबाट सहयोग लिने तयारी गरेको छ । त्यसका लागि स्वयमसेवक समिति समेत गठन भइसकेको छ । समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयमसेवकको भूमिका निर्वाह गर्नेछ ।

यसैक्रममा गाउँपालिकाले सरकारी कार्यालयका बोर्डमा तीन भाषा र लिपीको प्रयोग सुरु गरेको छ । गाउँसभाले पारित गरेको त्रैभाषिक नीति अनुसार अन्तर्राष्ट्रिय भाषा अंग्रेजी, राष्ट्रिय भाषा नेपाली र स्थानीय भाषा लिम्बूमा साइन बोर्ड राख्ने अभियान सुरु गरेको छ  । अभियानका सुरुवात वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा बोर्ड राखेर गरीएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया