प्रदिप भट्टराईले अनमोलको चलचित्र निर्देशन गर्दै

 मंसिर १५, २०७५ शनिबार ६:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेता अनमोल केसी यतिबेला झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को छायाकंनमा व्यस्त छन् । 

यसअघि अनमोलले अभिनय गरेका चलचित्र एकपछि अर्को सुपरहिट बनेका छन् । उनले अभिनय गरको चलचित्र क्याप्टेन पनि रिलिज हुने तयारीमा छ । उनको चलचित्र क्याप्टेन फागुन १७ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ । 

उनी एउटा चलचित्रमा अभिनय गरेबापत ५० लाख रुपैयाँ लिने गरेको चलचित्र नगरीमा चर्चा छ । पछिल्लो समय अनमोल केसीलाई चलचित्रमा अभिनय गराउन सके मात्र पनि चलचित्र सफल हुने निर्देशक निर्माताहरुको बुझाई छ । यसकारण पनि अनमोल केसीलाई चलचित्र मालिन तछाडमछाड हुने गरेको छ । 

अनमोल पनि एकपछि अर्को चलचित्रमा व्यस्त छन् । ‘ए मेरो हजुर ३’ पछि निर्माता तथा निर्देशक मिलन चाम्सले निर्माण गर्न लागेको चलचित्र व्याचलर बन्टीमा काम गर्ने पक्का भइसकेको बताइएको छ । मिलन चाम्स पनि यति बेला चलचित्र ‘वीर विक्रम २’ को छायाकंनमा व्यस्त छन् ।

‘वीर विक्रम २’ पछि उनले अनमोललाई लिएर चलचित्र ‘ब्याचलर बन्टी’को निर्माणमा लाग्ने यसअघि नै निर्देशक चाम्सले उद्घोष गरिसकेका छन् । अनमोल बलिउड प्रोजेक्ट पनि गर्ने तयारीमा रहेको बताइएको छ । त्यसका निम्ति उनले भारतीय टिमले निर्माण गर्ने एक बलिउड चलचित्रमा लिखित सम्झौता नै गरिसकेको बताइएको छ ।

उनी एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गइरहेका बेला सुपरस्टार नायक भुवन केसीले पनि चलचित्र निर्माण गर्न तयारी सुरु गरेको बताइएको छ । उक्त चलचित्र निर्देशन गर्नका निम्ति निर्देशक प्रदिप भट्टराईलाई अफर गरिएको कुरा यतिबेला चलचित्र नगरीमा चर्चामा छ ।

निर्देशक प्रदिप यतिबेला चलचित्र जात्रै जात्रामा व्यस्त छन् । मुख्य कुरा त के छ भने हाल सार्वजनिक गरिएको मिति हेरफेर नहुने हो भने प्रदिपले निर्देशन गर्दै गरेको चलचित्र जात्रै जात्रा र अनमोल केसी अभिनित चलचित्र क्याप्टेन एकै दिनबाट प्रदर्शनमा आउने तयारीमा छन् । चलचित्र नगरीमा यो कुराले झनै चर्चा पाइरहेको छ । 

निर्देशक प्रदिप ‘जात्रै जात्रा’ मा व्यस्त भएका कारण अहिले यो कुरा अघि बढ्न नसके पनि निर्माता भुवन केसी भने उनलाई नै निर्देशनको जिम्मा दिनमा ढुक्क रहेको स्रोत बताउछ । यता प्रदिप पनि भुवनले गरेको उक्त प्रस्तावमा सकारात्मक रहेको बताइएको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया