सरकारको गलत आर्थिक नीतिले वैदेशिक लगानी घट्यो : कांग्रेस

 मंसिर १९, २०७५ बुधबार १८:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारको गलत आर्थिक नीतिकै कारण वैदेशिक लगानीमा कमी आएको प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले दाबी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धी प्रतिवेदनमा सरकारको गलत नीतिका कारण यसवर्ष वैदेशिक लगानी ७५ प्रतिशतले कमी हुन आएको उल्लेख छ । स्वदेशी पूँजी पलायन हुने क्रम बढ्दै जानु र वैदेशिक लगानी घट्नुमा सरकारको गलत अर्थ नीति मुख्य कारण रहेको प्रतिवेदनले दाबी गरेको छ ।

सरकारले लिएको अर्थ नीति मार्फत देशलाई समृद्ध बनाउन नसकिने दाबी पनि सो प्रतिवेदनले गरेको छ । पार्टीको अर्थनीतिसम्बन्धी प्रतिवेदन केन्द्रीय कार्य समितिमा पेश गर्दै कांग्रेस नेता डा. प्रकाशशरण महतले सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थ नीति लिएकाले यसबाट देशको समृद्धि सम्भव नरहेको दाबी गर्नुभयो ।

नेता महत नेतृत्वको आर्थिक समितिले केन्द्रीय कार्य समितिमा पेश गरेको अर्थनीति सम्बन्धी प्रतिवेदनमा देशलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । वृद्धि गरिएको उत्पादनमार्फत् आम नागरिकलाई सम्पन्न बनाउने लक्ष्य पनि प्रस्तुत आर्थिक नीतिले लिएको नेता महतले जानकारी दिनुभयो । आर्थिक नीतिमा प्रजातान्त्रिक समाजवादी बाटोबाटै देशलाई समृद्ध बनाउने सकिने निष्कर्ष पनि निकालिएको छ ।

आसन्न मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले प्रतिवेदन तयार पारेको हो । पार्टी केन्द्रीय कार्य समिति बैठकले पारित गरेपछि त्यो प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।

केन्द्रीय कार्य समिति बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गरिने छ । यसअघि कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया