‘हामी त सक्षम छौं, सरकार र समाज हामीजस्ता भएनन्’

 मंसिर १७, २०७५ सोमबार १२:५:५९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सोमबार अन्तराष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । क्षमता भए पनि दुर्व्यवहार र अपहेलनाका कारण अपाङ्गता भएका व्यक्तिलाई समाजमा काम गर्न अहिले पनि गाह्रो छ । तर विभिन्न कारणले अपाङ्गता भए पनि साहस जुटाएर निरन्तर काममा लागिरहेकाहरु भने अरुजस्तै सक्षम भएर जीवनयापन गरिरहेका छन् । 

सामाजिक कामदेखि खेलकुद क्षेत्रसम्मका व्यक्तिहरुले फरक क्षमताबाटै आफूलाई उदाहरणीय बनाइरहेका छन । उनीहरुमध्ये केहीको विचार :

अपाङ्गता हुनु भनेको जीवनको नयाँ सुरुवात पनि हो
लक्ष्मी घिमिरे, रामेछाप 

साथीहरुसँग लहैलहैमा लागेर घर नजिकैको भिरमा घाँस काट्न गएको थिएँ । चिप्लिएर भीरबाट लडेछु । एक महिना पछि छाउनी अस्पतालको बेडमा होश खुल्यो । आफूलाई एक्कासी अस्पतालमा पाएर अचम्म लाग्यो । मलाई के भएको भनेर बुवासँग सोध्दा सञ्चो नभएर अस्पताल ल्याउनुपरेको भन्नुभयो । यो वि.सं. २०६६ सालको कुरा थियो । त्यतिबेला म एसएलसी दिएर ११ कक्षा पढ्न सुरु गर्दै थिएँ ।

भीरबाट खस्दा स्पाइनल कर्ड नै भाँचिएछ, जसले गर्दा मेरा दुईटै खुट्टा नचल्ने भएका थिए । एक वर्षसम्म अस्पताल राखेपछि डिस्चार्ज भयो । त्यसपछि म ह्विलचियरको सहारामा चल्ने भएँ । आफन्तको सल्लाहमा मलाई नवजीवन केन्द्रमा ल्याइयो । त्यहाँ म एकहप्ता पनि बस्न सकिन । जीवनमा पहिलो पटक परिवारभन्दा टाढा बस्नु र त्यही माथि त्यस्तो अवस्थामा, मलाई एकदमै छटपटी हुन थाल्यो । 

साँगामा स्पाईनल कर्ड इन्जुरी रिह्याबिलेसन सेन्टरमा एक महिना बसें । त्यसपछि कीर्तिपुरमा एक संस्थाको तर्फबाट ६ महिनाजति कम्प्युटर सिक्ने मौका मिल्यो । पछि बुवाआमासँगै म जोरपाटी बस्न थालें । त्यहाँको चामुण्डा कलेजमा कक्षा ११ मा भर्ना भएँ । कलेजको वातावरण र शिक्षकहरु अपाङ्गमैत्री हुनुहुन्थ्यो । जसले गर्दा मलाई पढाई गर्न सजिलो हुन्थ्यो, १२ कक्षा राम्रैसँग कट्यो । 

त्यही क्रममा मैले बास्केटबल पनि सिक्ने मौका पाएँ । स्नातक पद्मकन्या क्याम्पसबाट सकाएँ । क्याम्पस पढ्दै गर्दा पनि म जागिर गर्थेँ । आफूमा क्षमता छ भनेपछि परनिर्भर हुनुहुँदैन भन्ने भावनाले मलाई सधैं उर्जाशिल बनाईरह्यो । 

केही पहिले काठमाडौंमा एसियाली अपाङ्गमैत्री बास्केटबल प्रतियोगिता भएको थियो । त्यसमा हाम्रो टिम विजयी भएको थियो । म पावर लिफटिङ पनि गर्छु । यो खेलको लागि म दुबई पनि पुगें । विजेता बन्न नसके पनि नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको छ । त्यतिबेला कुनै तयारी पनि थिएन, अब यसैमा आफूलाई अब्बल बनाउने प्रयास गर्दैछु । 

अहिले म विवेकशिल साझाको अफिसमा नयाँ सदस्यहरुलाई काउन्सिलिङ गर्ने काम गरिरहेकी छु । अफिस सकेपछि जिम क्लब जान्छु । त्यहाँ यसको अभ्यास गर्छु । भविष्यमा खेलकुदमा नै केही गर्छु भन्ने सोचेको छु । 

मेरो बुवाआमा र परिवारको सपोर्टले नै आज म यहाँसम्म छु । अपाङ्गता भएका व्यक्तिलाई सर्वप्रथम त परिवारबाट नै माया, हौसला र प्रेरणा मिल्नुपर्छ । त्यसपछि मनमा गर्छु भन्ने अठोट र साहस भएपछि अपाङ्गता हुनुले केही असर पार्दैन भन्ने लाग्छ । सायद सपाङ्ग नै भएको भए मेरा अरु दिदीहरुजस्तै पढेलेखेर जागिर खान्थेँ र बिहे गर्थेँ होला । मेरो दृष्टिकोणमा अपाङ्गता हुनु भनेको जीवन वर्वाद हुनु नभएर जीवनको नयाँ सुरुवात हो भन्ने लाग्छ ।

सडकमा गीत गाएर गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य होस्
लीला दाहाल, झापा 

म जन्मेदेखि नै आँखा देख्दिनँ । अलि बुझने भएपछि मनमा लाग्न थाल्यो, सधैं बुवा आमाको बोझ भएर कतिसम्म बाँच्ने ? आफैं कमाउनुपर्छ र आफैँ बाँच्न सिक्नुपर्छ भनेर म सडक तथा विभिन्न कार्यक्रममा गीत गाउन लागें । त्यही क्रममा लमजुङका विष्णु परियारसँग मेरो भेट भयो ।

दुबैजना दृष्टिविहीन भएपछि मन पनि मिल्यो । हामीहरुले ६ वर्षअघि बिहे गर्यौं । एक छोरा छ, एक कक्षामा पढ्न थालिसक्यो । तर पनि घर परिवारले हामीहरुको विवाहलाई स्वीकार गरेकोे छैन । 

जात मिलेन भन्छ । यसमा परिवारको मात्र नभएर समाजको नै हात हुन्छ जस्तो मलाई लाग्छ । हामीभन्दा त समाजका मान्छेहरु नै अन्धा छन् जस्तो लाग्छ । मान्छे भएपछि मान्छेको भावना बुझ्न नसक्ने कसरी मान्छे भन्न लायक हुन्छ र ? सरकारले केही  गरिदिओस भन्नु बेकार हो । गफ मात्र गरेको सुनिन्छ, काम गर्ने केही होइन । नयाँ नेपालमा मजस्ता दृष्टिविहीनहरुलाई सडकमा यसरी नै गीत गाएर गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य होस् भन्ने लाग्छ । 

अपाङ्गता भएकालाई अरुले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयास गरेको छु
यमनाथ मैनाली, झापा

वि.सं.२०६८ सालतिरको कुरा हो, त्यतबेला म एमएससी दोस्रो वर्षमा पढ्दै थिएँ । स्कुल खोल्नको लागि त्यसको प्रचारपसारमा लागेको थिएँ । बिजुलीको पोलमा स्कुलको ब्यानर झुण्याउन खोज्दा पोलमा लिकेज भएको ११ हजार भोल्टेज करेन्टले मलाई समात्यो र दायाँ हात काट्नुपर्‍याे । 

दाहिने हातले सबै काम गर्नुपर्ने मान्छेलाई बायाँ हातले सबै काम गर्नुपर्दा धेरै नै अप्ठ्यारो भयो । त्यसपछि बायाँ हातले नै ए,बी,सी,डी देखि सबै लेख्ने प्रयास गरें । बिस्तारै मैले एमएससी पास गरें । समाजशास्त्रमा पनि एमए गरें । मेरो पढाई राम्रै थियो । 

म बायोक्यामेष्ट्रिको विद्यार्थी हो । यो मेरो प्यासन पनि हो । विदेशमा भएको भए ल्याबमा काम गर्नको लागि सहयोगीहरु हुन्थें । तर नेपालमा त्यस्तो कुनै सुविधा पनि छैन । जसको कारणले आफ्नो प्यासन पनि छोड्नुपर्‍याे ।

आफू अपाङग भैसकेपछि मलाई अपाङ्गता भएकाहरुलाई र अपाङ्ग भएकै कारणले पढ्न नपाएका र समाजमा बाँच्न अप्ठयारो पारिएकाहरुको लागि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसकै लागि केही गर्नुपर्छ भनेर नै म यो राष्ट्रिय अपाङ्ग कोषमा अहिले सदस्य सचिवको रुपमा कार्यरत छु । 

सरकारी तवरबाट कुनै नीतिहरु ल्याएर अपाङ्गमैत्री समाज निर्माण गर्नको लागि मेरो प्रयास रहनेछ । यो संस्था स्थापना भएको ३८ वर्ष भईसक्दा पनि भृकुटीमण्डपमै सीमित छ । अपाङ्ग कोष भनेपछि त गाउँगाउँमा मान्छेको घरभित्र पुग्नुपर्ने हो नि । हो त्यसैको लागि म प्रयास गरिरहेको छुँ । यसमा मेरो मात्र एक्लो प्रयासले केही हुँदैन, राज्यले पनि बुझिदिनुपर्‍याे । 

म बाटोमा हिँडिरहेको हुन्छु । मान्छेले मलाई हेर्छ । खासमा उसले मलाई हेरेको होइन, मेरो ‘नो ह्याण्ड’ लाई हेरेको हो । जसले गर्दा समाजले पनि अपाङ्गता भएकाहरुलाई झनै कष्ट दिइरहेको हुन्छ । 

जुन स्कुल सञ्चालनको लागि प्रचार गर्ने क्रममा मलाई केरन्ट लागेर हात गुमाउनुपरेको थियो, आज त्यही विद्यालय एपल ईन्टरनेशनल स्कुलको रुपमा चलिरहेको छ । ३० जनाबाट सुरु गरेको स्कुल ४ सय सङ्ख्यामा पुगिसक्यो । यो सबै मेरो आत्मविश्वासकै कारणले सम्भव भएको हो । 

मैले टिसर्टको अगाडि ‘लुक माई नो हेण्ड’ भनेर लेखेको हुन्छ । मान्छे आएर मेरो अगाडि हेर्छ । पछि त्यही मान्छे जब फर्केर पछाडिबाट हेर्छ त्यहाँ उसले ‘लाईफ ईज ब्युटिफुल’ लेखेको देख्छ । यसरी मैले समाजका मान्छेहरुको अपाङ्गता भएका व्यक्तिहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयास गरेको छु ।  

सरकारले भत्ता नदिएर जागिर दिए हुन्थ्यो 
मनोज गौतम, काठमाडौं

सानैदेखि मेरो आँखाको दृष्टि गुमेको हो । मैले स्नातक पशुपति क्याम्पसबाट पास गरें । सामग्री उपलब्ध भए पढ्न त सजिलो छ । तर पढ्ने सामग्री नै उपलब्ध नहुँदा भने समस्या हुन्छ । अहिले त पढेर पनि के गर्ने भन्ने लाग्छ, किनकी जागिर पाउनै अप्ठ्यारो हुने गरेको छ । सरकारले हामीलाई भत्ता नदिएर जागिर दिए हुन्थ्यो । 

म क्रिकेट पनि खेल्छु । गोलबल पनि खेल्छुँ । म गोलबलको राष्ट्रिय खेलाडि पनि हो । म अहिले परस्पर उत्थान अभियान भन्ने गैरसरकारी संस्थामा आबद्ध भएर कोषाध्यक्षको रुपमा काम गरिरहेको छु । 

यता म गोकर्णमा बस्छु । त्यहाँबाट सार्वजनिक यातायातमा चढेर आउनुपर्ने हुन्छ । सिटको लागि पनि कतिपटक भनाभन हुने गर्छ । सबै मान्छे उस्तै हुँदैनन् । कहिलेकाहीँ हामी ओर्लिरहेको बेला बस कुदाईहाल्छ । कतिपटक त लडियो पनि । एक ठाउँमा कहिल्यै रोक्दैन, जसले गर्दा हामीलाई बस भेटाउन पनि गाह्रो हुने गरेको छ ।

हामी आफैं अपाङ्ग भएका होइनाैं समाजले अपाङ्ग बनाएको हो । घरमा ढोकाको चुक्कुल हात नपुग्ने ठाउँमा राखिन्छ, भर्याङहरु सजिलो पारेर राखिएको हुँदैन भनेपछि समाजले हामीलाई अपाङ्ग बनाएको हो नि, होइन र ? 

सरकारी पक्षबाट नै हामीहरु हेपिएका छौँ
रमेश बहादुर बानियाँ, ओखलढुङ्गा 

द्वन्द्वकालमा सशस्त्र भिडन्तमा परेर एउटा आँखा गुमाउनुपर्‍याे । अर्को आँखाले पनि अलिकति मात्र देखिन्छ । म अहिले आर्मी दृष्टिविहीन त्रिकेट टिमको क्याप्टेन छु । आँखा गुमाएपछि बाँच्ने हौसला नै गुमेको थियो । बाँचेर नि के गर्ने भन्ने लाग्थ्यो । तर त्यस्तो अवस्थामा आफूले आफैंलाई सम्हाल्नुपर्ने हुन्छ । मैले पनि आफैंलाई सम्हालें । 

मैले टी–ट्वान्टी वल्र्डकप पनि खेलिसकें । खेलकै सिलसिलामा पाकिस्तान, दुबई पुगेँ । हामीलाई सरकारले नै सपाङ्ग खेलाडी भन्दा धेरै नै विभेद गर्छ । ध्यानै दिंदैन भनौं ।  देशको प्रतिनिधित्व गरेर जाँदा गौरव त लाग्छ, तर सरकारले केही वास्ता नगर्दा भने खल्लो महसुस हुन्छ । 

विदेशमा अपाङ्ग विशेष कार्यक्रम या खेलकुद हुँदा त्यहाँको प्रधानमन्त्री नै सहभागी हुन्छन् । तर हाम्रो देशमा भने राज्यका कुनै पनि प्रतिनिधिले यसमा खासै चासो राखेको देखिंदैन । खेलकुद भनेको सबै व्यक्तिमा आत्मसम्मान बढाउने विधा हो । अपाङ्गमैत्री खेलकुदको लागि सरकारी तवरबाट पनि प्रयास गर्नुपर्यो । यसमा सरकारको चासै छैन । 

सरकारी पक्षबाट नै हामीहरु हेपिएका छौँ । भन्न त अपाङ्गहरु पनि सपाङ्ग जस्तै हुन् भन्छन्, तर सबै नीतिगत कुरामा मात्र सीमित छ । व्यवहारमा एक प्रतिशत पनि लागू भएको छैन जस्तो लाग्छ । 

विद्यालयमा कार्यालय सहयोगीको काम गर्दैछु
भरत खत्री, दोलखा

म दुई महिनाको हुँदा खरीको ढुंगामा लडेर खुट्टामा चोट लाग्यो । राम्रो उपचार नपाउँदा घाउ बिग्रेर काट्नु नै पर्यो । खुट्टा काटिएको छ, तर पनि सरकारले अपाङ्गता परिचयपत्र दिएको छैन । कसैलाई हातको एउटा औंला नहुँदा पनि अपाङ्ग भत्ता दिएका छन् । 

नक्कली खुट्टा लगाएर जसोतसो हिँड्नुपरेको छ । नौओटा मोजा लगाएर नक्कली खुट्टा लगाउनुपर्दा पसिना चुहेर, खुट्टा नै रमरम पोल्न थाल्छ । तर के गर्ने बाध्यता नै यस्तै छ । 

अहिले अपाङ्गता कोषबाट नयाँ नक्कली खुट्टा दिने भनेपछि म काठमाडौं आएको हो । अहिले गाउँकै विद्यालयमा कार्यालय सहयोगीको काम गर्दैछु । महिनाको चार हजार दिन्छ त्यसले के हुन्छ र ? सरकारले खान पुग्ने तलब सहित जागिरको व्यवस्था गरिदिए हुन्थ्यो ।
 

अन्तिम अपडेट: असार ४, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया