प्रकृतिको मृगौला सिमसार

 माघ २०, २०८१ आइतबार ७:४२:६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

तस्बिर : रारा ताल

सामान्य भाषामा भन्दा जमिन नलुक्ने र पानी नसुक्ने रसिलो जमिन भएको क्षेत्रलाई सिमसार भनिन्छ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना लगायत सिमसार क्षेत्रअन्तर्गत पर्छन् । अहिले धानखेतलाई पनि सिमसारको परिभाषामा राखिएको सिमसार विज्ञ टोप खत्री बताउनुहुन्छ ।

यो प्रकृतिको एउटा विशेष उपहार हो । सिमसारमा विभिन्न प्रकारका जलचर, चराचुरुङ्गी र वनस्पतीहरूको बसोबास हुन्छ । सिमसार प्राकृतिक र कृत्रिम दुबै रुपले उत्पत्ति भएको हुन्छ । तर विशेष महत्व प्राकृतिक रुपमा उत्पत्ति भएका सिमसारको हुन्छ ।

मानव सभ्यता विकासको एउटा महत्वपूर्ण अङ्गका रुपमा सिमसार क्षेत्रलाई लिइन्छ । मानिसको बसोबास सिमसार रहेका ठाउँहरूबाट शुरु भएको पाइन्छ ।

सिमसार : प्रकृतिको मृगौला 
सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मृगौला पनि भन्ने गरिन्छ ।

सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्न, पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न, तापमानलाई सन्तुलन गर्न, पहिरो रोकथाम गर्न अनि माटोको निर्माण र पोषण तत्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

सिमसार जैविक विविधता र कार्बन सञ्चित गर्ने थलो पनि हो ।

सिमसार दिवस 

आज विश्व सिमसार दिवस । हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरु भन्ने नाराका मनाइँदैछ ।

सन् १९७१ फेब्रुअरी २ मा भएको सिमसार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ‘रामसार कन्भेन्सन’ पछि विश्व समुदाय सिमसारको संरक्षणमा जुटेको हो ।

सन् १९७५ मा रामसार महासन्धि लागू भएकोमा सन् १९९७ देखि हरेक वर्ष फेब्रुअरी २ मा अन्तर्राष्ट्रिय सिमसार दिवस मनाइन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंघले सन् २०२१ मा संयुक्त राष्ट्रसंघको आधिकारिक दिवसको मान्यता दिएको हो ।

रामसार महासन्धिका पक्ष राष्ट्रको संख्या एक सय ७२ पुगेको छ । विश्वका २५ सय भन्दा धेरै क्षेत्रहरु रामसार सूचीमा सूचीकृत भइसकेका छन् । जसको क्षेत्रफल २५ करोड ६१ लाख हेक्टर रहेको छ ।

राष्ट्रसंघीय वातावरणीय कार्यक्रममा अनुसार विश्वको झन्डै ६ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । जसमध्ये २ प्रतिशत ताल, ३० प्रतिशत दलदल, २६ प्रतिशत धाप, २० प्रतिशत धापिलो जंगल, तथा १५ प्रतिशत नदी प्रभावित बगर क्षेत्र रहेको छ ।

नेपालमा सिमसार संरक्षण 

नेपालले सन् १९७१ मै रामसार महासन्धिमा हस्ताक्षर गरेकोमा सन् १९८७ डिसेम्बर १७ मा पहिलोपटक नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा सूचीकृत गरी सन् १९८८ देखि विधिवत रुपमा उक्त महासन्धिको पक्षराष्ट्र बनेको हो ।

अहिलेसम्म नेपालका १० वटा सिमसार क्षेत्रहरु गरी झण्डै ६० हजार ५ सय हेक्टर क्षेत्रफल रामसार सूचीमा सूचीकृत भैसकेका छन् । रामसार सूचीमा सूचीकृत हुने नेपालमा सिमसारहरुमा कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदिशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्शुण्डो ताल, गोशाइँकुण्ड ताल, गोक्यो ताल समुह, माइपोखरी र पोखराका तालहरू रहेका छन् ।

नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार २७७ हेक्टर सिमसारले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रहरू छन् ।

विश्वमा पाइने ४२ खालका सिमसारका प्रकारमध्ये नेपालमा नदी, ताल, पोखरी, धाप र जलाशय गरी छ प्रकारका सिमसार क्षेत्र रहेका छन् ।

नेपाल सन् १९८७ मा रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालको संविधानले सिमसारको संरक्षण, संवद्र्धन र व्यवस्थापन सम्बन्धमा तीनै तहका सरकारलाई अधिकार र जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । अरु विभिन्न ऐन तथा प्रतिबद्धताहरु पनि छन् । तर छाता ऐन भने अहिलेसम्म बन्न सकेको छैन । सिमसारको प्रभावकारी संरक्षणका लागि छाता ऐन बन्नु आवश्यक रहेको संरक्षण तथा सिमसार विज्ञ टोप खत्री बताउनुहुन्छ ।

यस्तै सिमसार क्षेत्रको संरक्षणको लागि यसको महत्त्वबारेमा आम मानिसलाई बुझाउनु पनि उत्तिकै आवश्यक रहेको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया