बिजुली बसले डिजेल/पेट्रोल बस विस्थापित गर्ने तीन नम्बर प्रदेशको तयारी

 मंसिर १९, २०७५ बुधबार १४:३७:५१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेश सरकार र काठमाडौं महानगरपालिकाले ४० करोड रुपैयाँको विधुतीय बस खरिद गरेर साझा यातायातसँगको सहकार्यमा सञ्चालनमा ल्याउने भएको छ ।

बुधबार दिउँसो तीन नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डारमणि पौडेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसहितको हेटौंडामा बसेको सरोकारवालाहरुको बैठकले विधुतीय बस खरिद गरेर सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।

प्रदेश सरकारले यसै आर्थिक वर्षमा ३० करोड रुपैयाँसम्मको विधुतीय बस खरिद गर्ने र काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँको विधुतीय बस खरिद गरेर सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा बिक्रम सम्बत २०८५ सम्ममा इन्धनबाट सञ्चालन हुने सवारीका साधन विस्थापित गर्ने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नमुनाको रुपमा यस वर्ष ३० करोड रुपैयाँसम्मको विधुतीय बस खरिद गरेर साझा यातायातसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

अरु बसको तुलनामा विधुतीय बस अत्यन्त महंगो भएकाले यसवर्ष १५ देखि २५ वटासम्म बस खरिद गर्ने योजना प्रदेश सरकारको रहेको छ । पहिले खरिद गर्नका लागि महंगो परे पनि देशैभर संघीय सरकारले समेत गर्न नसकेको काम प्रदेश सरकारले गरेर देखाउनका लागि यो काम गर्न लागिएको उहाँले बताउनुभयो ।

लामो रुटमा चल्ने बसहरुमा चार्जिङ स्टेशन राखेर भए पनि विधुतीय बस नै सञ्चालन गर्ने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा प्रदेश सरकारको उपस्थिति जनाउनका लागि त्यहाँ केही बस सञ्चालन गर्छौ । यता प्रदेश राजधानी हेटौंडासँग जोडिने गरी केही बस, दुई, पाँच र चार नम्बर प्रदशलाई समेत छुने गरी केही बस सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’

जुनसुकै अवस्थामा पनि बस खरिद गरेर सञ्चालन गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्युतीय बस सञ्चालन गर्नका लागि यो वर्षको बजेटमा १० करोड रुपैयाँ छुट्याएकाले साझा यातायातसँगको सहकार्यमा बस खरिद गरेर चलाउन लागिएको बताउनुभयो ।

उपत्यकामा साना सवारीका साधनलाई विस्थापित गर्ने योजना अनुसार विद्युतीय बस सञ्चालनको काम आफूहरुले पनि गर्न लागिएको उहाँको भनाई छ । नाफामुलक भन्दा पनि महानगरका बासिन्दालाई सेवा दिने तरिकाले आफूहरु लागिपरेको मेयर शाक्यले बताउनुभयो ।

बैठकमा सहभागी तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गरेर साझासँगको सहकार्यमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले काठमाडौंका लाखौं लाख यात्रुको पीडालाई मलम लगाउनका लागि पनि सरकारीस्तरको बस आवश्यक रहेको बताउनुभयो । उहाँले यसबाट नाफामुलक भन्दा पनि सेवा दिने तरिकाले काम गर्न सहकार्य गर्न लागिएको बताउनुभयो ।

विद्युतीय बस खरिद गरेर छिटो सञ्चालन गर्नका लागि आफूहरु आतुर रहेको उहाँको भनाई छ । यस प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले काठमाडौं र हेटौंडा जोड्ने गरी बस सञ्चालन गरिने बताउनुभयो ।

प्रदेश राजधानीसँगै यस प्रदेशका अरु १३ वटा जिल्लालाई जोडेर भए पनि बस सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । बैठकमा तीन नम्बर प्रदेशका सांसद दीपक निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देबकोटालगायतकाको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया