पूर्वबाट सुरु भएकाे नेपथ्यकाे स‌ंगीत यात्रा सुदूरपश्चिमकाे धनगढीमा सम्पन्न

 मंसिर १५, २०७५ शनिबार १५:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपथ्यको सांगीतिक यात्रा एकताको सन्देश दिँदै बिहीबार बेलुकी धनगढीको मैदानमा सम्पन्न भएको छ ।

पूर्वको बिर्तामोडबाट मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो ।

‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु ।’

२०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान अन्तर्गत ब्याण्ड यहाँ उपस्थित भएको थियो । त्यतिबेला आतंकमा बाँचेको सिंगो समाजलाई संगीतका माध्यमबाट थोरै भएपनि राहत दिने उद्देश्यका साथ त्यो अभियान चलाइएको थियो ।

धनगढी रंगशाला प्रांगणमा जम्मा भएका दर्शकहरुमा सँधैजस्तै विविधता देखिन्थ्यो ।

तिनै मध्येकी एक थिइन् विमला विष्ट । आठवर्षे छोरा र तीन वर्षीया छोरी साथैमा लिएर आएकी विमलाको निम्ति भने यो नेपथ्यको पहिलो कार्यक्रम थिएन ।

यसभन्दा अघिल्लोपटक २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रामा संलग्न भइ नेपथ्य धनगढीमा प्रस्तुत हुँदा उनी दस कक्षामा अध्ययनरत छात्रा थिइन् । उनी पढ्ने त्रिनगर विद्यालयमा नै त्यो कार्यक्रमको आयोजना भएको थियो ।

‘द्वन्दकालको त्योबेला साँझपख भेला हुन त परको कुरा हिँडडुल गर्न पनि डरमर्दो थियो,’ उनले भनिन्, ‘आज चाहिँ म साना केटाकेटीसमेत साथमा लिएर यसरी रातिको कार्यक्रम हेर्न सक्ने भएकी छु ।’

पौने छ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट सुरु भएकाे कार्यक्रम नेपथ्यले लगातार दुइ घन्टासम्म प्रस्तुति दिएपछि सधैं झैं कालजयी गीत ‘रातो र चन्द्रसूर्य’बाट अन्त्य भएको थियो । 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया