प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण : अध्यक्ष रेग्मी

 मंसिर २७, २०८१ बिहीबार १५:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगले कर्मचारी नियुक्ति सिफारिशमा लोक सेवा आयोगको आधार र मापदण्ड पूरा नगरेकोले काम कारबाही जोखिमपूर्ण रहेको बताउनुभयो । प्रदेश लोक सेवा आयोगहरूले अहिलेसम्म लिएका परीक्षा प्रणाली, नियुक्ति र सिफारिशलाई मूल्याङ्कन गर्दा सबै शङ्काको घेरामा रहेको उहाँले बताउनुभयो ।

स्पष्ट आधार र मापदण्ड नअपनाई गरेको परीक्षा, नियुक्ति र सिफारिश गरेमा लोक सेवा आयोग आधार र मापदण्ड निर्धारण ऐन २०७५ दफा ११ को उपदफा ४ अनुसार बदर हुनसक्ने अध्यक्ष माधव रेग्मीको चेतावनी छ । कानूनअनुसार नियुक्ति बदर भए त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट व्यवस्था नरहेको उहाँको भनाइ छ ।

समितिको बैठकमा अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगको पदाधिकारी नियुक्ति पनि त्रुटिपूर्ण रहेको उल्लेख गर्नुभयाे । उहाँले मधेश प्रदेश लोक सेवा आयोगको उदाहरण दिँदै उपसचिवसरहको सरकारी सेवाबाट अवकाश भएको व्यक्तिको अध्यक्षतामा सहसचिवको परीक्षा लिने अवस्था आएको बताउनुभयो ।

रेग्मीले लोक सेवा आयोगको अहिलेको संरचनाबाट नै प्रदेश र पालिकालाई आवश्यक जनशक्ति व्यवस्थापन गर्न सकिने अवस्था रहेको बताउनुभयो । लोक सेवा आयोगको प्रदेशस्तरीय संरचना रहेको र प्रदेश लोक सेवा आयोग पनि रहेको अवस्थामा कतिपय काममा दोहोरोपन आउने र सेवाग्राही मर्कामा पर्नसक्ने उहाँले तर्क गर्नुभयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया