‘भएको सम्पत्ति सबै बेचिसकेँ, बाँच्ने रहर छ – कसैले सहयोग गर्दिनुस् न है’

 मंसिर २०, २०७५ बिहिबार १४:०:१२ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – निन्याउरो अनुहार, समस्याको भूमरीसँग पैँठेजोेरी खेल्दाखेल्दै थाकेको ज्यान । घरबार श्रीसम्पत्ति उपचारमै सकियो । तर फेल भएको २ वटै मृगौला फेरेर खुशीले बाँच्ने दिन आएन । केवल पीर, पीडा अनि ऋणको भारीले उठ्नै नसक्नेगरी थिचियो मात्रै । २ मुठ्ठी सास रहेसम्म आश हुन्छ भनेझैँ दुवै मृगौला फेल भएका गंगाजमुना गाउँपालिका –१, धादिङका मेन्जो तामाङ भन्नुहुन्छ– बाँच्ने रहर छ सहयोग गर्दिनुस् न है ।

खेतीपाती गरेर जीविका चलाउँदै आएका तामाङ एक्कासि बिरामी भएर श्रीमतीले पोखराको मणिपाल अस्पतालमा उपचार गर्न लगेपछि मेन्जो तामाङ छाँगाबाट खसेजस्तै भएको बताउनुहुन्छ । कारण थियो २ वटै मृगौला फेल भएको रिपोर्ट । उहाँ भन्नुहुन्छ, ‘भारी मन लिएर घर फर्के पनि २ वटै मृगौला फेल भएको विश्वास गर्नै सकिनँ । भरतपुर हुँदै काठमाडौंका अस्पतालहरुसम्म जचाँउन पुगेँ । तर मैले विश्वास नगर्दैमा फेल भएको मृगौलाले काम गर्ने कहाँ हुन्थ्यो र ?’ तामाङ थप्नुहुन्छ, ‘मृगौलामा समस्या भएको पहिले कहिले थाहा भएन । बेलैमा उपचार गर्न पाइएको भए आजको यो अवस्था आउने थिएन होला । एउटाले मात्रै काम गर्ने भए पनि दुई छाकको जोहो गर्न त सक्थेँ नि । अहिले न घरको न घाटको भएँ’, भक्किानिदै उहाँले आफ्नो पीडा पोख्नुभयो ।

२०७३ साल जेठमा २ वटै मृगौला फेल भएको थाहा पाएपछि उपचारका लागि झण्डै १५/२० लाख रुपैयाँ खर्च भैसकेको तामाङको भनाई छ । उपचारको अन्तिम विकल्प मृगौला फेर्नु नै हो । उहाँले भन्नुभयो, ‘भएको सम्पत्ति उपचारमै सकेँ । घरघडेरी, खेतबारी सबै बेचिसकेँ । अहिले आफै भाडामा बस्दैछु । सातामा २ दिन डायलाइसिस गर्न काठमाडौं जान्छु । महिनाको १५ हजारभन्दा बढी खर्च हुन्छ । ऋणको भारीले थिचिन थालेपछि बीचमा केही महिना, सातामा एक दिन मात्रै डायलाइसिस गर्दा चापेर कसो मरिनँ’, उहाँले आत्तिँदै बताउनुभयो ।

सरकारले यस्ता बिरामीलाई विभिन्न सेवा तथा सुविधा दिए पनि केही नपाएको तामाङको गुनासो छ । पैसा तिरेका बिल र कागजपत्र एक झोला छ । उहाँले भन्नुभयो, ‘आफ्नो बलबुता र सम्पत्तिले रोग निको बनाउन सकिन । घर घडेरी खेतबारी बेचेर उपचारका नाममा पाएका कागजपत्र देख्दा मन साह्रै रुन्छ । अब त सम्पत्ति भने पनि, ऋण भने पनि यही कागजपत्र हो’, आँसु पुछ्दै उहाँले बताउनुभयो ।

अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । ‘उपचार गर्न लिएको ऋणले उस्तै चुर्लुम्म भएको छु’, उहाँले बताउनुभयो, ‘लिएको ऋण साहुले माग्न थालिसके । कसरी तिर्नु, उपचार केले गर्नु । मर्ने काल आएन, बाँच्ने ताल पनि आएन । दुई मुठ्ठी सास रहेसम्म आश हुँदो रहेछ’, अहिलेसम्म कतैबाट सहयोग नपाएका तामाङ भक्कानिदै भन्नुहुन्छ, ‘बाँच्ने रहर छ, कृपया सहयोग गर्दिनुस् न है ।’ 

– तामाङलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नम्बर ९७४१४४०६०४ मा सम्पर्क गर्न सक्नुहुन्छ । 
    
      
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया