नयाँ कर्मचारीका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’ को छुट्टै व्यवस्था हुने

 मंसिर १८, २०७५ मंगलबार १६:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो । 

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन र देशमा अनावश्यक वित्तीय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पार्नुभयो । अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दाबी समेत गर्नुभयो ।

अर्थमन्त्री अतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिव पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढि  निवृत्तिभरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गर्नु भयो । समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया