शिव श्रेष्ठका भतिजा र विश्व बस्नेतकी छाेरी चलचित्र ‘जानी नजानी’ मा

 मंसिर १७, २०७५ सोमबार १७:५५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली चलचित्र ‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक भएको छ । 

फर्स्टलुकसँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । अब चलचित्र चैत्र १ गतेबाट नेपालभर प्रदर्शनमा आउने पक्काभएको छ । 

चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । बसन्तको यो चलचित्र डेव्यु निर्देशन हो । यसै चलचित्रबाट मनिष सुन्दर श्रेष्ठ फेरि चलचित्र क्षेत्रमा फर्किएका छन् । 

यसअघि मनिषले नेपाली चलचित्र रानी र तिमी हुन्छौ जहाँजहाँ मा अभिनय गरेका थिए । उनले अभिनय गरेका दुवै चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । त्यसपछि भने केही समय उनी यो क्षेत्रबाट टाढा रहे । 

यो चलचित्रलाई भने दर्शकले रुचाउनेमा मनिष आशावादी देखिएका छन् । मनिष कुनै समयका निकै चर्चित अभिनेता शिव श्रेष्ठका भतिज समेत हुन् ।

चलचित्रले सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा मनिषसँगै निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठलाई प्रस्तुत गरिएको छ । निरिशाले पनि यही चलचित्रबाट डेब्यु गरेकी छन् । उनी पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन् । उनले यसअघि भारतीय पाैराणिक कथामा अाधारित चन्द्र नन्दिनीमा अभिनय गरेकी थिइन् ।

चलचित्र जानी नजानीको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा संगीत अर्जुन पोखरेलले दिएका छन् भने सञ्जय लामाको छायाँकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी तथा अर्जुन जिसीको सम्पादन रहेको छ । 

आधुनिक प्रेमकथामा आधारित चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । चलचित्र रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको हो  । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया