श्रृंखलालाई हौसला दिन परिवारसहित ३१ जनाको टोली चीन प्रस्थान

 मंसिर २०, २०७५ बिहिबार १७:४३:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मिस वर्ल्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली आज चीनतर्फ गएको छ ।

श्रृंखला खतिवडालाइ नेपालको एक टोलीले चीनमै भेट्ने र मिस वर्ल्डमा हौसला दिने अभिप्रायले ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीनतर्फ गएको हो । टोलीमा श्रृंखलाका बावु विरोध खतिवडाको नेतृत्वमा आमा मुनु सिग्देलसहित परिवार, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् । 
      
‘हामी आज चीन जाँदैछौँ परिवारसहित,’ विरोधले काठमाडौंबाट टेलिफोनमा भन्नुभयो, ‘श्रृंखलाका मामा–माइजु, दाजुभाई, साथी लगायत ३१ जना जाँदैछौँ ।’ 

उहाँका अनुसारश्रृंखलालाई मिस वर्ल्ड आयोजित चीनको पर्यटकीय सहर सान्यामै भेट्ने तयारी छ । मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा मंसीर २२ गते सहभागी भएर नेपाल फर्किने योजना सुनाउँदै खतिवडाले भन्नुभयोे, ‘छेन्दुमा ८ घण्टा ट्रान्जिट रहेकाले मंसीर २१ गते मात्र सान्या पुग्छौँ होला ।’

छोरी श्रृंखलालाई चीनमै भेटेर हौसला दिन आमा मुनु सिग्देल पनि चीन गएको उहाँले बताउनुभयो । उहाँले उत्साही हुँदै मिस वल्र्ड हेर्न टिकट बुकिङ्ग भइसकेको बताउनुभयो । 

मिस वर्ल्डको अन्तिम तयारीका लागि श्रृंखला रिहर्सलमा व्यस्त रहेको भन्दै उहाँले मंसिर १८ गतेदेखि क्लोज क्याम्पमा रहेको बताउनुभयो । फेसबुकमा मिस वर्ल्ड नेपाल फेसबुक पेजका पोष्ट र श्रृंखलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन उहाँ व्यस्त हुनुहुन्थ्यो । ‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तरवार्ता दिईयो होला,’ उनले भनिन्, ‘यसपटकको मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं ।’

श्रृंखलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटी विद् अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन् । मल्टिमिडिया अवार्डसहित दुई अवार्ड जित्ने पहिलो र ब्यूटी विद अ पर्पस जित्ने दोश्रो मिस नेपाल हुन उनी सफल भएकी छिन् । 

श्रृंखलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देश–विदेशमा रहेका नेपालीमा उल्लास छाएको छ ।

‘नेपालीले जसरी हेरेका छन्, मैले त्यसरी नै हेरेको छु,’ खुशी साट्दै श्रृंखलाका बाबु खतिवडाले भने, ‘श्रृंखलाले जित्न चाहेकै मिस वर्ल्डपछिको दोश्रो ठूलो मानिने ब्युटी विद अ पर्पस अवार्ड जितिन्, मल्टिमिडिया त पछि महसुस गरेर जितेकी हुन् ।’

‘सबै नेपालीले चाहेकै नतिजा (मिस वल्र्डको विजेता) हामीले पनि चाहेको छौं,’ उनले घुमाउरो शैलीमा बताए । मिस वर्ल्ड मा दुई अवार्ड जितेपछि श्रृंखलामा धेरै उत्साह र आत्मविश्वास जागेकोे उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया