११ कम्पनीको ७ अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

 जेठ ३०, २०७५ बुधबार ७:२९:५१ | रासस
unn.prixa.net

विभिन्न ११ कम्पनीको सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । 

ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । उद्योगले एक कित्ता बराबर तीन कित्ता शेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

यस्तै एनसीसी बैंकले दुई बराबर एक कित्ता शेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको दुई करोड ३३ लाख ९५ हजार कित्ता शकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डमा दिएको आवेदनअनुसार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । 

एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको छ । एनआईसी एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद शेयरको बिक्री प्रबन्ध गर्ने छ । 

यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद शेयर बिक्रीको प्रबन्ध गर्नेछ । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ । 

त्यसैगरी २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद शेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ । 

बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । रु ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद शेयरको बिक्री प्रबन्ध गर्नेछ । 

प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । रु ५९ करोड एक लाख बराबरको ५९ लाख कित्ता शेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ । 

त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ । अपि पावरले एक बराबर दुई कित्ता शेयर दिने तयारी गरेको छ । २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । 

एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद शेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी छ । 

अपि पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया