ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सकेमा वन डढेलोको जोखिम कम हुने

 फागुन १५, २०८१ बिहीबार ८:५३:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – भौगोलिक हिसाबले देशका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरे पनि सङ्ख्यात्मक हिसाबले तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार हरेक वर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन् । ६५ प्रतिशत वन डढेलो अप्रिल महिनामा लाग्ने गरेको छ ।

वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत कारण डढेलोको घटना हुने गरेका छन् । ज्वलनशील पदार्थको व्यवस्थापन नै सबैभन्दा चुनौतिका रूपमा रहेको जानकारहरू बताउँछन् ।

मानवीय कारणबाट ९६ प्रतिशत डढेलो लाग्ने गरेको र झन्डै ७० प्रतिशत डढेलो लापरबाही वा अन्जानले हुने भएकाले यसलाई रोक्न सकिने विज्ञको सुझाव छ ।

वन डढेलोविज्ञ सुन्दर शर्मा डढेलो नियन्त्रणका लागि कार्यदल बनाएर कार्ययोजना कार्यान्वयन गर्न सकेमात्र प्रभावकारी हुने बताउनुहुन्छ ।

छरिएर रहेका योजना, बजेट र जनशक्तिलाई एकत्रित गरी आवश्यक उपकरणका साथ जनशक्तिको क्षमता अभिवृद्धि गर्न सके परिणाममुखी हुने उहाँको भनाइ छ ।

व्यवस्थित रूपमा नियन्त्रित डढेलो लगाएर यसको जोखिम कम गर्नुपर्ने, नियन्त्रणका लागि अग्निरेखा बनाउनुपर्ने, समुदायस्तरमा पूर्वतयारी र रोकथामका उपायबारे जनचेतना जगाउनुपर्ने शर्माको भनाइ छ ।

मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख सहसचिव दीपक ज्ञवालीका अनुसार यो वर्ष पनि लामो हिउँदे खडेरीका कारण वन डढेलको जोखिम बढेको छ ।

गएको महिना काभ्रे र ललितपुर तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा देखिएका वन डढेलोका घटनाले थप सजकता अपनाउनुपर्ने देखिएको उहाँको भनाइ छ ।

नेपालमा भौगोलिक धरातल र सुरक्षा, उपयुक्त उपकरणको अभाव, डढेलो नियन्त्रणमा महँगो र अधिक स्रोत आवश्यक पर्ने, सीमित परम्परागत तालिम प्राप्त जनशक्ति, उत्प्रेरणाको कमीलगायत चुनौती रहेको सहसचिव ज्ञवाली बताउनुहुन्छ ।

वनमा सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ निजी क्षेत्रलाई जिम्मेवारी दिएर भए पनि औद्योगिक कच्चापदार्थका रूपमा प्रयोग गर्न सके केही मात्रामा भए पनि डढेलोको जोखिम कम हुने उहाँले बताउनुभयो ।

समयमै वन व्यवस्थापन गरी काठ–दाउरा सङ्कलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ ।

नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण स्थानीय समूहस्तरबाट धुँवा देखिना साथ डिभिजन वन कार्यालयले सूचना प्राप्त गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुहुन्छ ।

मन्त्रालयका सचिव डा.दीपककुमार खराल जलवायुको असरले डढेलो बढाएको र डढेलोका कारण जलवायुका असर बढेको बताउनुहुन्छ ।

डढेलोले जैविक विविधताको ह्रास हुने गरेको र वायु प्रदूषण पनि हुने गरेकाले यसको नियन्त्रणमा सबै संवेदनशील हुन उहाँको आग्रह छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया