हरितारा चलचित्र पुरस्कार सङग्रौला र थापालाई

 मंसिर १७, २०७५ सोमबार १८:११:१७ | रासस
unn.prixa.net

काठमाडौँ – हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ ।

परिवर्तन नामक संस्थाले साेमबार ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई प्रदान गरेको हो । दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ र ताम्र–पत्र रहेको छ । सो पुरस्कार निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारका रुपमा परिचित छ । विसं २०५२ देखि यो पुरस्कार चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरुलाई प्रदान गरिँदै आएको छ ।

यस्तै रु १० हजार राशिको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०७४’ अभिनेता उत्तम केसी र २०७५ को उक्त पुरस्कार सञ्चारकर्मी विजयरत्न तुलाधरलाई प्रदान गरियो । ‘परिवर्तन सम्मान–२०७५’ बाट अभिनेता रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडालाई सम्मान गरियो ।

ती सबै पुरस्कार कलाकार बसुन्धरा भुसाल र प्रथम नेपाली नायिका भुवन चन्दले प्रदान गर्नुभएको थियो । सो अवसरमा अभिनेत्री भुसालले चलचित्रमा लाग्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताउनुभयो ।

पुरस्कृत अभिनेता सङ्ग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले पेश गरेको बताउनुभयो । अभिनेत्री थापाले चलचित्र क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि चलचित्र मार्फत नारी सशक्तीकरणका लागि निरन्तर सङ्घर्ष गर्दै आएकाले सफलता मिलेको धारणा राख्नुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया